
एक जना साथीले व्यंग्य कस्दै भनेका थिए, ‘यदि नेपालको पहाडलाई आइरन लगाउने हो भने यो फैलिएर एसियाभन्दा ठूलो हुन्छ र उकाली–ओराली गर्न घण्टाैँ समय बिताउनु पर्दैन।’
पहाडलाई सम्म पार्न नमिले पनि पहाडको टुप्पो र फेदमा सजिलोसँग हिँड्न हामीले ढुंगे सिँडी प्रयोग गर्दै आएका छाैँ। चारपाटे छिनेका ढुंगाको सिँडी पहाडका मानिसको उकालो र ओरालोको साक्षी बनिरहेको छ। गाउँ, बेंसी र मेलापात मात्र नभएर लाखौँ स्वदेशी र विदेशी पदयात्रीले यस्तै ढुंगे सिँडीमा पाइला चाल्दै आफ्नो गन्तव्यमा पुगिरहेका छन् । बटोको बीचबीचमा सुस्ताउने चौतारी, चिटिक्क छिनेको चारपाटे, सग्ला र फराकिला ढुंगे सिँडी नेपालको पदयात्रामा एक विशिष्ट र मौलिक पहिचान बनेको छ। यही मौलिक तथा विशिष्ट चिनारी बोकेर ढुंगे सिँडीले सगरमाथाको देशबाट उत्तरी धु्रवीय देश नर्वेमा समेत पदयात्रीलाई सेवा दिन थालेको दुई दशक पुगिसकेको छ।
हिमवत्खण्डअन्तर्गतको नेपालको हिमाली तथा पहाडी क्षेत्रमा विकसित भएको मौलिक तथा रैथाने ढुंगे सिँडी पहाडै पहाडको अर्को युरोपेली देश नर्वेमा शेर्पाट्राप्पा(शेर्पा सिँडी)को नामले हाल प्रख्यात छ।
नर्वेमा छिनेको सिँडीलाई नर्वेजियनले शेर्पा ट्राप्पाको नाम दिएका छन् भने अंग्रेजीमा शेर्पाट्रेल भनेर सबैले चिन्ने गरेका छन्। शेर्पा ट्राप्पाको अर्थ हुन्छ शेर्पा सिँडी। सन् २००५ देखि नेपाली शेर्पा समुदायले ढुंगे सिँडी बनाउन थालेयता हालसम्म नर्वेभरि भिन्न–भिन्न ठाउँमा गरी १२० भन्दा बढी सिँडी बनाइसकिएको छ भने अरु २०० भन्दा बढी योजना अगाडि बढिरहेका छन््। विश्वको सबैभन्दा लामो सिँडी भनेर चर्चा गर्नेदेखि विश्वको धेरै सिँडी हुने देश भनेर नर्वेलाई भन्न थालिएको छ।
नर्वे प्राकृतिक सम्पदाको हिसाबले धनी देश मानिन्छ। सयौँ ताल, झरना, अग्ला चुचुरोबाट देखिने मनोरम दृश्य, गहिरा खोंच (फोर्ड) कोणधारी वन, रातमा सूर्य उदाउने देश, नर्दन लाइट देखिने देश आदिले नर्वे प्रख्यात छ।
धेरै भ्युपोइन्टमा जाँदा उक्लने र ओर्लने क्रममा पदयात्रीको कारण भूक्षय हुने कुराले नर्वेका वातावरण र संरक्षणकर्मीलाई चिन्तित बनाएको थियो।
हरेक वर्ष बाटो बिग्रनुका साथै वनस्पति र वातावरणमा समेत क्षति गर्दै आएको कुराले अन्य संरक्षणकर्मीलाई जस्तै गेयर भेट् नामका नर्वेजियन किसानलाई वाक्क बनाएको थियो।
सगरमाथासम्बन्धी डकुमेन्ट्री हेर्दै गर्दा ढुंगे सिँडीको अवधारणाले प्रभावित भएका उनलाई नर्वेमा पनि यस्तै सिँडी बनाउन पाए हुन्थ्यो भन्ने सोच आएछ।
