
झापा— कुनै समय सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै नाक खुम्च्याउने झापाको बिर्तामोडमा अहिले अवस्था फेरिएको छ। बिर्तामोड नगर अस्पतालले गुणस्तरीय र विविध सेवा प्रदान गर्न थालेपछि नगरवासीको आकर्षण ह्वात्तै बढेको छ। हाल दैनिक ४ सयदेखि ५ सय जनाले यहाँबाट स्वास्थ्य सेवा लिइरहेका छन्।
नगर प्रमुख पवित्रा महतारा प्रसाईंले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकता दिएको बताएकी छन्। “चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ,” उनले भनिन्, “नयाँ भवन निर्माणमा ढिलासुस्तीका कारण केही समस्या भइरहेको छ।”
निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको उनले गुनासो गरिन्। हाल १५ शय्याको रहेको नगर अस्पताललाई २५ शय्याको बनाउने लक्ष्य रहेको छ।
नगर अस्पतालको प्रभावकारी सेवा प्रवाहका कारण विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधिहरू आउने गरेको नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए।
अस्पतालले चाँडै डायलाइसिस सेवा पनि सञ्चालन गर्ने तयारी गरेको छ। यसका लागि ६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भइसकेको उनले जानकारी दिए।
नगरपालिकामा एक नगर अस्पताल र आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रहरूबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ। ३ करोड ९६ लाख रुपैयाँको लागतमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन्।
नगर अस्पतालको भवन निर्माण १५ करोड ३४ हजार रुपैयाँको लागतमा भइरहेको नगर प्रमुख प्रसाईंले बताइन्। भवन निर्माण सम्पन्न भएपछि यसलाई २५ शय्यामा स्तरोन्नति गरिनेछ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टका अनुसार, आधारभूत स्वास्थ्य केन्द्रहरूबाट १२७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको छ। हालसम्म नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत ८९ हजार ७ सय ६४ जनाले स्वास्थ्य सेवा लिइसकेका छन्।
बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’ मा झरेको विष्टले बताए। नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ भने चिकित्सकसहित ६० जनाको जनशक्ति कार्यरत छन्।