
हुम्ला – हिमाली जिल्ला हुम्लामा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा कम छ। कतै भिरालो जमिन त कतै सिँचाइका लागि पानीको स्रोत नभएका कारण थोरै जग्गामा मात्र सिँचाइ सुविधा पुगेको हो।
खेती भइरहेको जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। जिल्लाका कुल खेतीयोग्य जमिनमध्ये २९ दशमलव १२ प्रतिशत जमिन आंशिक र बाह्रै महिना सिँचाइ सुविधा हुने गरेका कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताए।
खेतीयोग्य जमिन तर आकाशे पानीको भरमा खेती गरिने जग्गाको क्षेत्रफल ७० दशमलव ८६ हेक्टर छ। यसमा आंशिक सिँचाइ हुने खेतीपाती भइरहेको जग्गामा ६८२ हेक्टर छ भने ४२२ हेक्टर जग्गामा बाह्रै महिना सिँचाइको सुविधा हुने गरेको उनले बताए।
दुई किसिमको सिँचाइ गरेर जिल्लाभर एक हजार १०४ हेक्टर जग्गामा सिँचाइ सुविधा हुने गरेको छ। हुम्ला जिल्लामा कुल जमिनको भूभागमा खेतीयोग्य जमिनको क्षेत्रफल अठ हजार ३५८ हेक्टर छ। त्यसमा खेती गरिएको जग्गा चार हजार ६६८ हेक्टर छ। जिल्लाभर कम सिँचाइ हुनुमा भिरालो जग्गा र सिँचाइका लागि आवश्यक पानीको स्रोत नभएका कारण पनि समस्या भएको हो। यस आर्थिक वर्षका कार्यालयद्वारा ८८ वटा साना सिँचाइका कार्यक्रम रहेको कारण सिञ्चित जग्गाको क्षेत्रफलमा केही वृद्धि हुनेछ।
सिमकोट गाउँपालिका– ३ का किसान च्यामा लामाले आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएकाले बालीको उत्पादन पनि आकाशे पानी कति पर्छ त्यसैमा भर पर्ने बताइन्।
उनले आफ्नो गाउँमा थोरै जग्गामा मात्र सिँचाइ सुविधा भएको तर अधिकांश जग्गा आकाशे पानीकै भरमा खेती गर्नुपरेको बताए। आकाशे पानीका भरमा खेती गर्नु परेको कारण खडेरीको बेला बाली नै डढेर जाने चिन्ता हुने गरेको र यो समस्या बारम्बार किसानले भोग्ने गरेको उनले बताए।