दुई दशकको अवधिमा गेयरको सोचलाई नर्वेमा लागू गर्न सोलुखुम्बु जिल्लाको सयौँ शेर्पा दाजुभाइले योगदान गरिसकेका छन्। यसैको फलस्वरुप नर्वेले हाल पदयात्राको क्षेत्रमा लाखाैँ आन्तिरक र बाह्य पर्यटक भित्र्याएको छ। पदयात्री बढ्नुमा यही शेर्पा ट्रेलको प्रमुख भूमिका भएको सबैले विश्वास गर्छन्।
वातावरणमैत्री ढुंगे सिँडी
नेपाली पहाडमा जस्तै नर्वोका डाँडाकाँडामा पनि प्रशस्त ढुंगा पाइन्छ। बाटो बनाउँदा वरपरका ढुंगा फोडेर सिँडीमा प्रयोग गरिन्छ। सिँडीमा प्रयोग हुने ढुंगा कुनै औद्योगिक सामग्री पनि होइन। ती ढुंगा ढुवानी गर्नु पनि पर्दैन। त्यसैले यो ढुंगे सिँडी बनाउने कार्य शतप्रतिशत वातावरणमैत्री हो भनेर ठोकुवा गर्न सकिन्छ।
सिँडी बनाउने क्रममा ज्यादै नगन्य मात्रामा वातावरणीय क्षति हुन्छ र यसका लागि कुनै मेसिन पनि प्रयोग गर्नु पर्दैन, त्यसैले यो जलवायुमैत्री छ। कम कार्वन उत्सर्जनको प्रविधि प्रयोगमा विश्वका राष्ट्रले जोड गरिरहेको सन्दर्भमा यो वातावरणमैत्री ढुंगे सिँडीको बाटो पदयात्राका लागि अत्यन्त फलदायी पनि छ।
प्रकृतिको दिगो उपयोगको हिसाबले यो ढुंगे सिँडी नर्वेभरि प्रेरणा र उत्तम नमुना बनिरहेको छ। नर्वे पनि स्वच्छ ऊर्जातर्फ द्रुत गतिले लम्किरहेको छ । र, आफ्नो सम्पूर्ण विकासको गतिविधिमा कम कार्वन उत्सर्जन हुने प्रविधि र सामग्रीमा प्रयोग गरिरहेको सन्दर्भमा यो नेपालको रैथाने विधि पदयात्राको क्षेत्रमा ‘रामबाण’ सावित हुँदै गएको पाइन्छ।
विश्वमा फैलिँदै, हामीले त्याग्दै
तत्कालीन मन्त्री रामकुमारी झाँक्रीले दुई वटा तस्बिर राखिन् र तुलना गर्दै सोधिन्, ‘कुनचाहिँ राम्रो होला? पहिलो तस्बिर थियो ढुंगाको छपनीले छापेको सिँडी भएको बाटो। अर्को थियो कंक्रिटको सिँडी भएको बाटो।
नेपालको पहाडी भूभागमा प्रायः राम्रा, चिल्ला र सर्लक्क परेका छपनीले सिँडी छापिन्थ्यो । यी बाटा सयौँ वर्षदेखि चलनमा छन्। यस्ता बाटो फराकिला र पहाडी उकालो चढ्न सहज हुन्थे। यी पैदल हिँड्न बनाइएका हुन्। स्थानीय क्षेत्रमा पाइने ढुंगा र माटोबाट यी सिँडी निर्माण गरिन्छन्। यो नेपालको रैथाने र मौलिक ढाँचाको सिँडी शैली हो। यस्ता सिँडी पहाडी भूभागमा समुदाय स्तरमा सबैतिर बनाइन्छन्। तर, हिजोआज सहर, बजार र गाउँघरमा पनि यस्ता रैथाने ढुंगाको सिँडी नबनाई कंक्रिटको सिँडी प्रयोग गर्न थालिएको छ। तलुनात्मक अध्ययन गर्ने हो भने ढुंगाको सिँडी बलियो, वातावरणमैत्री र कम खर्चिलो हुन्छ।
