
विषय प्रवेश
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० मा अध्ययनरत विद्यार्थीका लगि गत २०८१ चैत ७ गते देखि चैत्र १९ गते सम्म २०८१ सालको माद्यमिक विद्यालय परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा देशभरि बाट महिला २,५७,७३० जना, पुरुष २,५६,३११ जना र अन्य लिङ्ग ३० जना गरि कुल ५, १४, ०७१ जना विद्यार्थी सामेल भएका थिए।
कक्षा १० पढ्ने विद्यार्थी भनेका उमेरले १४ देखि १६ बर्ष उमेरका हुन् । यो उमेर किशोरवयको बेला हो । किशोर अवस्था मानविय संवेगका हिसाबले अत्यन्तै संवेदनशील अवस्था हो । यो उमेर समूहमा शारीरिक, मानसिक, तथा सामाजिक परिवर्तनहरू तीव्र गतिमा हुने भएकाले किशोरहरू विभिन्न प्रकारका संवेगात्मक अनुभवहरूसँग जुधिरहेका हुन्छन्। यति बेला जति जोश, जाँगर, उर्जा, शक्ति, माया प्रेम हुन्छ उत्तिनै बहकिने मन पनि । शारीरिक परिवर्तनको चरण भएकाले यतिबेला मन विपरीत लिंगतिर आकर्षित भइरहेको हुन्छ । यौनप्रतिको उत्सुकता जागेको हुन्छ । अभिभावकको निगरानीबाट उन्मुक्त हुन खोज्ने बेला पनि हो यो । कतिपय अवस्थामा खराब संगत र लतमा पुग्ने भय पनि रहन्छ ।अर्कोतिर करियर र पढाइको चाप पनि हुन्छ । परीक्षापछिको फुर्सदको समयमा आफू रमाउन सक्ने र उपयोगी कुरा सिक्न सक्ने वातावरण विद्यार्थी आफैले र घर परिवारले मिलाई दिनुपर्ने हुन्छ।
परीक्षा पछिको यो समय केवल विश्राममै बिताउनु उपयुक्त हुँदैन। यही अवसरमा आत्मचिन्तन, आफ्ना रुचि, क्षमता र भविष्यको लक्ष्यबारे गम्भीर सोच आवश्यक हुन्छ। यस संक्रमणकालमा अभिभावक, शिक्षक र समाजको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । बालबालिकालाई केवल अंक र प्रतिष्ठाको खेलमा धकेल्ने होइन, उनीहरूका अभिरुचि, स्वभाव र दीर्घकालीन सम्भावनालाई बुझेर मार्गदर्शन गर्नु आवश्यक छ । काउन्सेलिङ सत्रहरू, शैक्षिक मेला, करियर गाइडेन्स कार्यशालाहरू यस अवस्थामा सहायक हुन्छन् ।
माद्यमिक शिक्षा परीक्षाको नतिजा साधरणतया असारको दोस्रो वा तेस्रो हप्तामा प्रकाशित हुने हुदा परीक्षा सकिने र रिजल्ट आउने बीचको तीन महिनाको यो समय विद्यार्थीका लागि नयाँ दिशा दिने एक महत्वपूर्ण समय हो । जीवनको यो चरण भविष्यको यात्राको नयाँ सुरुवात र जीवनको दिशानिर्धारण गर्ने संवेदनशील समय हो । उच्च अध्ययन सुरु गर्नु भन्दा पहिलाको यो समयलाई विद्यार्थीले आफ्नो व्यक्तिगत, शैक्षिक र सामाजिक विकासगर्ने एक सुनौला अवसरको रूपमा ग्रहण गर्नुपर्छ ।
तीन महिनालाई फलदायी बनाउने केहि महत्वपूर्ण उपायहरू
माध्यामिक शिक्षा परीक्षा सकेर बसेका ५ लाख भन्दा बढी विद्यार्थीका लागि यो समय जीवनको दिशानिर्धारण गर्ने संवेदनशील समय हो। यो समयलाई फलदायी बनाउन तल दिएका केही दृष्टान्तहरु उपयोगी हुनसक्छन्।
