
झापा- झापाको मेचीनगर नगरपालिका–७ स्थित धुलाबारीको चिया बगान क्षेत्रबाट तामाको तारसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेकामा भारत दार्जिलिङ पानिट्याङकीका २७ वर्षीय तापच बरमण र २२ वर्षीय अमित सरकार रहेका छन्।
प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ८:४५ बजे उनीहरुलाई चेकजाँच गर्ने क्रममा चार मुठा तामाको तारसहित नियन्त्रणमा लिएको हो। बरामद तारको तौल करिब १०० केजी रहेको छ, जसको बजार मूल्य करिब ८० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा ती व्यक्तिहरूले तार मेचीनगर नगरपालिका–१३ चारआली क्षेत्रबाट चोरी गरेको स्वीकार गरेका छन्। नेपाल टेलिकम धुलाबारी शाखाले समेत उक्त क्षेत्रबाट बिजुलीको पोलमा जडान गरिएको कपर नेटवर्कको तार चोरी भएको निवेदन इलाका प्रहरी कार्यालय धुलाबारीमा दर्ता गराएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धानका लागि म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।