
विषय प्रवेश
बुलिङ शब्द अंग्रेजीको बुलीबाट आएको हो । यसको नेपालीमा मिल्ने उस्तै शब्द नभए पनि बुलिङ भन्नाले कसैलाई बारम्बार डर, त्रास वा पीडा दिनु, सताउनु, धम्क्याउनु वा हानि पुर्याउने उद्देश्यले गरिने शारीरिक, मानसिक वा भावनात्मक दुर्व्यवहारलाई जनाइन्छ। यस्तो व्यवहार प्रायः शक्ति असन्तुलनको आधारमा गरिन्छ, जहाँ पिडक सामाजिक, शारीरिक वा मानसिक रूपमा बलियो हुन्छ भने पीडित कमजोर, डरपोक वा असहाय हुन्छ। बुलिङको प्रत्यक्ष असर पीडितको आत्मसम्मान, आत्मविश्वास, मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धमा नकारात्मक रूपमा पर्न जान्छ । बुलिङ मूलतः विद्यालय, कार्यस्थल, घर, अनलाइन वा कुनैपनि सामाजिक वातावरणमा हुन सक्छ ।
बुलिङका विभिन्न रूपहरूमध्ये शक्ति असन्तुलनका कारण कसैलाई पिट्ने, धकेल्ने, वा अन्य शारीरिक हानि पुर्याउने कार्य शारीरिक बुलिङभित्र पर्दछ। मानमर्दन हुने गरी नाम बिगार्ने, उपहास, अपमानजनक टिप्पणीहरू गर्ने, वा गालीगलौज गर्ने मौखिक बुलिङको रूप हो। यसैगरी कसैलाई समाजबाट एक्ल्याउने, बहिष्कार गर्ने, अफवाह फैलाउने, अरूलाई उसको विरुद्ध उक्साउने जस्ता व्यवहार सामाजिक बुलिङ हुन् भने इन्टरनेट वा सामाजिक सञ्जालमार्फत अपमानजनक वा हीनता जनाउने सन्देश, तस्बिर वा सामग्री पठाउने व्यबहार साइबर बुलिङ हो।
बुलिङ : एक सामाजिक अपराध
पद, वरिष्ठता, धन र समूहका कारण बलियो अवस्थामा रहेको व्यक्तिले आफूभन्दा कमजोर अवस्थामा रहेको व्यक्तिलाई शारीरिक, मानसिक, सामाजिक या आर्थिक रुपले दुःख दिने चलन हरेक समुदायमा व्याप्त छ। यसले समाजमा सहिष्णुता, सम्मान र समानताको आधारभूत मूल्यहरू कमजोर पार्छ। हरेक व्यक्तिलाई सम्मान र सुरक्षा पाउने अधिकार हुन्छ, तर बुलिङले त्यो अधिकार हनन गर्छ, जसका कारण यसलाई मानवअधिकारको गम्भीर उल्लङ्घनको रूपमा लिन सकिन्छ । बुलिङले अरूको आत्मसम्मान, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध, र सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले यो एक गम्भीर सामाजिक अपराध हो ।
धेरै देशहरूले साइबर बुलिङ, जातीय वा लैङ्गिक भेदभावपूर्ण बुलिङलाई कानुनी रूपमा दण्डनीय अपराध मानेका छन्। नेपालमा पनि विद्यालय तहमा लागू भएको बालअधिकारसम्बन्धी ऐन, २०७५ अनुसार शारीरिक वा मानसिक हिंसा निषेध गरिएको छ। यदि कसैले बुलिङमार्फत गम्भीर शारीरिक वा मानसिक क्षति पुर्याउँछ भने, कानुनी प्रक्रियामा ल्याउन सकिन्छ।
समाजमा बुलिङलाई गम्भीर रूपमा लिनु र यसको विरुद्ध सक्रिय पहल गर्नु अत्यावश्यक छ, किनभने यसले पीडितको व्यक्तित्व विकास, शैक्षिक यात्रा र दीर्घकालीन मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। बुलिङ केवल व्यक्तिगत व्यवहार मात्र होइन, सामाजिक न्याय र सहअस्तित्वका लागि खतरनाक प्रवृत्ति हो । त्यसैले, यसलाई सामाजिक अपराधकै रूपमा हेर्नु आवश्यक छ ।
विद्यार्थीमाथि हुन सक्ने बुलिङका स्वरूप