स्थानीय क्षेत्रमा पाइने ढुंगाको प्रयोग पनि हुने र ढुंगाको सिँडी बनाउँदा वातावरणलाई कुनै क्षति गर्दैन। तर, सिमेन्टको सिँडी वातावरणमैत्री हुँदैन। उद्योगमा सिमेन्ट बन्ने प्रक्रियादेखि ढुवानीको हिसाब गर्ने हो भने यो ज्यादै वातावरण प्रतिकूल देखिन्छ।
कंक्रिटको आयु ढुंगाको भन्दा थोरै हुन्छ। नेपालको परम्परागत मौलिक तथा रैथाने शैली राम्रो बलियो र प्रभावकारी हुँदाहुँदै हामी विकासको नाममा कंक्रिट भर्नेतिर लागेका छौँ । यसले मौलिकता जोगाउने अभियानमा लागेकाहरूलाई चिन्तित बनाउँछ। कंक्रिटले नेपालको मौलिकता मास्दै गएको यो एउटा उदाहरण हो।
रैथाने र मौलिक शिल्पको वैश्विकीकरण
कुनै एक समुदायमा वा ठाउँ विशेषमा सफलतापूर्वक प्रयोग भएको यस्तो परम्परागत र मौलिक ढुंगे शैलीको सिँडी आधुनिक रुपमा विकसित भनिएको स्क्यान्डेभिन मुलुकमा पनि फैलिनु हाम्रा लागि गौरवको कुरा हो, त्यो पनि हाम्रो नाम जोडिएर।
विकास र उन्नति गर्ने क्रममा यदि यस्ता रैथाने तथा मौलिक शैली अत्यन्त उपयोगी छन् भने यसलाई निरन्तरता पनि दिनुपर्छ। यस्तो मौलिक शैलीमा स्थानीयको पहिचान र अपनत्व पनि झल्कन्छ। मौलिक शैलीको प्रयोगमा धेरै अर्थमा लाभदायी पनि हुन्छ। विकसित मुलुकबाट सधँै आधुनिक विज्ञान र प्रविधि भित्र्याइरहेको सन्दर्भमा हाम्रो रैथाने शैली विश्वमाझ फैलाउनु हाम्रो सफलता पनि हो।
नेपालमा जरोकिलो महाअभियान चालेको हिमवत्खण्डको पुनर्जागरणको सन्दर्भमा यो हिवत्खण्डको वैविद्य शिल्प कला रैथाने वस्तुको विश्वव्यापीकरण हुनुले यस अभियानको महत्व अझ सान्दर्भिक भएको छ। नेपालको मौलिक शैलीलाई मानक मानेर विश्वका अन्य राष्ट्रले पनि यसलाई अनुकरण गरेर लाभ लिन सक्छन्।
नर्वेको आन्तरिक पर्यटनमा क्रान्ति
थोरै संख्याको पर्यटक आउजाउ हुने नर्वेली अग्ला डाँडा, भ्युपोइन्ट र पैदलमार्ग हिजोआज भरिभराउ हुने गर्छ। बाक्लो पर्यटकीय गतिविधि हुने सबै पहाडी पैदलमार्गसहितको गन्तव्यमा याने कि भ्युपोइन्टमा शेर्पा सिँडी निर्माण गरिसकिएको छ।
पहिले फाट्टफुट्ट पैदलयात्री देखिने बाटो हिजोआज खचाखच हुने गरेको छ। सुस्त–सुस्त हिँडेर सहजै पर्वतको टुप्पोमा पुगिने हुनाले केटाकेटीदेखि बूढाबूढीसम्म हिजोआज बाक्लो चहलपहल हुँदै छ। यसले परिवार तथा साथीभाइसँग हुने घुमघामको वृद्धि, प्राकृतिक दृश्यावलोकन ह्वात्तै बढेको छ।
स्थानीय र राष्ट्रिय पर्यटन व्यवसायी र सरकारी क्षेत्रबाट शेर्पा ट्रेलको प्रचार महत्वकासाथ गरिएको छ। रातमा सूर्य उदाउने देश भनेर नर्वेलाई चिन्ने गरिएको छ भने नर्दन लाइट हेर्न पनि विश्वभरिका पर्यटक उत्तरी नर्वे पुग्छन्।
