
सिमकोट – हिमाली जिल्ला हुम्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप ९४ प्रतिशत किशोरीले लगाएका छन्। स्वास्थ्य सेवा कार्यालयले निर्धारित मितिमा खोप केन्द्रमा भ्याक्सिन, स्वास्थ्यकर्मी, स्वयंसेवक परिचालन गरेर फागुन १८ गतेबाट खोप अभियान सुरु गरेको थियो।
सात वटा गाउँपालिकाका ४३ वटा वडाका ९४ प्रतिशत किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क ब्यक्ति प्रेम पाण्डेले जानकारी दिए। जिल्लाको लक्षित सङ्ख्या तीन हजार ४४३ जना रहेकोमा त्यसमा हालसम्म तीन हजार २८१ जना किशोरीले खोप लगाएका हुन्।
अब नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीमा भने खोप लगाउन सुरु गरिएको छैन भने अझै पनि छिटपुटलाई बाँकी गाउँपालिकामा लगाउने कार्य जारी छ। लिमीका किशोरीलाई भने वैशाखमा खोप लगाइनेछ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ खोप वटा केन्द्रबाट ३१९ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म २२७ जनाले लगाएर ७१ प्रतिशत पुगेको हो।
त्यसैगरी सिमकोट गाउँपालिकाका २० खोप केन्द्रबाट ७५६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा त्यो संङ्ख्या बढेर ७ सय ८४ पुगेको छ भने खार्पुनाथमा १५ खोप केन्द्रबाट ३ सय ६५ लक्ष्य रहेकोमा ३४५ जना किशोरीले खोप लगाएर ९५ प्रतिशत पुगेको हो।
सर्केगाडमा १८ खोप केन्द्रबाट ६८६ को लक्ष्य भएकोमा ६२५ जना किशोरीले खोप लगाएर ९१ प्रतिशत पुगेको छ भने चङ्खेलीमा सात वटा खोप केन्द्रबाट ३३१ जना लक्षित किशोरीमध्ये ३२९ जनाले खोप लगाएर ९९ प्रतिशत पुगेको छ। त्यस्तै, अदानचुलीका १० खोप केन्द्रबाट ६०७ जना किशोरीले खोप लगाउने लक्ष्य रहेकोमा ५९३ जनाले खोप लगाउँदा ९८ प्रतिशत पुगेको छ। ताँजाकोट गाउँपालिकाका १२ खोप केन्द्रबाट ३७८ जना किरोशीलाई खोप लगाउने लक्ष्य रहेको ३७८ जनाले खोप लगाएर सतप्रतिशत पुगेको छ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने दश देखि चौध वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाइएको हो। यो अभियानका लागि जिल्लाभरिका ९९ वटा खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन भएका थिए।
देशभर माघ २२ गतेबाट खोप लगाउन सुरु गरिए पनि जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्ला भएकाले विद्यालयसमेत बन्द रहेका कारण फागुन १८ गतेबाट खोप अभियान सञ्चालन भएको थियो। किशोरीलाई खोप लगाउन तीन हजार ७ सय ८० भाइल खोप जिल्लामा आइपुगेको थियो।
हालसम्म खोप लगाउने संख्या हेर्दा त्यो उत्साहजनक रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए।