
काठमाडौं- ३३ केजी सुन बेपत्ता र सनम हत्या प्रकरणपछि सरकारद्धारा छानबिन गर्न बनेको समितिले पछिल्ला पाँच वर्षमा मात्र ३८ सय केजी सुन तस्करी भएर नेपाल भित्रिएको निश्कर्ष निकाल्यो।
ठूलै चर्चा कमाएको यस समितिले गरेको कथित वृहत छानबिनमा पुर्व डीआईजी गोविन्द निरौलासहित आधा दर्जन उच्च प्रहरी अधिकारी पक्राउ परे। समितिको निष्कर्ष थियो- त्रिभुवन विमानस्थलको बाटो भएर संगठितरुपमा टनका टन सुन नेपाल भित्रने गरेको छ।
त्यसअघि महानगरीय अपराध महाशाखाको टोलीले सोह्रखुट्टेबाट बरामद गरेको ८८ केजी सुन केरुङ नाका भएर नेपाल भित्रिएको अनुसन्धानको निश्कर्ष थियो। सरकारले नै बनाएका छानबिन समितिका निष्कर्शपछि सुन तस्करी नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर सनम शाक्य हत्या प्रकरणपछि मात्र तस्करी भएर भित्रिएका दर्जनौं केजी सुन प्रहरीले बरामद गरेको छ। पछिल्लो समय २/३ केजी अवैध सुन बरामद हुनु सामान्यजस्तै बनेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार साँझ राजधानीको टोखाबाट ३ केजी सुनसहित दुई जनालाई पक्राउ गर्यो। उनीहरुले पेन्टमा लगाउने बेल्टमा सुनका टुक्रा मिलाएर ल्याएका थिए, केरुङ नाकाबाट। प्रहरीका अनुसार पक्राउ परेका रसुवाका २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङले पछिल्लो एक महिनामा ६ केजी सुन नेपाल भित्र्याएको बताएका छन्। दुवै जना केरुङ आसापासका बासिन्दा हुन्।
‘हामीले काठमाडौंमा भोटे नाम गरेका व्यक्तीलाई लगेर सुन दिनु भनिएको थियो। यसअघि पनि उनैलाई सुन ल्याएर बुझाएका थियौं। एक केजी सुन ल्याएबापत हामीलाई ५० हजार रुपैयाँ दिने गरिएको थियो’, पक्राउ परेकाको प्रारम्भिक बयान उल्लेख गर्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले भने। ३३ केजी सुन बेपत्ता र सनम हत्या प्रकरणपछि गठिन छानबिन समितीमा लामा पनि सदस्य थिए। ‘चोरका उपाय अनेक हुने रहेछन्’, सुन तस्करी नियन्त्रण हुन नसकेकोबारे लामाको जवाफ थियो।
खै मालिक ? प्रहरी भन्छ- राजस्व अनुसन्धानको कमजोरी
प्रहरीले अधिकांश सुन तस्करीका घटनामा प्रहरीले भरियालाई मात्र पक्राउ गर्ने गरेको छ। पछिल्लो घटनामा प्रहरीको दावी अनुसार पक्राउ परेका दुवै जना भरिया मात्र हुन्। उनिहरुलाई कसले दिएर पठाएको थियो र कसलाई बुझाउँदै थिए भन्नेबारे प्रहरी बेखबर छ। ‘ पहिलो कुरा यी भरियाले न मालिक चिन्छन् न बुझाउनु पर्ने मान्छे। यसका लागि समय लिएर अनुसन्धान गर्नुपर्छ। तर हामीले पक्राउ गरेको भोलिपल्टै राजस्व अनुसन्धान विभागलाई बुझाउनु पर्ने भएकाले मालिकहरु पक्राउ पर्न सकिरहेका छैनन्। राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रभावकारी देखिएको छैन’ एसएसपी लामाले भने। यसअघि काठमाडौं प्रहरीले केही महिना अघि एक साताको अन्तरमा करिब १० केजी सुन बरामद गरेको थियो।