अस्टिनमा नेपथ्यको धमाकेदार सुरुवात, ‘कर्णालीका छाइला’ पहिलो पटक लाइभ प्रस्तुत

अस्टिनमा नेपथ्यको धमाकेदार सुरुवात, ‘कर्णालीका छाइला’ पहिलो पटक लाइभ प्रस्तुत
+
-

अस्टिन (अमेरिका)– नेपाली लोक रक ब्यान्ड नेपथ्यले अमेरिकाको अस्टिन सहरमा शनिबार राति आफ्नो यस वर्षको अमेरिका यात्राको पहिलो कन्सर्ट प्रस्तुत गरेको छ। टेक्सासको राजधानीस्थित ‘इमोज’ हलमा भएको कन्सर्टमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कन्सर्टको विशेष आकर्षण नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्णालीका छाइला’ को पहिलो लाइभ प्रस्तुति थियो। नयाँ गीत सुन्दा दर्शकहरू निकै उत्साहित देखिएका थिए। ब्यान्डले यो प्रस्तुतिसँगै अब यो गीत युट्युबमार्फत सबैले निःशुल्क सुन्न र हेर्न पाउने घोषणा गरेको छ। यसअघि एक सातासम्म नेपथ्यका प्रशंसकहरूले यो गीत शुल्क तिरेर सुनेका थिए।

नेपथ्यको व्यवस्थापन संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘ब्यान्डलाई भरथेग गर्न मन पराउने दर्शकका लागि हामीले पहिलोपटक गरेको सशुल्क हेर्न पाउने व्यवस्था धेरैले रुचाएको पाइयो। आम दर्शकबाट नेपथ्यप्रति प्रस्तुत यो संरक्षकत्वलाई हामी हार्दिकताका साथ स्वागत गर्छौं।’ गीत सुनेबापत ब्यान्डलाई आर्थिक सहयोग गर्न चाहनेहरूका लागि भने ‘डिजिटल पेमेन्ट’ को विकल्प खुला राखिएको छ।

स्थानीय समय अनुसार बेलुकी ८ बजे इमोज हलको ढोका खोलिएको थियो भने ठीक एक घण्टापछि पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’ गीत बज्न थालेको थियो। त्यसलगत्तै मञ्चमा आएको ब्यान्डले ‘कोशीको पानी’ बाट आफ्नो प्रस्तुति सुरु गरेको थियो।

आठौं क्रममा ‘शिरफूल’ सुनाएपछि ब्यान्डले ‘कर्णालीका छाइला’ प्रस्तुत गरेको थियो। दुई घण्टा लामो कन्सर्टमा परिवारसहित उपस्थित हुने दर्शकहरूको उल्लेख्य सहभागिता थियो। सान एन्टोनियोबाट डेढ घण्टा लामो यात्रा गरेर आएकी शिशिरा श्रेष्ठले भनिन्, ‘यस कन्सर्टले मलाई नेपालै पुगेको अनुभव गरायो। मञ्च पछाडिको पर्दामा नेपालका विभिन्न भेगका दृश्य देख्दा झनै रमाइलो महसुस गरेँ।’

अमेरिकाका सातवटा सहरमा लगातार कन्सर्ट गर्ने योजनासहित ब्यान्ड यसै साता टेक्सास आइपुगेको हो। अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट हो भने टेक्सासको अर्को सहर डालासमा ब्यान्ड यसअघि दुईपटक प्रस्तुत भइसकेको छ। कन्सर्टमा सान एन्टोनियोकै नेपाली एसोसिएसनकी अध्यक्ष अनु रिमाल साथीहरूको समूहसहित उपस्थित थिइन्।

उनले भनिन्, ‘दर्शकलाई आपसमा जोड्ने यो एकदमै गजबको अवसर पनि बन्यो। यति रमाइलो पहिले कहिल्यै लागेको थिएन।’ नेपाली चलचित्र निर्देशक नारायण पुरी पनि दर्शकदीर्घामा थिए। उनले भने, ‘नेपथ्यको कार्यक्रम राम्रो हुन्छ भन्ने मलाई पहिलेदेखि नै थाहा थियो। यस कार्यक्रमले हामी सबैलाई आफ्नो जरासँग लगेर जोडेको अनुभव भने सबैभन्दा विशेष लाग्यो।’

एक महिना लामो यात्राको कार्यसूचीसहित सातौं पटक अमेरिकाको यात्रा गरिरहेका मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमार्फत ब्यान्डको यात्राबारे आफ्ना प्रशंसकहरूलाई जानकारी गराउँदै आएका छन्। कार्यक्रमभरि पटकपटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश भ्रमण गर्न पनि आह्वान गरे। उनले पैदलै गाउँबस्ती घुम्दा कतिपय गीत संकलन गर्ने अवसर पाएको जानकारी पनि दिए।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए। आयोजक मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने, ‘नेपथ्यको यस वर्षको अमेरिका यात्राको पहिलो शो शनिबार उत्साहजनक बन्यो। यसपछिका शोहरू झनै भव्य हुने विश्वास छ।’

अमेरिका यात्राको दोस्रो प्रस्तुति क्यानाडासँग सिमाना जोडिएको उत्तरी वासिङटन राज्यको सबैभन्दा ठूलो सहर सियाटलमा मे २३ मा हुनेछ। त्यहाँको ‘मुर थिएटर’ मा बेलुकी ७ बजे हलको ढोका खोलिनेछ। त्यसपछि ब्यान्ड मे २६ मा क्यालिफोर्नियाको लस एन्जलस, ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, ११ मा म्यासाचुसेट्सको बोस्टन हुँदै अन्तिममा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा प्रस्तुत हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?