चलचित्र समीक्षा:

‘ऊनको स्वीटर’मा उनिएको प्रेम र स्मृति

‘ऊनको स्वीटर’मा उनिएको प्रेम र स्मृति
+
-

स्वीटर बुन्दा ऊनको धागो मात्र बुनिँदैन त्यसमा प्रेम, समर्पण, स्मृति र त्यागका कथाहरू पनि बुनिएका हुन्छन्। त्यस्तै भावमा बनेको नवीन चौहानद्वारा लिखित तथा निर्देशित सिनेमा ‘ऊनको स्वीटर’ शुक्रबारदेखि नेपालभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ।कुशलता पूर्वक बुनिएको कथामा अभिनय, छायांकन, सम्पादन, ध्वनि संयोजन र संगीतको बेजोड समायोजन हेर्न पाइनेछ। नेपालको पूर्वी पहाडमा छायांकन गरिएको सिनेमाले त्यहाँको जीवनशैली, कला, संस्कृति र सामाजिक परिवेशलाई सुन्दरता पूर्वक प्रस्तुत गरेको छ।

सिनेमा कस्तो बन्नु पर्छ र कस्ता सिनेमा सफल हुन्छन् भन्ने बहस हाम्रा लागि नौला हैनन्।आम दर्शकले मन पराउने र सिनेमा हेरुन्जेल दर्शकहरूलाई सिनेमा मानै समाहित गराउन सक्ने सिनेमा सफल हुन र त्यस्ता सिनेमाले स्वतःस्फूर्त रूपमा दीर्घकालीन प्रभाव कायम गर्न सक्ने क्षमता राख्छन्।आर्थिक रूपमा सफल सिनेमा कलात्मक रूपमा कमजोर हुन्छन् भन्ने आम मान्यतामा म सम्पूर्ण रूपमा सहमत हुन सक्दिनँ।व्यावसायिक चलचित्र कलात्मक पनि हुन सक्छन् भन्ने एउटा प्रमाण ऊनको स्वीटर बन्न सक्छ। विश्व भरिका सिनेमा हेर्ने नेपाली दर्शकहरूलाई नेपाली सिनेमाको के विषयवस्तु, गुण र कलात्मकताले आकर्षित गर्न सक्ला भन्ने सवाल निर्माताको ध्यानमा रहेन भने नेपालमा राम्रा सिनेमा बन्दैनन् भन्ने भाष्य झन् सशक्त हुँदै जाने देखिन्छ। यस सवालमा ऊनको स्वीटरले प्रस्तुत गरेको प्रांगारिकता, मौलिकता, नेपाली पनको स्वाद र ग्रामिण भाषिक र सांस्कृतिक सौन्दर्य उदाहरणीय छ।

हरेक मानिसले प्रेम फरक र स्वायत्त रूपमा गर्न सक्छ। समकालीन समाजमा हुने प्रेमका परिभाषालाई चुनौती दिएको कथाले ‘प्राप्ति मात्र हैन बिछोड पनि प्रेम हो’ भन्ने मान्यतालाई आत्मसात् गरेको छ।

‘ऊनको स्वीटर’ मुख्यतया प्रमुख दुई पात्र धरणीधर (विपिन कार्की) र फूल (मिरूना मगर) को कथा वरिपरि घुमी रहन्छ। उनीहरूको असफल प्रेम, प्रगाढ सत भाव, समर्पण र त्यागले प्रेमलाई पुनःपरिभाषित गरेको छ। नेपालमा अहिले बाँचिरहेका युवा पुस्तालाई महसुस हुन सक्छ यो कुन समाज र काहाका व्यक्तिहरूले गर्ने प्रेम हो। नैतिकता, सहनशीलता र धीरता गुमाएको समाजको लागी यो अलि आदर्श प्रेम कथा हो। तर प्रेम त प्रेम हो। यसको परिभाषा कठिन हुन्छ साथै व्यक्ति परक पनि। हरेक मानिसले आफ्नो प्रेम फरक र स्वायत्त रूपमा गर्न सक्छ। समकालीन समाजहरूमा हुने प्रेमका परिभाषालाई चुनौती दिएको कथाले प्राप्ति मात्र हैन बिछोड पनि प्रेम हो भन्ने मान्यतालाई आत्मसात् गरेको छ। सेक्सपियरीयन ट्रयाजेडीमा पाइने वियोगलाई निर्देशकले कुशलता पूर्वक सरल तरिकाले नेपाली शैलीमा पस्किएका छन्। यो सिनेमाको सुन्दर पक्ष हो।

