काठमाडौँ, पोखरा, चितवनमात्र होइन, धनगढीदेखि विराटनगरसम्म नै प्रदूषणको बाक्लो तुँवालोले सास नै फेर्न अप्ठ्यारो हुने अवस्था छ अहिले। नाक पिरो हुने आँखा पोल्ने र सास फेर्न नै कठिन हुने अहिलेको अवस्थाको कारण तथा यसबाट बच्ने उपायबारे विपद् विज्ञ तथा राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेलले देशसञ्चार चौतारीको यसपटकको अंकमा लामो कुराकानी गरेका छन्।
काठमाडौँ अहिले विश्वकै सबैभन्दा प्रदूषित शहर हो। चैत सुरुदेखि वैशाख अन्त्यसम्म झन्डै दुई महिना नै अहिलेको जस्तै प्रदूषण व्यहोर्नुपर्छ काठमाडौँबासीले। यसलाई पछिल्लो समयमा जंगलमा हेल्चेक्र्याइँपूर्वक लगाइने डढेलोले पनि बढाइरहेको छ।
जंगलमा पत्कर जलाउने चलनलाई पूर्णतया: रोक लगाउनुपर्ने बताउँछन् पोखरेल। विषाक्त हावा, हावाहुन्डरी, डढेलोजस्ता समस्यालाई एकमुष्ट रुपमै सम्बोधन गर्नुपर्ने बताउँछन् उनी। डढेलोजस्ता समस्यासँग जुध्न एउटा व्यक्ति र समाजकै तहबाट काम सुरु गर्नुपर्ने उनी बताउँछन्।
अहिलेको अवस्थालाई हेर्दा प्रदूषणको हिसाबले कोभिडको महामारीभन्दा पनि संकटपूर्ण रहेको उनी बताउँछन्। ‘अहिलेको अवस्थामा प्रदूषणका हिसाबले संकटकाल घोषणा गर्नुपर्छ,’ उनले भने।
डढेलोको अवस्थामा पोर्टेबल फायर पम्प उपयोगी हुने उनी बताउँछन्। हरेक वडाले अहिलेको अवस्थामा एउटा पोर्टेबल फायर पम्प किन्नुपर्ने उनी बताउँछन्। स्थानीय पाठ्यक्रममा पनि डढेलोका विषय समावेश गर्नुपर्ने उनी बताउँछन्।
डढेलोका अतिरिक्त खडेरी र अतिवृष्टि पनि अहिलेका ठूला समस्या भएको उनी बताउँछन्। असोजको बाढीको एउटा कारण जलवायु परिवर्तन रहेको तर मानव सिर्जित समस्याले पनि यसलाई ‘ट्रिगर’ गरेको उनी बताउँछन्। उनले डढेलो व्यवस्थापन स्थानीय पालिकाको चासोको विषय हुनुपर्ने बताउँदै यसका लागि टिप्स पनि दिएका छन्।
जलवायु परिवर्तनकै कारणले तराईमा पानीको सतह घट्दै गएको र चुरे विनाशले यसमा घ्युको काम गरेको पनि उनले बताए।
बर्षेनि कोप सम्मेलन आयोजना भइरहे पनि विकराल समस्याहरूका लागि कोपका सिफारिसले कत्ति पनि काम गर्न नसकेको बताउँछन् उनी। ‘कोपबारे हामीले अहिले सोच्नुपर्ने अवस्था नै आएको छ,’ उनले भने।
विपद्ले नेपालमा सानाठूला आयोजनाहरूमा ठूलो क्षति पुगेको तर आयोजना निर्माणमा जोखिमको मूल्यांकन नहुने समस्या पनि औँल्याए पोखरेलले। अबको आयोजना निर्माण गर्दा वातावरणीय क्षति मूल्यांकनमात्र नगरी विपद् जोखिमको पनि मूल्यांकन गर्नुपर्ने उनले बताए।
पोखरेलले अहिलेको प्रदूषणसँग बच्न तत्काल बच्न नागरिक र समाजलाई केही टिप्सहरू पनि देशसञ्चार चौतारीका क्रममा दिएका थिए।
पूरा भिडियो: