
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताए । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको बताए ।
त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गरे । यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उनको सुझाव छ ।
संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताको प्रत्याभुतिको व्यवस्था सुनिश्चित गरेको र संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले भने,’नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो । यसलाई रोक्न संवद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ ।’