१. एसईईपछिको सबैभन्दा ठूलो प्रश्न हो—अब कुन विषय रोज्ने? विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, प्राविधिक वा व्यावसायिक धार? अधिकांश विद्यार्थी र अभिभावकहरू अझै अंकको आधारमा विषय छनोट गर्छन्, जुन दीर्घकालीन रूपमा सही रणनीति हुँदैन। विषयगत टुङ्गो लगाउन अगाडि काउन्सेलिङ कक्षा, वेविनारहरुमा भाग लिने, विभिन्न विद्यालय, महाविद्यालयहरुको भ्रमण गर्ने र आफु भन्दा अनुभवि व्यक्तित्वहरु संग भेटि सरसल्लाह लिनु पर्छ। विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यको रोजगारीसँगको सम्बन्धलाई ध्यानमा राखी विषय चयन गर्नु बुद्धिमानी हुन्छ। यसबारेमा सम्बन्धित विद्यालयले नै विद्यालयमा क्यारियर गाइडेन्स तथा फर्दर स्टडिज’ विभाग स्थापना गरी विद्यार्थीको सानो कक्षादेखिको नतिजा अध्ययन गरी उसको रुचि र प्रतिभाको आधारमा कुन विषय पढ्न उपयुक्त हुन्छ भनी सल्लाह दिन सके अझै राम्रो हुन्छ । केही वर्ष अगाडिको कुरा हो- काठमाडौंकासागर थापा ४.० जिपिए ल्याएका विद्यार्थी हुन्। परिवारले विज्ञान रोज्न दबाब दिए पनि उनलाई व्यवस्थापन रुचिको विषय लाग्यो। उनले परिवारसँग खुला संवाद गरे र अन्ततः व्यवस्थापनतर्फ जान पाए। अहिले उनी सिए अध्ययनको तयारी गर्दै छन्। यस्ता उदाहरणले देखाउँछ कि रुचि अनुसार विषय चयन गर्दा विद्यार्थीको उत्साह र सफलता दुवै बढ्छ।
२. एसईई पछिको पहिलो तीन महिना ‘स्लाट’ समय हो, जहाँ औपचारिक शिक्षाको कार्यक्रम नहुँदा पनि, विद्यार्थीले विभिन्न व्यवहारीक तथा सिपमूलक तालिमहरू लिन र सीप सिक्न सक्छन्। सीप भनेको सिर्जनात्मक ढंगले सोच्न र विश्लेषण गर्न जान्ने कला हो । सिर्जनात्मक ढंगले सोच्ने तरिका जन्मजात गुण नभएर सिक्न र सिकाउन सकिने सीप हो । त्यसैले यो समयमा विद्यार्थीले कम्प्युटर सम्बन्धी सिप जस्तै एमएसअफिस, बेसिक आईटी, ग्राफिक्स, प्रोग्रामिङ, फोटोसप, भिडियो सम्पादन, एनिमेसन, टाइपिङ, अकाउन्टिङ जस्ता सिप सिकी आफूलाई सूचना प्रविधिको क्षेत्रमा सक्षम बनाउन सकिन्छ ।आमाबुवालाई भान्सामा खाना पकाउन रखेतीबालीको काममा सघाउन र रमाउन पनि यो उपयुक्त समय हो ।
केही समय पहिलाको कुरा हो, धादिङकीअनिता तामाङ एसईईपछि गाउँमै बसेर एक महिनाको सिलाई कटाई तालिम लिइन्। हाल उनले सानो सिलाई केन्द्र खोलेकी छिन् र पढाइसँगै आम्दानी पनि गरिरहेकी छन्। लमजुङका सन्तोष गुरुङले एसईईपछि बेसिक कम्प्युटर तालिम लिएर अहिले गाउँको स्कुलमा कम्प्युटर सहयोगीको काम गरिरहेका छन्। सही तालिम सही समयमा लिइयो भने त्यसले भविष्य निर्माणमा टेवा दिन सक्छ। यस्ता सीपले विद्यार्थीलाई भविष्यका अध्ययन र रोजगारीमा प्रतिस्पर्धी बनाउँछ।
३. विदेशी भाषा सिक्ने, भाषा बोल्न र लेख्ने क्षमता सुधार गर्ने, डुओलिङ्गो वा स्थानीय भाषा सिक्ने, वक्तृत्व कला, नेतृत्व, सार्वजनिक सम्पर्कजस्ता सीपहरू सिक्नसके यस्ता सीपहरु भविष्यमा अत्यन्त उपयोगी हुन्छन्। सञ्चार, सम्पर्क र सहकार्य एकाइसौँ शताब्दीका सफलताका कडी हुन । सञ्चार सम्बन्धी विभिन्न क्लवहरु मार्फत सञ्चारकला सिक्न सकिन्छ । पोखराकी एक विद्यार्थी सारिका गुरुङ भन्छिन्, गत वर्षपरीक्षा सकिएपछि पहिलो दुई हप्ता त मैले किताब नछोएर परिवारसँग घुम्नमै बिताएँ । तर पछि लाग्यो केही नयाँ सिक्नुपर्छ । सारिकाले त्यसपछि एक महिनाको अंग्रेजी बोल्ने कक्षा लिइन्, जुन पछि कलेज प्रवेश अन्तर्वार्तामा निकै उपयोगी सावित भयो । यस्ता तालिमहरूले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै प्रतियोगितात्मक संसारमा सफलतापूर्वक उभिने तयारी गराउँछ । काठमाडौँमा बसेर पढेकी ताप्लेजुङकी अनिता लिम्बुले एसईईपछि गाउँमा गएर लिम्बु समुदायमा बोलिने भाषा सिकिन्। लिम्बु भाषा फरर बोल्न सकेकोमा अनिता अहिले दङ्ग छन्।
