
काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूलाई निर्देश गरे– ‘जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ।’
काठमाडौँ कति घण्टा एमालेको नियन्त्रणमा हुनुपर्छ ओलीले समय पनि तोकिदिए। उनले भने– ‘११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ।’ तीन घण्टा काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न वडाध्यक्षहरूले केके गर्नुपर्छ ती सबै तयारी गर्न निर्देशन दिए।
उनले भनेका थिए– ‘१५ गतेका लागि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के–के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्।’
१५ गते काठमाडौँमा राजसंस्था पक्षधरहरूले गणतन्त्र, संघीयताविरुद्ध आन्दोलन गर्दैछन्। राजसंस्था पक्षधरहरूको आन्दोलनलाई टक्कर दिने गरी काठमाडौँलाई कब्जामा राख्नुपर्ने ओलीको चाहना छ।
ओलीले अगाडि भने– ‘आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लगौँ।’ १५ गते गणतन्त्र दिवस हो। एमालेले दिवसका अवसरमा उत्सव कार्यक्रम मनाउने निर्णय गरेको छ।
गणतन्त्र दिवसका अवसरमा कार्यक्रम गर्दै ओली काठमाडौँलाई चार घण्टा नियन्त्रणमा राख्न चाहन्छन्। उनको नियन्त्रणमा राख्ने चाहना भने अहिले विवादमा परेको छ।
सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेसले ओलीको अभिव्यक्तिको विरोध गरेको छ। प्रधानमन्त्री तहबाट काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्नुपर्छ भन्ने अभिव्यक्ति शोभनीय नभएको कांग्रेसका नेताहरूले भनेका छन्।
कांग्रेस महामन्त्री गगनकुमार थापाले ओलीलाई उत्तेजक अभिव्यक्ति नदिन चेतावनी दिएका छन्। सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले भने– ‘कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन। जे जस्ता कुराहरु बाहिर सुनियो, आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस्।’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ओलीको अभिव्यक्तिको कांग्रेसले जिम्मा नलिने बताएका छन्। पदाधिकारी बैठकपछि निर्णय सुनाउँदै उनले भने, ‘प्रधानमन्त्री एमाले पार्टीको नेता पनि हुनुहुन्छ। सबै उहाँले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन। हामीलाई कब्जा सब्जामा ध्यान छैन।’
उनले राजसंस्थापक्षधरहरूले जेठ १५ गते गर्न लागेको प्रदर्शनप्रति लक्षित गर्दै संविधान बमोजिम विरोधका कार्यक्रम गर्न पाइने बताए। ‘हामी समग्र संविधानको प्रतिरक्षाको पक्षमा छौँ। संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुराहरू राख्न पाइन्छ’, उनले भने ‘तर, त्यो शान्तिपूर्ण तरिकाबाट राख्नुपर्दछ।’
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्रीले कब्जा गर्नुपर्ने शब्द प्रयोग गर्नु उचित नभएको बताए।
ओली अभिव्यक्ति हिंसा भड्काउ
राजसंस्था पक्षधरले काठमाडौँलाई नियन्त्रणमा राख्ने भनि दिएको अभिव्यक्ति हिंसा भड्काउ र असभ्य रहेको बताएको छ। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले आइतबार नै ओलीको अभिव्यक्तिलाई भुत्ते शासकको लुत्ते अभिव्यक्ति भएको बताएको छ।
समितले भनेको छ– ‘कुनै व्यक्ति प्रधानमन्त्री नै हो भने उसले आफ्नो पूरै देश सरहद नै आफ्नो नियन्त्रणमा छ भन्न सक्नुपर्छ तर निश्चित दिन निश्चित स्थान वा राजधानी नियन्त्रणमा लिनू भन्ने फरमान जारी गर्नु पराजित भुत्ते शासकको लुते अभिव्यक्ति हो।’
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको आपत्तिजनक अभिव्यक्तिमा विश्व समुदायको ध्यानाकर्षण पनि गरेका छन्।
लिङ्देनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘देशको प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, हिंसा भड्काउने, उत्तेजक र आपत्तिजनक छ। म सम्पूर्ण नागरिक समाज, मानव अधिकारसम्बन्धी संघ, संस्था, आयोग र विश्व समुदायको ध्यानाकर्षण गर्दछु।’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गते काठमाडौँलाई नियन्त्रणमा लिन ओलीले कार्यकर्ताहरूलाई दिएको निर्देशन पदीय गरिमा र जिम्मेवारी विपरीत भएको बताएका छन्।
मानव अधिकार आयोगको ध्यानाकर्षण
ओलीको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘जेठ १५ गते राजसंस्थापक्षधरले काठमाडौँमा आन्दोलन गर्न थालेको र त्यसै दिन सम्माननीय प्रधामन्त्री केपी शर्मा ओलीले काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने लगायत अभिव्यक्ति दिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्ति जारी गर्दै सोमबार आयोगले भनेको छ।
शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पार्टीले कुनै ठाउँ नियन्त्रणमा लिनुपर्छ भन्नु विधिको शासनविपरीत भएको विज्ञप्तिमा जनाइएको छ।
साथै यस्ता भड्काउ अभिव्यक्ति नदिन आयोगले सबैपक्षलाई अनुरोध गरेको छ।
के भन्छ एमाले?
प्रधानमन्त्री केपी शर्मा ओलीलेको अभिव्यक्ति विवादमा परेपछि एमालेले ओलीको अभिव्यक्तिको बचाउ गरेको छ।
एमालेका प्रमुख सचेक महेश बर्तौलाले जेठ १५ गते गणतन्त्र दिवस मनाउने सन्दर्शमा ओलीको अभिव्यक्ति आएको र त्यसलाई सोही रुपमा लिनुपर्ने बताए।
उनले कसैलाई निषेध भन्दा पनि गतन्त्रणविरुद्धका गतिविधिको विपक्षीमा गणतन्त्रका लागि लडेका शक्तिहरू स्वभाविक रुपमा उभिने बताए। ‘स्वभाविक रुपमा गणतन्त्रका लागि लडेका राजनीतिक पार्टी, यसका शक्तिहरू गणतन्त्रकै पक्षमा उभिने र त्यसका विरुद्धमा भएका विभिन्न खालका षड्यन्त्रहरूका विरुद्धमा उभिन्छन्’, उनले भने, ‘जसका कारण त्यही अर्थबाट यी विषयहरू सम्माननीयज्यू (केपी शर्मा ओली)ले राख्नु भएको हो।’
उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध गरिरहेको कांग्रेसप्रति कुनै टिप्पनी नरहेको बताए। ‘लोकतन्त्रमा आफूलाई के लाग्छ त्यो भन्न पाउने सुविधा सबैलाई छ। अरुले के भन्छ भन्ने कुरातर्फ हाम्रो कुनै प्रतिक्रिया छैन’, टेलिफोन सम्पर्कमा आएका बर्तौलाले भने।
जेठ १५ गते जनताको जीतको एउटा इतिहास भएकाले एमालेले सोहीरुपमा कार्यक्रम गरेर उत्सव मनाउने पनि बताए। एमालेले काठमाडौँसहित देशभरका पालिकामा गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ।