प्रख्यात अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेल देशसञ्चार चौतारीको यसपटकको श्रृंखलामा अतिथि छन्। उनले करिब ४ दशक त्रिभुवन विश्वविद्यालयमा पढाए, देशका लागि कूटनीतिज्ञको भूमिका निर्वाह गरे, थुप्रै अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरे र नारायणगोपाललगायत गायकका लागि थुप्रै गीत लेखे पनि। अर्थशास्त्रको क्षेत्रमा उनको विज्ञता अतुलनीय थियो।
कुनै समय त्रिभुवन विश्वविद्यालमा पढाउँदा आफूलाई गर्व लाग्ने बताउँछन् डा. प्याकुरेल। तर अहिले यसको कुनै सम्मान नभएको बताउन हिच्किचाउँदैनन् उनी।
नेपालको आर्थिक विकासदर ४० वर्षदेखि ४ प्रतिशतमै रहेको बताउँदै डा. प्याकुरेल अर्थतन्त्रमा सुधार ल्याउन थुप्रै ठाउँ भए पनि सुधार गर्न नसकिएको बताउँछन्। नेपाललाई फाइनान्सियल टास्क फोर्सले ग्रे लिस्टमा राख्दा यसले दीर्घकालीन असर पुग्ने उल्लेख गर्दै यसबाट बाहिर निस्कन गम्भीरतापूर्वक लाग्नुपर्ने बताउँछन् उनी।
डा. प्याकुरेल गभर्नरको पदलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने तर जोकजस्तो बनाएको बताउँछन्। आफूलाई पनि कुनै समय गभर्नरको अफर आएको तर यसमा हुने चलखेलका कारण हुन नपाएको प्रसंग पनि उक्काए डा. प्याकुरेलले।
देशसञ्चार चौतारीका क्रममा श्रीलंकामा राजदूत हुँदा आफूले डलरमा तलब थाप्ने तर देशका लागि काम गर्न नपाउँदा ग्लानि भएर राजीनामा गरेको प्रसंग पनि सहकर्मीमाझ उक्काए डा. प्याकुरेलले। ‘महिना महिनामा डलरमा तलब जान्थ्यो तर सचिवसम्मले फोन उठाउँदैन थिए,’ उनले श्रीलंकामा राजदूत हुँदाको समय सम्झे, ‘दिक्क भएर मैले राजीनामा नै गरेँ।’
गायक नारायणगोपालसँग आफ्ना रमाइला सम्झना पनि प्याकुरेलले देशसञ्चार चौतारीका क्रममा उक्काए। नारायणगोपालले गाएको उनको प्रख्यात गीत ‘तिमीले भनेका सारा देव छोएर’ आफूले आइएस्सी पढ्दा नै लेखेको स्मरण गरे उनले।
‘नारायणगोपालसँग उनको अन्तिम कालसम्म मेरो संगत रह्यो, पिउन र चुरोट खानमा एकदमै सौखिन थिए,’ उनले सम्झिए।
नारायणगोपालका कुरा गर्दा डा. प्याकुरेल निकै हौसिएका थिए। ‘नारायणगोपालका किस्साहरू निकाल्दा दिन नै बितिजान्छ,’ उनले भने।
नेपालको अर्थतन्त्रमा निकै समस्या रहे पनि चाहे यसमा तत्काल सुधार ल्याउन सकिने डा. प्याकुरेलको जिकिर छ। नेपालकै साना तथा मझौला उद्योगलाई बढाएर रोजगारी सिर्जना गर्नुपर्ने उनको जिकिर छ। ‘कृषिलाई आधुनिकिकरण र पर्यटनसमेत नेपालका आर्थिक विकासका स्रोत हुन्,’ उनले भने।
आफूले लेखेको आत्मकथाले थुप्रै आफ्ना अनुभवहरूलाई लिपिबद्ध गरेको बताएका डा. प्याकुरेलले देशसञ्चार चौतारीका क्रममा अहिले सबै क्षैत्रमा बिग्रिएको पटकपटक बताएका थिए।
पूरा भिडियो: