
स्पेनिस जायन्ट रियल म्याड्रिड सिजनमा चौंथो पटक बार्सिलोनासँग पराजित भएको छ। लालिगाको उपाधि दौडमा निर्णायक मानिएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-३ ले पराजित गरेको हो।
रोमाञ्चक बनेको ‘एल क्लासिको’ भिडन्तमा जित निकालेसँगै बार्सिलोना उपाधि नजिक पुग्न सफल भएको छ। आइतबार भएको खेलमा उसले २ गोलले पछि परेको अवस्था उल्टाउँदै पहिलो हाफमै ४-२ को अग्रता बनाएको थियो। रियल म्याड्रिडका लागि किलियन एमबाप्पेले ह्याट्रिक गर्दै दबाब बनाएपनि बार्सिलोनाको आक्रामक पुनरागमनले खेलको मोड नै फेरिएको थियो।
खेलको सुरुवाती १४ मिनेटभित्रै एम्बाप्पेले दुई गोल गर्दै म्याड्रिडलाई २–० को अग्रता दिलाएका थिए। पहिलो गोल उनले पेनाल्टीमार्फत गरे भने दोस्रो गोल भिनिसियस जुनियरको पासमा आकर्षक गोल गरे। तर त्यसपछि बार्सिलोनाले अविश्वसनीय पुनरागमन गर्यो।
१९औं मिनेटमा एरिक गार्सियाले कर्नरबाट हेडिङ गर्दै गोल गरे। त्यसपछि १७ वर्षीय लामिन यामालले सुन्दर कर्लिङ स्ट्राइकमार्फत बराबरी गोल फर्काए। एमबाप्पे र लुकास भास्क्वेज एक अर्कामा ठोक्किँदा मौका पाएका राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर फेरन टोरेसको पासमा पुनः राफिन्हाले गोल गर्दै स्कोर ४-२ बनाए।
दोस्रो हाफमा बार्सिलोनाले फेरि गोल गरेपनि राफिन्हा अफसाइड हुँदा गोलले मान्यता पाएन्। त्यसपछि एमबाप्पेले ७०औं मिनेटमा आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। जसले उनलाई ला लिगाको सर्वाधिक गोलकर्ता बनायो। रियल म्याड्रिडबाट खेलेको पहिलो सिजनमै उनले ३९ गोलसहित कीर्तिमान बनाएका छन्।
खेलको अन्त्यतिर बार्सिलोनाका फेर्मिन लोपेजले पाँचौं गोल गरेपनि भिएआरले उनको गोललाई ह्यान्डबलका कारण अमान्य घोषित गर्यो। राफिन्हाले अर्को एउटा सुवर्ण अवसर पनि चुकाए, जबकि म्याड्रिडका युवा खेलाडी भिक्टर मुनोजले गोलको उत्कृष्ट मौका गुमाउँदा रियलले बराबरीको सम्भावित अवसर गुमाएको थियो।
बार्सिलोनाले यस सिजनमा रियल मड्रिडलाई लिगका दुबै खेलसँगै कोपा डेल रे फाइनल, स्पेनिस सुपर कपमा हराउन सफल भयो। ‘एल क्लासिको’ मा १९८२–८३ को रेकर्ड समेत बार्सिलोनाले बराबरी गरेको हो। अब बार्सिलोना लिग उपाधि जित्न एक जित टाढा छ। उसले बिहीबार एस्पान्योललाई पराजित गरे वा मड्रिडले बुधबार मल्लोर्काविरुद्ध हार बेहोरेमा बार्सिलोनो औपचारिक रूपमा च्याम्पियन बन्ने छ।
रियल मड्रिडले यस सिजनको चारवटा क्लासिकोमा १६ गोल खाँदा बार्सिलोनाले आफ्कोनो उत्कृष्ट लय भेटाएको छ। लिगमा लगातार पाँचौ जितसँगै बार्सिलोनाको ३५ खेलबाट ८२ अङ्क बनाएको छ। समान खेलबाट दोस्रो स्थानमा रहेको रियलको ७५ अङ्क छ। बार्सिलोनाले स्पष्ट रुपमा रियललाई ७ अङ्कले पछि पार्न सफल भयो।