शेर्पा ट्रेलबाट रातका सूर्य हेर्नुहोस्, शेर्पा ट्रोल र नर्दन लाइट भनेर टुर प्याकेजको विज्ञापन गरेको देखिन्छ। पैदलयात्रीले हिँड्ने क्रममा ‘शेर्पा ट्रेल मेड बाई शेर्पा’ लेखेको देख्न सक्छन्। यस्तो लेखेको देखेपछि नेपाल र शेर्पाप्रति पदयात्रीको चासो बढेको पाउन सकिन्छ।
मौलिकताको फैलावटसँगै रोजगारको अवसर
शेर्पा समुदायका धेरै मानिसले यस शेर्पा सिँडी बनाउने क्रममा रोजगारको अवसर पाएका छन््। नर्वेमा काम गरेर सोलुखुम्बुमा पुग्ने रेमिट्यान्सले धेरैको आर्थिक पाटो सहज भएको छ। यसै कामको योगदानस्वरूप स्थानीय क्षेत्रको स्वास्थ्य र शिक्षामा लगानी थपिएको छ।
मौलिकता र अन्तर्राष्ट्रिय सम्बन्ध
भनिन्छ, राजनीतिले समाज र देशलाई विभाजित गर्छ भने संस्कृतिले देश र समाजलाई जोड्छ। हिमवत्खण्डमा प्रादुर्भाव भएको हाम्रो पुर्खाको योगदान योग, आसन, प्रणायाम र ध्यान अभ्यासबाट हाल विश्वका मानिसले लाभ लिइरहेका छन्।
यही माध्यमबाट विश्वका धेरै समुदायले सिक्ने र हामीले सिकाउने हुँदा एक प्रकारको गुरु–चेलाको सम्बन्ध वैश्विक तहमा स्थापित हँुदै छ। यस्तो लाग्छ कि पूर्वको दियोले पश्चिम उज्यालो हुँदै छ। हाम्रा तन्त्र र वैदिक सभ्यता सिक्न विश्वका विभिन्न विश्वविद्यालयले पाठ्यक्रममा यी विषय समावेश गरेका छन््।
हाम्रा मौलिक ज्ञानप्रति विश्वको रुचि बढ्दो छ। हाम्रा हिमाल, झरना र नदीमा गरिने साहसिक पर्यटन र पर्वतारोहणले स्थानीय र विश्व परिवारलाई जोडेको छ।
नेपालको मौलिक खानाले धेरै विदेशीको जिब्रो लोभ्याएको छ। लुम्बिनी तथा पशुपतिनाथले विश्वको बौद्ध र हिन्दू धर्मावलम्बीलाई जोड्दै र दुई देशको नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउँदै आएको छ।
हाल विश्व एकअर्कोमा निर्भर रहेको हुँदा कतिपय मुद्दा जलवायु परिवर्तनजस्ता साझा चुनौती पनि रहेका छन्। त्यस्ता साझा चुनौतीको समाधान यी र यस्तै वातावरणमैत्री उपायले हल गर्न सहयोगी हुन सक्छन्।
आफूले जानेको सीप विदेशमा प्रयोग गर्न पाउनु र विदेशीसँगको सहकार्य गर्दाको अनुभव तथा ज्ञान पनि आफूले सिक्न पाइएकोमा गर्व लागेको त्यहाँका शेर्पाले स्थानीय सञ्चार माध्यमलाई बताएका छन्। जसरी अरनिकोले तिब्बत तथा चीनमा आफ्नो मूर्तिकला देखाएर दुई देशको संस्कृति र वैदेशिक सम्बन्ध सुमधुर पारे त्यसैगरी यो शेर्पा ट्रेलले पनि नेपाल र नर्वेबीचको सम्बन्धमा अहं भूमिका खेल्न सक्छ।
०००००
हाम्रा मौलिक ज्ञानप्रति विश्वको रुचि बढ्दो छ। हाम्रा हिमाल, झरना र नदीमा गरिने साहसिक पर्यटन र पर्वतारोहणले स्थानीय र विश्व परिवारलाई जोडेको छ।