बालबालिका र विद्यार्थीहरू प्रत्यक्ष वा परोक्ष रूपमा विभिन्न स्थान र व्यक्तिहरूबाट बुलिङको शिकार हुन्छन्। यसको स्वरूप र स्रोत विभिन्न किसिमका देखिन्छन्:
१. स्थानका आधारमा: कक्षाकोठामा शिक्षकको अनुपस्थितिमा सहपाठीहरूद्वारा नाम बिगार्ने, गिज्याउने, धम्क्याउने जस्ता व्यवहार देखिन्छन्। खेलमैदानमा खेलबाट निकाल्ने, धकेल्ने, अपमान गर्नेजस्ता शारीरिक दुर्व्यवहार हुन्छन्। डाइनिङ हल, शौचालय वा सुनसान स्थानमा डर देखाउने, धम्की दिने वा आक्रमण गर्ने घटनाहरूजस्ता गतिविधिहरू सामान्य हुन्छन्। ट्युसन सेन्टरमा नयाँ वा कमजोर विद्यार्थीलाई अलग्याउने, हेप्ने, समूह बनाएर बहिष्करण गर्ने प्रवृत्ति पाइन्छ। विद्यालयका बस–भ्यानहरूमा बस्न नदिने, कुराकानीमा सामेल हुन नदिने व्यवहारहरू पनि हुन्छन्। छरछिमेक वा समाजमा जातीय वा धार्मिक भेदभाव, गालीगलौज, उपहासले विद्यार्थीलाई असर पुर्याउँछ। सामाजिक सञ्जालमा झुटा अफवाह फैलाउने, अपमानजनक टिप्पणी गर्ने, फोटो/भिडियोको दुरुपनयोग गर्ने, ग्रुप च्याटमा एक्ल्याउने जस्ता साइबर बुलिङर घरमा हुने विभेद बाट विद्यार्थीहरू मानसिक रूपले प्रताडित भइरहेका हुन्छन्।
२. व्यक्तिका आधारमा: बुलिङ प्रायः समवयस्क वा नजिकका साथीहरूबाट हुने गर्छ। आफूलाई बलियो ठान्नेले कमजोरलाई हेप्ने, धम्क्याउने, एक्ल्याउने व्यवहार गर्छन्। विद्यालय वा होस्टेलमा सिनियरहरूले जुनियरलाई डर देखाउने, अनावश्यक काम लगाउने, मानसिक वा शारीरिक दण्ड दिने गर्छन्।कहिलेकाहीं शिक्षक वा विद्यालयका कर्मचारीहरूले पनि गाली गर्ने, उपेक्षा गर्ने वा होच्याउने व्यवहार देखाउने गर्छन्, जुन बुलिङकै एक रूप हो। त्यसैगरी, छिमेकी वा सामुदायिक गतिविधिमा सहभागी हुँदा बाहिरी व्यक्तिबाट पनि गाली, अपमान र हेपाइ सहनु पर्ने अवस्था आउन सक्छ।
बुलिङको भयावह अवस्था
तथ्यांकले देखाए अनुसारप्रत्येक वर्ष ३० लाखभन्दा बढी विद्यार्थी बुलिङको शिकार हुन्छन्, जसका कारण दैनिक झन्डै १ लाख ६० हजार किशोर–किशोरी विद्यालय छाड्न बाध्य हुन्छन्न्। अमेरिकामा १७ प्रतिशत विद्यार्थीले महिनामा दुईपटक वा सोभन्दा बढी बुलिङ भएको उजुरी गर्ने गरेका छन्। तर, चारमध्ये एक शिक्षकले यसलाई समस्या मानेका छैनन् र जम्मा ४ प्रतिशत समय मात्र हस्तक्षेप गर्छन्।१४ वर्षसम्म पुग्दा ३० प्रतिशतभन्दा कम केटाहरू र ४० प्रतिशतभन्दा कम केटीहरूले आफ्ना साथीसँग बुलिङको कुरा गर्छन्। ६७ प्रतिशतभन्दा बढी विद्यार्थीहरू विद्यालयको प्रतिक्रिया कमजोर भएको ठान्छन् भने ७१ प्रतिशतले यसलाई गम्भीर समस्या मान्छन्। कक्षा ४ देखि ८ सम्मका ९० प्रतिशत विद्यार्थीले बुलिङको अनुभव गरेका छन्। बुलिङका कारण १० मध्ये १ जना विद्यार्थी विद्यालय नै छाड्छन्। केटाहरू पीडितप्रति कम सहानुभूति राख्छन् र कहिलेकाहीं समस्या झन् बढाउँछन्। शारीरिक बुलिङ बाल्यकालमा बढ्ने, मिडिल स्कुलमा उच्च हुने र माध्यमिक तहमा घट्ने गर्छ; तर मौखिक दुव्र्यवहार भने स्थिर रहन्छ।
