
मुगु – जिल्लाको खतेड गाउँपालिकाका स्थानीयवासीले गाउँमै राष्ट्रिय परिचय पत्र वितरण शिविर तथा विषयगत सेवा कार्यालय स्थापना गर्न माग गरेका छन्।
शनिबार खतेड गाउँपालिकाको लोकप्रिय माध्यमिक विद्यालय गम्थामा जिल्ला प्रहरी र प्रशासन कार्यालय मुगुले आयोजना गरेको कार्यक्रममा सहभागी जनताले आफ्नो माग प्रस्तुत गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले कतिपय सेवा विस्तार कार्यक्रमहरू समुदायमै सञ्चालन भइरहेको र बाँकी सेवा विस्तार सडक सञ्जाल गमगढीसँग जोडिएपछि सहज रूपमा हुने जानकारी गराए। साथै, राष्ट्रिय परिचय पत्र वितरण शिविर निकट भविष्यमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुर कार्कीले खतेडलाई सदरमुकाम गमगढीसँग जोड्न पहल भइरहेको बताए। उनले भने, ‘खतेडको समस्या समाधानका लागि ठोस कार्ययोजना आवश्यक छ, र विकासको प्राथमिकतामा राख्नुपर्छ।’
खतेड गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले गाउँपालिकालाई सदरमुकामसँग जोड्ने बाटो खुलाउन तथा मालपोत, नापी र इलाका प्रशासन कार्यालय स्थापना गर्न सम्बन्धित मन्त्रालयमा पहल भइरहेको बताइन्।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक सरोज गिरीले खतेड गाउँपालिकामा प्रहरीले गरेका प्रगतिहरू प्रस्तुत गरे। सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा उपाध्यक्ष सरिता रोकाया, शसस्त्र प्रहरी नायब उपरीक्षक नवराज विक्रम कुँवर, राष्ट्रिय अनुसन्धानका प्रमुख होमराज रेग्मी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टंकप्रसाद नौपाने, भेटेरिनरी तथा पशु अस्पतालका प्रमुख भीमचन्द्र बुढा, समन्वय अधिकारी धनराज कार्की, पत्रकार महासंघका संस्थापक अध्यक्ष बिनोद कुमार मल्ल, निवर्तमान अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, शिक्षक महासंघका सचिव मोहन कुमार मल्ल, खतेड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर बुढा, रातापानी क्याम्पस प्रमुख बसन्त डाँगरलगायत स्थानीय राजनीतिक दलका प्रमुख, बुद्धिजीवी, शिक्षक र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
स्थानीय जनताले सेवा प्रवाहलाई प्रभावकारी बनाउन राष्ट्रिय परिचय पत्र वितरणका लागि गाउँमै शिविर स्थापना गर्नुपर्ने र अन्य सरकारी सेवा कार्यालयहरू स्थापना गर्नुपर्ने माग गरेका छन्। खतेडबाट सदरमुकाम गमगढीमा सेवा लिन जाँदा समय तथा खर्च बढी लाग्ने भएकाले आफूहरू निकै पीडित रहेको सहभागीहरूले बताएका थिए।
कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक मन्जनबहादुर कार्कीको प्रमुख आतिथ्यतामा तथा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो।