राजा र दल मिल्नुको विकल्प छैन

राजा र दल मिल्नुको विकल्प छैन
+
-

म हाल घरमै छु। बिरामीका कारण बाहिर जाने, कुरा गर्ने अवस्थामा छैन। घरमै भए पनि संसारका परिवर्तन नियालिरहेको छु। पत्रपत्रिका तथा टेलिभिजन माध्यमबाट नेपाल लगायत विश्वमा देखिएका नयाँ घटना, परिघटना अवलोकन गरिरहेको छु। यिनै परिवर्तन,घटनाबाट चिन्तनमनन गर्दै आफ्नो विचार निर्माण पनि गरिरहेको छु । यसै सन्दर्भमा यहाँ मेरा केही विचार राख्न गइरहेको छु।

पहिला यहाँ म केहीअन्तर्राष्ट्रिय प्रसंग राख्न चाहन्छु। कुरा गरौँ- रुस युक्रेन युद्धको। अमेरिकी सहयोगपछि उत्कर्षमा पुगेको रुस युक्रेन युद्ध अमेरिकी प्रयासबाटै टुंगिने जस्तो देखिन्छ । यदि युद्ध टुंगिए त्यसको सम्पूर्ण जस अमेरिकालाई नै जान्छ । यसले के देखिन्छ भने अमेरिकी नेतृत्वले चाह्यो भने युद्ध सुरु गर्न वाअन्त्य गर्न सक्छ । विश्वमा युद्धको विजारोपण गर्नदेखि अन्त्य गर्नसम्म अमेरिकी नेतृत्व नै हाबी भएको देखिन्छ । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुटिन र जेलेंस्कीलाई युद्ध रोक्न दबाब दिइरहेका छन्। उनले पुटिनलाई युद्ध रोक्न नसके कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् भने जेलेंस्कीलाई पनि वार्तामा आउन दबाब दिइरहेका छन्। यसले गर्दा अमेरिका अहिले कूटनीतिक दबाब र आर्थिक प्रतिबन्धको अस्त्र प्रयोग गरेर युद्ध रोक्न उद्दत देखिन्छ। यो युद्ध रोकिंदा रुस र अमेरिकाबीच प्रत्यक्ष युद्ध हुन्छ कि भन्ने आशंका पनि मेटिएर जान्छ । उनीहरुबीचको सम्बन्ध सुधार हुँदा त्यसको फाइदा समग्र विश्वलाई नै जान्छ। मानव सभ्यताको अस्तिवका लागि पनि उनीहरुबीच सम्बन्ध सुधार हुनैपर्ने देखिन्छ ।

युक्रेन र रुसको सम्बन्धमा चीन पनि समावेश हुन् खोजेको देखिन्छ । चीनले बारम्बार युद्धलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएको छ । उसले युद्धलाई रोक्न गरिएका सबै प्रयास शान्तिको दिशामा अग्रसर भएको भनेको छ । तर चीनको भूमिका रणनीतिक सन्तुलन कायमै राख्ने जस्तो देखिन्छ । ऊ शान्तिको वकालत गरेर आफ्नो अन्तर्राष्ट्रिय छवि बलियो बनाउन खोजिरहेको छ । अहिलेको उसको सक्रियता अप्रत्यक्ष समर्थन र अवसरको उपयोगमा सीमित देखिन्छ । अर्काेतिर भारतको भूमिका लगभग चीनको जस्तै नै छ । ऊ पनि सन्तुलनकारी भूमिकामै देखिएको छ । रुस र युक्रेन दुवैसँग राम्रो सम्बन्ध रहेको ऊ शान्तिको पक्षमा उभिएको छ र दुवै देशबाट आर्थिक अवसर उपभोग गरिरहेको छ । यसले के देखिन्छ भने ऊ युद्ध रोक्ने प्रमुख पात्रभन्दा पनि एउटा प्रभावशाली अवलोकनकर्ता जस्तो मात्र देखिन्छ।

त्यस्तै इजरायल र प्यालेस्टाइन युद्धले सर्वनाश हुँदैछ। यो सर्वनाश मानवीय दृष्टिकोणले घोर निन्दनीय छ । यो युद्ध रोक्न सटिक र दिर्घकालीन प्रयासको आवश्यकता देखिन्छ । यो युद्ध गहिरो रुपमा जकडिएको छ । ऐतिहासिक,धार्मिक,राजनीतिक र क्षेत्रीय विवादको चपेटामा परेको छ । इजरायल र प्यालेस्टाइन दुवैको लचकता र अन्तर्राष्ट्रिय समुदाय एकजुट हुने हो भने युद्ध रोकिन सक्छ । तर, सबैको ठुलो त्याग र सहमतिको खाँचो देखिन्छ ।

अब यहाँ म नेपाल र भारत सम्बन्धबारे केही चर्चा गर्न गइरहेको छु । भारतसँग नेपालको सम्बन्ध राम्रो हुनुपर्ने देखिन्छ । हाम्रा हरेक कुरा भारतसँगै ठोकिन्छ । चाहे त्यो ऐतिहासिक र सांस्कृतिक होस् वा आर्थिक पक्ष। सीमा विवाद, व्यापार लगायतका अन्य मुद्दाका कारणले सम्बन्धमा सधैं खटपट भइरहेको छ । त्यसैले कुनै न कुनै रुपले सम्बन्धमा नयाँपन हुनु जरुरी देखिन्छ । जस्तै भारत र बंगलादेशले जमिन सट्टापट्टा गरेर जसरी सीमा विवादलाई सुल्झाएका छन्, त्यस्तै प्रकारको सट्टापट्टा वा अन्य तरिका जस्तै तेस्रो पक्षको मध्यस्थता, सीमा क्षेत्रको संयुक्त सर्वेक्षण, ऐतिहासिक दस्तावेजको विश्लेषण आदिद्वारा सीमा विवाद समाधान हुनेपर्ने देखिन्छ । नेपालले भारतको सुरक्षा चासोलाई सम्बोधन, नेपाल सरहदभित्र भारतविरोधी गतिविधि गर्न नदिने लगायत पक्षमा ध्यान दिनुपर्छ भने भारतले आफू ‘बिग ब्रदर’ को छविलाई सुधारेर नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने नीतिको अवलम्बन गर्नुपर्ने देखिन्छ।

