
झापा- झापामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ठगी मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी १ का ६१ वर्षीय नरबहादुर विक २४ वर्षपछि पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। झापा जिल्ला अदालतमा बुधबार उपस्थित गराई अदालतको आदेशले झापा कारागार पठाइएको डीएसपी खगेन्द्र खड्काले बताए।
ठगी मुद्दामा झापा जिल्ला अदालतको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार उनलाई १ वर्ष कैद र ५३ हजार ३३३ रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो।
यसैबीच जिल्ला प्रहरी कार्यालयले गत चैत महिनामा बिभिन्न मुद्दा शिर्षकका ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ७ महिला र ४४ जना पुरुष रहेका छन्। उनीहरूलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीलाई कैद भुक्तानको लागि कारागार पठाइएको र जरिवाना असुल्न बाँकी रहेका प्रतिवादीलाई जरिवाना दाखिला गराउन लगाई छाडिएको डीएसपी खड्काले जानकारी दिए।
प्रवक्ता खड्काका अनुसार पक्राउ परेका प्रतिवादीहरुबाट कैद–२७ वर्ष ९ महिना ७ दिन तथा जरिवाना ५० लाख ४३ हजार ४१० रुपैयाँ असुल उपर भएको छ।