सन् २०२० मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले १३ देखि १७ वर्ष उमेर समूहका ५,८८८ र १८ वर्षमाथिका ९,००२ किशोरकिशोरी माथि गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणमा ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्याको विचार आउने गरेको तथ्य देखाएको थियो। जसको मुल कारण उनिहरु माथि हुने गरेको प्रत्यक्ष परोक्ष बुलिङ नै हो ।
विद्यार्थीको पढाइमा बुलिङको प्रभाव
बुलिङले विद्यार्थीको पढाइमा गम्भीर नकारात्मक असर पार्न सक्छ । यसले विद्यार्थीलाई कमजोर, तनावग्रस्त र असुरक्षित महसुस गराउँछ । बुलिङको शिकार भएका विद्यार्थीहरूको आत्मसम्मानमा ठूलो धक्का लाग्छ। उनीहरूलाई आफ्नै क्षमतामा विश्वास रहँदैन, आत्मविश्वास कमजोर हुन्छ, जसले गर्दा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुन्छ । मानसिक तनाव र चिन्ताका कारण उनीहरूले कक्षामा राम्रोसँग ध्यान दिन सक्दैनन्, जसको प्रत्यक्ष असर उनीहरूको ग्रेड, परीक्षा परिणाम र शैक्षिक उपलब्धिमा देखिन्छ। बुलिङका कारण कतिपय विद्यार्थी विद्यालय जानै डराउँछन् वा कक्षा छोड्ने प्रयास गर्छन् । यस्तो अवस्थाले उनीहरूको पढाइमा निरन्तरता टुट्छ, जसले विद्यालयमा अनुपस्थित दर बढाउँछ र अन्ततः शैक्षिक स्तरमा गिरावट ल्याउन सक्छ ।
बुलिङको शिकार भएका विद्यार्थीहरू एक्लोपन महसुस गर्छन् र अरूसँग घुलमिल हुन गाह्रो मान्छन्। यसले उनीहरूको सामाजिक र शैक्षिक वातावरणमा नकारात्मक असर पार्छ ।बुलिङका दीर्घकालीन प्रभावहरू पनि गम्भीर हुन्छन्—चिन्ता, डिप्रेशन, र आत्महत्यासम्मका सोच विकसित हुन सक्छन्, जसले पढाइलाई पूर्ण रूपमा अवरुद्ध गर्न सक्छ । साथै, टाउको दुखाइ, निद्रामा समस्या, पेट दुखाइजस्ता शारीरिक समस्या पनि देखिन सक्छन्, जसले अध्ययनमा ध्यान दिन झनै असम्भव बनाउँछ ।
विद्यालयमा वुलिङ नियन्त्रण गर्ने उपायहरू
वुलिङ नियन्त्रण गर्न शैक्षिक संस्था, अभिभावक, शिक्षक र समाज सबैको समन्वित प्रयास आवश्यक हुन्छ। यसका लागि विभिन्न प्रभावकारी उपायहरू अपनाउन सकिन्छ, जुन निम्नानुसार छन्:
१. विद्यालयले वुलिङ रोक्नका लागि स्पष्ट नीति तथा निर्देशिका तयार पार्नुपर्छ । यस्तो नीति विद्यार्थी, शिक्षक र अभिभावक सबैमा स्पष्ट रूपमा पुर्याइनु आवश्यक छ। वुलिङविरुद्धका नियमको उल्लङ्घन भएमा लागु हुने कारबाहीका प्रक्रिया पनि स्पष्ट र पारदर्शी हुनुपर्छ ।
२. वुलिङका प्रभाव र यसको कानुनी परिणामबारे विद्यार्थी, शिक्षक र अभिभावकलाई जानकारी दिन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । मानसिक स्वास्थ्य विज्ञहरूसँग मिलेर वर्कशप तथा तालिम कार्यक्रमहरू आयोजना गर्न सकिन्छ।
३. विद्यालयमा सहयोगी, समावेशी र समानतामूलक वातावरण निर्माण गर्नु अत्यावश्यक छ । सबै विद्यार्थीलाई सम्मानका साथ व्यवहार गरिने संस्कार विकास गर्नुपर्छ। विद्यार्थीबीच सहयोग, मित्रता र सहिष्णुतालाई प्रोत्साहन गर्ने क्रियाकलाप आयोजना गर्न सकिन्छ ।
४. सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममा हुने वुलिङ रोक्न विशेष ध्यान दिनुपर्छ । साइबर वुलिङबारे विद्यार्थीलाई शिक्षा दिने, सुरक्षित इन्टरनेट प्रयोगबारे जानकारी गराउने र यस्ता घटनाको रिपोर्टिङ प्रक्रिया सरल तथा गोप्य बनाउनुपर्छ ।
५. बुलिङका घटना रिपोर्ट गर्न सहज, विश्वासिलो र गोप्य प्रणालीको विकास गर्नु आवश्यक छ । शिक्षक तथा विद्यालय प्रशासनले विद्यार्थीहरूको व्यवहारमा सतर्क निगरानी राख्नुपर्छ, ताकि वुलिङको पहिचान तुरुन्त गर्न सकियोस् ।
६. बुलिङको शिकार भएका विद्यार्थीलाई मानसिक तथा भावनात्मक परामर्श उपलब्ध गराउनु जरुरी हुन्छ। उनीहरूलाई आत्मविश्वास बढाउने, समस्या समाधान गर्ने सीप विकास गराउने तथा डरमुक्त वातावरण प्रदान गर्नुपर्छ ।
७. अभिभावकले आफ्ना वालबच्चाहरूको व्यवहारमा ध्यान दिनुपर्छ र वुलिङका लक्षणहरू चिन्न सक्नुपर्छ । बच्चा वुलिङको शिकार भएको खण्डमा विद्यालयसँग तत्काल समन्वय गर्नु आवश्यक छ। घरमै पनि सकारात्मक व्यवहार सिकाउने वातावरण बनाउनुपर्छ ।
८. बुलिङ नियन्त्रणका लागि समाजको सहयोग अपरिहार्य छ । समुदायका सदस्यहरूले वुलिङ विरुद्ध जागरूकता फैलाउनुपर्छ । स्थानीय संस्था तथा सरकारी निकायहरूले वुलिङ रोकथामका लागि विशेष अभियान, कार्यक्रम तथा नीति ल्याउनुपर्छ ।
यी उपायहरू अपनाउँदा वुलिङका घटना न्यूनीकरण हुन सक्छन् । यसले शैक्षिक संस्थाहरूलाई सुरक्षित र समावेशी बनाउन तथा समाजमा सहयोगी र मित्रतापूर्ण सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउँछ ।बुलिङलाई रोक्न शैक्षिक संस्थाहरूले विद्यार्थीहरूसँग नियमित संवाद गर्नु, संवेदनशीलता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गर्नुआवश्यक छ ।
निष्कर्ष
बालबालिकामाथि हुने हेपाइ अर्थात् बुलिङका परिणाम बारे विद्यालयमा खासै चर्चा चल्दैन । यसबारे धेरै अध्ययन–अनुसन्धान पनि भएको छैन ।तथापि विद्यालयहरूमा देखापर्ने बुलिङ आजको शैक्षिक वातावरणमा एक गम्भीर र विकराल समस्या बनेको छ । यसले विद्यार्थीहरूको मानसिक स्वास्थ्य, शैक्षिक उपलब्धि, सामाजिक सम्बन्ध र दीर्घकालीन भविष्यमा गहिरो प्रभाव पार्दछ । बुलिङको असर केवल पीडितमा मात्र होइन, पिडकमाथि पनि पर्दछ—उनीहरू हिंसात्मक सोच, व्यवहार र सामाजिक विकृतिको शिकार बन्ने सम्भावना रहन्छ । यस समस्याको समाधान केवल एक पक्षीय प्रयासबाट सम्भव छैन । विद्यालय, अभिभावक, समुदाय र नीति निर्माताबीचको आपसी समन्वय, सतत चेतना अभिवृद्धि, स्वअनुशासन, र प्रभावकारी परामर्श प्रणालीको स्थापना अत्यावश्यक छ ।बुलिङ नियन्त्रणका लागि शिक्षाको माध्यमले मात्र होइन, सह-अस्तित्व, सम्मान र सहिष्णुताको संस्कार विकास गर्न सकियो भने मात्र यस समस्याको दीर्घकालीन समाधान सम्भव हुन्छ ।
लेखक गण्डकी बोर्डिङ स्कुल र गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स, लामाचौर, पोखराका पूर्व प्राचार्य हुन्।