४. यस समयमा सामाजिक सेवा कार्यहरूरक्तदान, सरसफाइ, वृक्षारोपण, पुस्तक संकलन, साक्षरता एवम् बालमैत्री कार्यक्रमहरूमा स्वंमसेवकका रुपमा सहभागिता जनाउनु पर्छ । रोट्रयाक्ट क्लब, लियो क्लब, जुनियर रेडक्रस सर्कल, युथ जस्ता सामाजिक क्लबमा संलग्न हुनु राम्रो हुन्छ,जसले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, सहकार्य भावना र नेतृत्व सीप विकास गर्न मद्दत पुर्याउँछ। यस्तो अनुभव कक्षाको पाठ्यक्रममा सिक्न नसकिने व्यावहारिक शिक्षा हो।
एसईईपछि पोखराका केही युवाहरूले ‘फुर्सदलाई सेवा’ मा रूपान्तरण गर्दै सामुदायिक पुस्तकालय पुनःसंरचना गरेका छन्। निशा कँडेल, त्यस अभियानकी संयोजक, भन्छिन्, पढाइको समय नभए पनि समाजका लागि केही गर्न पाउँदा आत्मसन्तुष्टि मिल्यो। सामाजिक संलग्नता स्वयंसेवाको भावना मात्र होइन, नेतृत्व सीपको अभ्यास पनि हो।
५. यस समयमा पाठ्यपुस्तक भन्दा बाहिरका नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका उपन्यास, कथा, कविता र लेखहरू पढ्ने, विभिन्न असल व्यक्तित्व जस्तै नेल्सन मण्डेला, माहात्मा गान्धी, एपिजि अब्दुल कलाम, विपी कोइराला, राजा महेन्द्र, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी जस्ता प्रेरणादायी व्यक्तित्वका जीवनी र अन्य मोटिभेसनल सीप भएका पुस्तक पढी आफ्नो बौद्धिक स्तर बढाउनु पर्छ । यस्तो अध्ययनबाट विद्यार्थीलाई ज्ञानको विस्तार,सोचाइको विकास, भाषागत सुधार, समाज र संस्कृतिको बुझाई मा वृद्धि, आत्मा-उत्साह र प्रेरणा प्राप्त हुन्छ जस्ले जीवनलाई मार्गदर्शन दिन सक्छ ।
६. संगित, नाच, चित्रकला, खेलकुद, फोटोग्राफी, कविता लेखन, रोवोटिक आदि आफ्ना रुचिका गतिविधिमा संलग्न भई आफू भित्र कस्तो कला र सिर्जना छ स्वयंले पत्ता लगाई आफ्नो सिर्जनशीलता, आत्मविश्वास र भावनात्मक बुद्धिमता बढाउने समयका रूपमा यो समय उपयोग गर्नुपर्छ । रोबोटको प्रयोग सबै क्षेत्रमा बढिरहेको देखेका वीरगंजका रामनारायण चौधरीले गत वर्ष एसईई दिए पछिको समयमा घरमै बसेर रोबोटिक सीप बारे अध्ययन गरे। विज्ञान तथा प्रविधिका विद्यार्थी चौधरीले भविष्यमा व्यवसायिक रूपमा अत्याधुनिक रोबोटहरु बनाउने आफ्नो जीवनको लक्ष बनाएका छन् ।
माद्यमिक शिक्षा परीक्षाको नतिजा साधरणतया असारको दोस्रो वा तेस्रो हप्तामा प्रकाशित हुने हुदा परीक्षा सकिने र रिजल्ट आउने बीचको तीन महिनाको यो समय विद्यार्थीका लागि नयाँ दिशा दिने एक महत्वपूर्ण समय हो । जीवनको यो चरण भविष्यको यात्राको नयाँ सुरुवात र जीवनको दिशानिर्धारण गर्ने संवेदनशील समय हो ।