प्रमुख पात्रको भाइले अन्तरजातीय विवाह गर्छ जसले दुई परिवार बिचको र समग्र सामाजिक सन्तुलनलाई खलबल्याइ दिन्छ। लामो समयदेखि कायम रहेको सहिष्णुता र सद्भावमा संकट देखिए पनि अन्ततः दुवै परिवारले अन्तर जातीय विवाह स्वीकार गरेको दृश्यले यथार्थमा थुप्रै नेपाली समाजको प्रतिनिधित्व गरेको छ। यो जटिल भौगोलिक र सांस्कृतिक विषय हो तर निर्देशकको कुशलताले कथामा न्याय गरेको छ। जातीय भेदभावका आधारमा एक दलित पात्रको घरमा आगो लगाएर गाउँ निकालिएको दृश्यले दर्शकहरूलाई स्तब्ध बनाइदिन्छ तर यो दृश्य कुनै मजबुत कारण र पृष्ठभूमि बिनै आउँदा थोरै अप्रासंगिक लाग्छ। कथा पर्दामा उतार्दै जाँदा सिनेमा सोचे भन्दा लामो भएको कारणले दृष्यहरू छिमलेको हुन सक्छ। यो सिनेमा निर्माणको क्रममा आउने प्रमुख समस्या मध्ये एक हो।

सिनेमाको सौन्दर्य सास्त्र अरू कलाहरूको भन्दा थोरै फरक हुन्छ। सिनेमामा शब्दले लेख्न र बोल्न नसकेको भाषा दृश्यले बोल्नु पर्ने भएकाले दृष्य भाषाको निर्माण निर्देशकको लागि सबैभन्दा ठूलो चुनौती हुने गर्छ। ऊनको स्वीटरले क्यामेरा र सम्पादन मार्फत केहि मजबुत दृष्य भाषाको निर्माण गरेको छ। पुर्वी पहाडको प्राकृतिक सुन्दरता, संस्कृतिक घुलन, संघर्षपूर्ण जीवन तथा सम्वन्ध र वातावरणको ओस लेन्समार्फत सिनेम्याटोग्राफर चिन्तन राज भण्डारीले मिहिन रूपमा पर्दामा उतारेका छन्। भाले खेदाउँदै गरेको दृश्य, लालटिनको उज्यालोमा बुन्दै गरेको स्वीटर, ठेकी बनाउने दलितको झुप्रो, याक र भेडाहरूको गोठ, लेकको पोलेको आलु, काठले बनेको रोटे पिङ, सगुनमा दिइएको रक्सी र सुँगुरका साँप्राले स्थानीयता, मौलिकता र प्राङ्गारिकता झल्काउँछन्। यही नै हो नेपाली सिनेमाको दृश्य भाषाको झलक। दृश्य भाषा निर्माण गर्नु भनेको सैद्धान्तिक माथापच्ची मात्र हैन नेपाललाई नेपाली सिनेमामा देखाउनु हो।

सिनेमाको एउटा दृश्यले मलाई खुब आकर्षित गर्‍यो। प्रमुख पात्र उसको प्रेमिकालाई भेट्न लेक उक्लिन्छ। अद्यरो रातमा झलमल्ल लागेको जुन छानाको एक टुक्रा ढुंगा हटाएर पात्रहरू माथी खसेको प्रकाश अद्भुत संयोजन बाट निर्माण गरिएको छ। मिरूना पल्टिएर आकाशको जुन हेरि रहेकी छन् र विपिन छेउमा ढल्किएर मिरूनालाई हेरिरहेका छन्। प्रमुख पात्र घर बनाउने सिकर्मी हो। उसले भत्किएको छानो टाल्न पाएको अवसरलाई निर्देशक र छायाकारले कलात्मकताको स्पर्श दिएका छन्। यो दृश्यले के महसुस गरायो भने घर होस वा सिनेमा दुवै कुराको निर्माण आफैमा उत्कृष्ट कला हो। सतहलाई थोरै खोतलेर विश्लेषण हर्ने हो भने यस दृश्यमा निर्देशक र छायाकारको सृजनात्मकता र कल्पशीलता प्रचुर देख्न पाइन्छ। यस दृश्यको प्रकाश संयोजनले प्रेमिल अनुभूति प्राप्त हुन्छ र पात्रको मनस्थितिमा दर्शकलाई समाहित गराइदिन्छ।

