
काठमाडौँ- वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भूमिकाबिहीन भएको बताएका छन्।
काठमाडौँ शनिवार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघ सरकारले आवश्यक कानून नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको बताए।
उनले संघीय कानूनहरु नबन्दा अहिले प्रदेश सरकारले पर्फमेन्स शून्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको बताए ।
उनले संघ सरकारले छिटो भन्दा छिटो संघीय कानून बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नुपर्ने बताए।
प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामति, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरु संघीय कानून नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको उनले टिप्पणी गरे।
समयसापेक्ष कानून नहुँदा प्रदेश सरकारलाई काम गर्न धेरै कठिनाइ भइरहेको उनको भनाइ छ ।