
काठमाडौँ – पत्रकार तथा लेखक रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण गरिएकाे छ। प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमबीच शुक्रबार प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, लेखक रोहित भण्डारीलगायतले पुस्तक लोकार्पण गरेका हुन् ।
कार्यक्रमका विशेष अतिथि तथा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले प्रेरणादायी पुस्तक लेखकका रूपमा पहिचान बनाएका भण्डारीको ‘दिए पुग्छ’ पुस्तकले परोपकारी समाज निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइन्।
उनले भनिन्,‘नेपाललाई चिनाउने भनेकै कथाले हो। यस्ता सकारात्मक र वास्तविक जीवनका कथाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्छ।’
त्यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यस्ता खालका पुस्तकले नेपालमा परिवर्तन ल्याउन सहयोग पुग्ने बताए। उनले समाजमा सकारात्मक परिवर्तन ल्याउने, संघर्षका प्रेरणादायी कथाहरू प्रकाशन गर्न पत्रकारहरूलाई आग्रह गरे। यस्ता पुस्तकहरूले नेपालमा आमूल परिवर्तन ल्याउन सहयोग पुग्ने उनले बताए।
पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार बलराम दाहालले पत्रकार रोहित भण्डारीको लेखन शैलीबाट आफू प्रभावित भएको बताए। वास्तविक पात्रहरूका प्रेरणादायी कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको पुस्तक ‘दिए पुग्छ’ पढ्दै जाँदा आफू धेरै पटक भक्कानिएको उनले बताए। यो पुस्तक १३ वटा शीर्षकमा वास्तविक जीवनको संघर्षको कथा रहेको उनले बताए।
यस्तै पुस्तकका लेखक रोहित भण्डारी पुस्तक लोकार्पण कार्यक्रममा आमाको आशीर्वाद नपाउँदा भावुक भए। उनले भने,‘मैले यो पुस्तकका पात्रहरूको कथा आमालाई सबै सुनाएको थिएँ तर जब मैले यो पुस्तक लेखेर सकेँ आमा मेरो साथमा हुनुहुन्न, तपाईंहरुले पुस्तक पढ्दै गर्दा मेरी आमालाई पनि अन्तरआत्माले सम्झिदिनुहोला।’
भण्डारीले यो पुस्तक लेख्न सात वर्ष लागेको र त्यस अवधिमा उनको जीवनमा अनेकौँ चुनौती आइपरेको बताए। पुस्तक लेख्दै गर्दा उनको आमाको क्यान्सर भएका कारण मृत्यु भएको उनले बताए। २० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारीले आफ्नो प्रेरणाको स्रोत बुवा रहेको बताए। उनले यसअघि ‘सम्भव छ’ (२०७१) र ‘नेपालमै सकिन्छ’ (२०७३) गरी दुई वटा पुस्तक प्रकाशन गरिसकेका छन्। यसअघिका आफ्ना दुई पुस्तकले झैँ यो पुस्तकले पनि पाठकको माया पाउने विश्वास व्यक्त गर्दै उनले परोपकारी भावनाको हेतुले कथात्मक शैलीमा वास्तविक पात्रलाई पुस्तकमा समावेश गरेको उल्लेख गरे।