
वीरगञ्ज- नेकपा माओवादी केन्द्रले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जनजागरण अभियानले आजदेखि फेरि निरन्तरता पाएको छ ।
बीचमा केही दिनको लागि रोकिएको अभियान बिहीबारदेखि फेरि सुरु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मातृका यादवलगायत शीर्ष नेताहरू बुधबार नै बारा आइपुगेका थिए ।
बिहीबार बिहान उनीहरूले सिमरौनगढ दरबार अवलोकन तथा जनतासंग अन्तर्क्रिया गरेका छन् । सोही क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसहितका नेताहरूले ऐतिहासिक सिम्रौनगढ रानीवास मन्दिरको अवलोकन गरेका छन् ।
बिहीबार नै कचोर्वा टोलमा जागरण सभाको पनि आयोजना गरिएको तथा त्यसलाई प्रचण्डले सम्बोधन गर्ने पनि कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र बाराले जानकारी दिएको छ ।
देशमा राजाबादीहरूको कार्यक्रमले तिब्रता पाएपछि गत फागुन २४ गते माओवादीले बीचमै अभियान रोकेको थियो ।