
विराटनगर- सुनसरीको बराह क्षेत्र नगरपालिकामा लागुऔषध गाँजा तस्करी नियन्त्रणका क्रममा गोली चलेको छ ।
विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका नगरपालिकाको ३ मा लागुऔषध गाँजा ओसारपोसार भइरहेको सूचना पाएसँगै प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रण लिने क्रममा गोली चलेको हो ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रहरीलाई देखेपछि केही भागेको र एक ब्यक्तिले भने प्रहरीमाथि हतियार प्रयोग गरेका थिए । सोही क्रममा प्रहरीले गोली चलाउन परेको बताउँदै उनले सोही स्थानका करिब ५५ वर्षीय रामप्रसाद लिम्बूलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
यसक्रममा प्रहरीले दुई राउण्ड हवाईफायर गरेको उनको भनाइ छ । यस क्रममा स्थिति थप आक्रमक बनेपछि प्रहरीले अर्को फायर खोल्नुपरेको उनले प्रस्ट्याए । घाइते लिम्बूलाई हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको बताइएको छ ।
उपचाररत घाइते लिम्बूको घुडा पिँडुलामा गोली लागेको बताइएको छ । घटनाबारे सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिनाको टोलीले अनुसन्धान गरिरहेको छ ।