
काठमाडौँ- यही शुक्रबार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को आज बुधबार प्रिमियर शोको आयोजना गरिएको छ।
काठमाडौंको बिग मुभिजमा आयोजित प्रिमियर शोमा कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साथै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, उपसभामुख इन्दिरा राना मगर, सांसद असिम शाह पनि कार्यक्रममा सहभागी थिए ।
आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन् ।
उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगर लगायतको दमदार अभिनय रहेको छ ।
सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका “फूल”, “मखमली” र “काफ्ले” जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् ।
निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ ।
चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।
तस्बिरहरूः