
बैंकक— निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीहरूले बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद गरेका छन्।
‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ–आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका छन्।
साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए।
साहित्यिक भेटघाट प्रेरणादायी, भावनात्मक र स्मरणीय वातावरणमा सम्पन्न भएको थाई नेपाली ‘आदर्श’ पुस्तकालयका अभियन्ता राज पौड्यालले बताए।
‘हामीहरु अत्यन्तै खुशी छौँ। मदन पुरस्कार विजेता, वरिष्ठ साहित्यकार युवराज नयाँघरेज्यू हाम्रो कार्यक्रमको प्रमुख आकर्षण भने। उनको आत्मीयता, गहिरो चिन्तनशीलता र सरल व्यक्तित्वले उपस्थित सबैको मन जित्यो,’ उनले भने।
कार्यक्रममा नयाँघरेको पछिल्लो कृति ‘तनक्खा’लाई केन्द्रमा राखेर चर्चा समेत गरिएको थियो।
तनक्खा दक्षिणपूर्वी एसियाली मुलुक म्यान्माका विभिन्न गन्तव्यमा आधारित एक उत्कृष्ट नियात्रा संग्रह हो। कृतिमा म्यान्माली नेपाली समाजको जीवन, सभ्यता,संस्कृति, धर्म, सार्वजनिक सरोकार र ऐतिहासिक पृष्ठभूमिको सूक्ष्म र गहिरो चित्रण गरिएको छ।
म्यान्मालीहरूको भाषिक, सांस्कृतिक र सामाजिक अवस्थाबारे प्रस्तुत गरेका विवरणहरूले कार्यक्रममा थप गहिराइ र भावुकता थपेको थाइल्यान्डमा रहेका पत्रकार लोकेन्द्र ओलीले बताए।
साहित्यिक समारोहमा अशोक घिमिरे, दीपा राना, रीत निरौला गुरागाईं, लोकेन्द्र ओली, कोमल भट्टराई, राज पौड्याल, गंगा बस्नेत, भारती अधिकारी, तिलक पोखरेल, विना ढकाल, करुणा भुजेललगायतको सहभागिता थियो।