
काठमाडौं- कन्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले बलियो विकल्पका रुपमा डीएनए परीक्षणलाई लिएको छ।
प्रहरी अधिकारी भन्छन्- डीएनए नमिलेसम्म कसैलाई पनि मुद्दा चलाउन सकिने अवस्था छैन। यसअघि प्रहरीले अभियुक्तका रुपमा उभ्याएका दीलिपसिंह विष्ट डीएनए नमिलेपछि सरकारी वकिलको सहमतिमा साधारण तारेखमै छुटेका थिए। त्यसपछि विवादमा तानिएको प्रहरी यतिबेला आफ्नै प्रहरी अधिकारीको डीएनए परीक्षण गरिरहेको छ। तर नतिजा आइसकेको अवस्था छैन।
घटनामा कन्चनपुरका तत्कालीन एसएपी डिल्लीराज बिष्ट, उनका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजमाथि स्थानीयले संलग्नताको आरोप लगाएपछि प्रहरी प्रधान कार्यालयले तीनैजनाको डीएनए परीक्षण गरिरहेको छ।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा भन्छन्- हामीले आम मानिसले आशंका गरेका तीनै जनाको डीएनए परीक्षण गरिरहेका छौं।
बलात्कारका घटनामा अभियुक्त पत्ता लगाउन यौनांग वा वरिपरिका अंगमा पाइएको विर्यको डिएनए परीक्षण गरी आशंका गरिएको व्यक्तिसँग जुधाइन्छ। निर्मलाको केसमा उनको भेजिनल स्वाबमा पाइएको बिर्यको डिएनए परीक्षण गरी तयार पारिएको प्रोफाइल आशंका गरिएको व्यक्तिसँग जुधाएर हेर्ने क्रममा एसपी बिष्ट, उनका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजाको डिएनए अहिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण भइरहेको छ।
यद्यपि निर्मलाको यौनांगबाट लिइएको बिर्यको डिएनएबारे नै प्रश्न उठिरहेका छन्। साउन ११ गते उखुबारीमा मृत अवस्थामा अर्धनग्न भेटिएकी निर्मलाको त्यहीनेर प्रहरीहरुद्वारा यौनांग सफा गरिएको, उनले लगाएको सुरुवाल धोइएको भिडियोहरु सार्वजनिक भइसकेका छन्। प्रहरीले भने घटनास्थलमै रहेको निर्मलाको शवकै भेजिनल स्वाबबाट संकलन गरिएको बिर्यबाटै डिएनए प्रोफाइल तयार गरिएको दाबी गरिहेको छ।
बलात्कारका मुद्दामा वर्षमा केवल ५० वटा डीएनए टेस्ट
प्रहरी प्रधान कार्यालयका अनुसार विधि विज्ञान प्रयोगशाला ‘फरेन्सिक ल्याब’मा हरेक वर्ष करिब १२ सय वटा केस आउँछन्। तीमध्ये करिब एक सय ५० वटा केसको डीएनए परिक्षण हुन्छ। डीएनए परिक्षण हुनेमध्ये ५० वटा केस मात्र जबर्जस्ती करणी अर्थात बलात्कारसँग सम्बन्धित हुन्छन्। अर्थात वर्षभरि हुने बलात्कारका घटनामध्ये निकै न्यून मात्रामा मात्र डीएनए परीक्षण गरी बलात्कारी पहिचान गरिन्छ। गत आर्थिक वर्षमात्र देशभर एक हजार चार सय ८० वटा बलात्कारका घटना भएका थिए। यसको मतलब करिब तीन प्रतिशत बलात्कारका घटनामा मात्र डीएनए परीक्षण हुने गर्दछ। प्रहरी प्रवक्ता एसएसपी थापा घटना लगत्तै पीडित उपलब्ध नहुने हुँदा डीएनए परीक्षण हुनेको संख्या कम भएको बताउँछन्। ‘बलात्कारका केसमा घटना भए लगत्तै नुहाएमा पनि डीएनए टेस्ट गर्नुको अर्थ हुन्न’, एसएसपी थापा भन्छन्।