७. यो समय घर परिवार र साथीभाइ मिलेर ऐतिहासिक स्थल, संग्राहलय, विभिन्न प्राकृतिक मनोरम स्थलहरूको अवलोकन भ्रमण गर्ने समय पनि हो । जसबाट सांस्कृतिक, भौगोलिक अनुभव र व्यवहारिक ज्ञान पाउन सकिन्छ । जुन ज्ञान र अनुभव पछि गरिने अध्ययनमा सहयोगी बन्न सक्छ ।
८. यस समयमा कक्षा ११ को तयारीको लागि विभिन्न ब्रिजकोर्ष गर्ने, अनलाइन प्लेटफर्म प्रयोग गरी आधारभूत ज्ञान बढाउने, शैक्षिक सामग्री जम्मा गरी स्वअध्ययन गरेर कक्षा ११ को अध्ययनलाई सजिलो पार्न सकिन्छ।
९. अनलाइन स्रोतको बुद्धिमानी उपयोग गरेर पछिको उच्च अध्ययनलाई सजिलो पार्न पनि सकिन्छ । भर्चुअल संसारमा बढी रमाउन भने हुदैन । भिडियो गेम खेल्ने, युट्युवमा अनेकन भिडियो हेर्ने, फेसबुकमा तल्लिन हुने जस्ता बानी बस्न सक्छ । लत लागेपछि त्यसबाट उम्कन निकै गाह्रो हुन्छ ।अनलाइन स्रोत उपयोग गर्दा स्वअनुशासन अवलम्बन गर्नुपर्छ ।
१०. डायरी लेख्ने बानीले विद्यार्थीहरुलाई आत्मअवलोकन गर्न, विचारहरू व्यवस्थित गर्न, र लेखन कौशल सुधार गर्न मद्दत गर्छ। नियमित रूपमा डायरी लेख्दा विद्यार्थीहरूले आफ्नो भावनाहरू व्यक्त गर्न सिक्छन्। डायरी लेखनले लक्ष्य निर्धारण गर्न, आत्मअनुशासन बढाउन, र सिर्जनात्मक सोचको विकास गर्न पनि प्रेरित गर्छ। त्यसैले विद्यार्थीले यो समयलाई डायरी लेख्ने, आफ्नो रिपोर्टिङ आफैलाई गर्ने, आफ्नो जीवनको लक्ष्य निर्धारण गर्ने जस्ता कार्यमा आफुलाई समाहित गर्न पर्छ ।
११. विद्यार्थी जीवनमा ध्यान र योगाको महत्व अत्यन्त गहन छ। ध्यानले मानसिक एकाग्रता बढाउँछ, तनाव कम गर्छ, र स्मरणशक्ति सुधार गर्छ। योगाले शारीरिक सन्तुलन कायम राख्न मद्दत गर्छ, लचकता बढाउँछ, र स्वास्थ्यलाई सुदृढ बनाउँछ।ध्यान र योगाले विद्यार्थीलाई अध्ययनमा गहिरो ध्यान केन्द्रित गर्न, आत्मविश्वास बढाउन, र सकारात्मक सोचको विकास गर्न सहयोग पुर्यािउँछ। अनुशासन र आत्मसंयमको भावना विकसित गर्छ, जसले दीर्घकालीन सफलता सुनिश्चित गर्न मद्दत गर्छ । विद्यार्थीले यो समय ध्यान योगा जस्ता आत्म चिन्तन र मानसिक शान्तिका अभ्यास मार्फत आत्मविश्वास, अनुशासन र भविष्य सुनिश्चित गर्ने गरि उपयोग गर्नु पर्छ ।
निष्कर्ष
माद्यमिक शिक्षा परीक्षापछिको पहिलो तीन महिना जुनसुकै विद्यार्थीका लागि जीवनको बाटो मोड्ने समय हो। यो समयको सदुपयोग गर्न सकिएन भने पछुतो बाँकी रहन सक्छ तर सही मार्गनिर्देशन र योजनाबद्ध क्रियाकलापले यस समयलाई अत्यन्त फलदायी बनाउन सकिन्छ। यसैले अभिभावक, शिक्षक, संस्था, स्थानिय सरकार र राज्य सबैले समन्वयात्मक पहल गर्न जरुरी छ जसले विद्यार्थीको भविष्य उज्यालो बनाओस्। एसईई पछिको यो तीन महिना हरेक विद्यार्थीको लागि जीवन मोड्ने बिन्दु हो। मार्गदर्शनसहित योजनाबद्ध अभ्यास गरियो भने यसले जीवनलाई नयाँ दिशा दिन सक्छ। यसकारण अभिभावक, शिक्षक, शिक्षण संस्था र राज्यसबैले मिलेर विद्यार्थीको सम्भावना उजागर गर्ने वातावरण बनाउनु अत्यावश्यक छ। यो समयको सही उपयोग नै विद्यार्थीको उज्यालो भविष्यको आधार बन्न सक्छ।
(बराल गण्डकी बोर्डिङ स्कूल, केन्द्रीय विद्यालयका पूर्वप्राचार्य हुन् भने गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा पनि अध्यापन गर्थे।)