अहिलेको समस्या समाधान भनेको देशलाई र राष्ट्रहितलाई सम्झिएर मेलमिलापको गर्नुको अर्काे विकल्प छैन। अहिले नेपालमा बुद्धि भएका व्यक्ति पनि बरालिएका छन् । राष्ट्रलाई ठोस दिशा दिन जुन भूमिका उनीहरुको हुनुपर्ने हो, सो देखिँदैन। उनीहरु आ—आफ्नै स्वार्थमा रुमलिरहेका छन्, त्यसैले सबैले आफ्नो स्वार्थ भुलेर उनीहरु राष्ट्र,राष्ट्रियता जोगाउनतिर लाग्नुपर्छ। त्यसको लागि राजासहितको संवादहुनुपर्ने देखिन्छ ।

नेपालको राजनीति हाल इतिहासकै कमजोर अवस्थामा आइपुगेको छ। हालको समस्या समाधानका लागि राजा र दल मिल्नुको विकल्प छैन। औद्योगिक  क्रान्तिबाट अगाडि बढेको मुलुक बेलायतले जसरी राष्ट्रहितलाई ध्यानमा राखेर राजसंस्था पुनर्स्थापित गर्‍यो, त्यसरी नै अहिलेको विकल्प राजासँग दलहरु मिलेर जानुपर्ने देखिन्छ । युग सुहाउँदो कुनै न कुनै प्रकारको राजसंस्थाको उपस्थितिले राष्ट्र बलियो हुन्छ। यसले गर्दा विश्व मानचित्रमा नेपालको अस्तित्व जोगिन सक्ने कुरा नकार्न सकिन्न ।

अब कुरा गरौँ- नयाँ राजनीतिक दलबारे। नयाँ दललाई पनि पुरानै दलको रोग सरेको देखिन्छ । पहिले त उनीहरुसँग स्पष्ट भिजन छैन। विचार छैन। पपुलिज्मको बलले संसद र सरकारमा पुगेपनि उनीहरुले पुराना दलभन्दा नयाँ केही गर्न सकेका छैनन् । ‘जे गर्दैनौ’ भनेर जनतामाझ गए, त्यही गरिरहेका छन् ।अहिलेको स्थितिमा पुराना दल रहुञ्जेल नयाँ दल बन्ने र पूर्णरुपमा सत्तामा पुग्ने सम्भावना देखिँदैन। बनिहाले पनि पुरानै पार्टीको लयतिर जान्छ।

माओवादी युद्धको उत्कर्षको बेला मलाई कीर्तिपुरमा विश्वविद्यालयमा अध्ययनरत माओवादी समर्थित विद्यार्थीले बोलाए र सोधे- ‘तपाईंलाई हाम्रो युद्ध कस्तो लागेको छ?’

मैले भने- ‘के गर्ने भन्ने कुराहरु प्रष्ट हुनुपर्छ । मैले यो युद्धमा माओवाद देखेको छैन । तपाईंहरुको खासै सिद्धान्त के गर्ने भन्ने कुरा बुझिँदैन। माओवादको सिद्धान्त खुला समाजतिर गइसकेको छ ।चीनमा आर्थिक संकट बढिरहेको अवस्थामा देङ सियाओपिङको सुधार र खुलापनको नीतिले चीनलाई माओले स्थापना गरेको समाजवादी नियन्त्रित अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा डोर्‍याएको छ। त्यसैले नेपालमा समाजवादी क्रान्तिको अस्तित्व मैले देख्दिन। त्यसैले यो आन्दोलनको अस्तित्व मैले त्यति देखेको छैन।’ त्यसैले यहाँ मैले भन्न खोजेको के हो भने नयाँ दल बन्दैमा वा केही मात्रामा जनतामाझ ‘हाई हाई’ हुँदैमा परिवर्तन हुन्छ भन्ने हैन। पहिले त नयाँ भनिएका दलले आफू के हुँ, कुन बाटोतिर जाँदैछु त्यसको मार्गचित्र स्पष्ट पार्नुपर्छ ।

अहिलेको समस्या समाधान भनेको देशलाई र राष्ट्रहितलाई सम्झिएर मेलमिलापको गर्नुको अर्काे विकल्प छैन। अहिले नेपालमा बुद्धि भएका व्यक्ति पनि बरालिएका छन् । राष्ट्रलाई ठोस दिशा दिन जुन भूमिका उनीहरुको हुनुपर्ने हो, सो देखिँदैन। उनीहरु आ—आफ्नै स्वार्थमा रुमलिरहेका छन्, त्यसैले सबैले आफ्नो स्वार्थ भुलेर उनीहरु राष्ट्र,राष्ट्रियता जोगाउनतिर लाग्नुपर्छ। त्यसको लागि राजासहितको संवादहुनुपर्ने देखिन्छ ।

(पुराना कम्युनिष्ट नेता कोइराला नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय परिषद्का सदस्य रहिसकेका छन्।)

(कुराकानीमा आधारित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?