सिनेमाको लय कायम राखेर दृश्यहरूलाई अर्थपूर्ण तरिकाले सम्पादन गर्नु सरल काम होइन। केही स्थानहरूमा असहज कटाइ महसुस भए पनि समग्रमा सिनेमाका सम्पादक कृष्ण भण्डारीले कथा, भाव र लयको तादात्म्य कायम राखेका छन्। कुन दृश्य काहा र किन राखिन्छ, त्यसले कथाको समग्र उद्देश्यलाई के योगदान गरेको हुन्छ भन्ने ज्ञानको अभावमा थुप्रै सिनेमाले दर्शकको ध्यान केन्द्रित गर्न सक्दैन। सिनेमामा हरेक दृश्य वा दृष्यानुक्रमको आफ्नो उद्देश्य हुन्छ र उक्त उद्देश्यहरूले सिनेमाको समग्र उद्देश्यलाई सटिक रूपमा योगदान गरेको हुनु पर्दछ। सम्पादक कृष्ण भण्डारीले यो सैद्धान्तिक अभ्यास सिनेमामा गज्जबसँग गरेका छन्।

उनको स्वीटरको अभिनय पक्ष पनि सशक्त छ। विपिन कार्कीले आफ्नो स्वभाव र व्यक्तित्व अनुसारको चरित्र पाएका छन्। मिरूना सधैँ झैँ आफ्नो चरित्रमा डुबेकी छन् र न्याय गरेकी छन्। माओत्से गुरुङ र विलसन विक्रम राईले कथामा क्याटलिस्टको काम गरेका छन्। एलेक्स पारस, परीक्षा लिम्बु र सुरज तमुले कथालाई निरन्तर अघि बढ्न मद्दत गरेका छन्। सानो भूमिकामा सुनिल पोख्रेल पनि देखिएका छन्। कसैको पनि अभिनयमा अतिरञ्जना छैन जसको कारणले दर्शक भावुक हुने ठाउँमा भावुक हुन्छन् र हाँस्नु पर्ने ठाउँमा मन खोलेर हाँस्छन्।

सिनेमा बनाउँदा त्रुटिहरू हुन्छन्। ऊनको स्वीटर पनि त्रुटि रहित सिनेमा हैन तर अक्षम्य गल्ती नगर्नु यो सिनेमाको सफलता हो। कथा प्रमुख पात्र धरणीधर (विपिन) को दृष्टिकोणबाट प्रस्तुत गरिएको छ। दृश्यमा भएको र देखाउन सक्ने कुरा पनि पात्रको आवाजमा न्यारेट गर्दा अलि दर्शकलाई अवमूल्यन गरेको महसुस हुन्छ या त निर्देशकको आत्मविश्वासमा कमी। सिनेमाको दोस्रो कमजोरी धेरै कथाहरूको असन्तुलन हो। धरणीधर र फूलको प्रमुख कथाबाट मोडिएर पात्रको बुबाको अलग कथा, फूलको आफ्नै कथा, प्रमुख पात्रको भाइको कथाहरूले दर्शकलाई अलमल्याई दिन्छ। स्क्रिन टाइम अरू पात्र सँगको बढी सेयरिङले मूल कथालाई थोरै कमजोर बनाएको छ। यस कारण पनि हुन सक्छ पार्श्व ध्वनिको संयोजनले कथालाई एकरूपता दिन सकेको छैन। अलग अलग प्लटमा प्रयोग गरिएको ध्वनिले जस्तो सुखद अनुभूतिका साथ स्पोन्टेनिटि कायम हुनु पर्ने हुन सकेको छैन। निर्देशकको राम्रो म्युजिकल स्टोरी भन्न सक्ने क्षमता सिनेमामा गीत र म्युजिक भिडियो प्रतिको झुकाव स्पष्ट देख्न पाइन्छ।दृश्य र दृष्यानुक्रमको विभाजन धेरै साङ्गीतिक लाग्छ। सिनेमामा सुजन चापागाईँ हाबी छन्। यद्यपि गीत र संगीत मिठा छन्। ‘फूल’ र ‘काफ्ले’ जस्ता चर्चित गीतले सिनेमालाई महत्त्वपूर्ण योगदान गरेको छ।

निष्कर्ष, ऊनको स्वीटर सौन्दर्य बोध गराउने व्यावसायिक चलचित्र हो। नेपालको मौलिक कथा देखाउने लेखक तथा निर्देशक नवीन चौहानको प्रयत्न, सिनेमाको दर्शक रिझाउन सक्ने क्षमता र कलात्मकताको प्रयोगलाई मध्यनजर गर्दै हेर्नु पर्ने सिनेमाको श्रेणिमा यस चलचित्रलाई राख्न सकिन्छ।

(लेखक शिशिर उप्रेती सिनेमाका अध्येता साथै नेपाल फिल्म क्याम्पसका प्रमुख हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?