
झापा- झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाका पालिकाका जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरूलाई विपद्को सामनाका लागि तयारी अवस्थामा रहन झक्झक्याएका छन्।
सोमबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बर्षायाम सुरु भइसकेको अवस्थामा जिल्लाका पालिकाका प्रमुख तथा उपप्रमुख र सरकारी कार्यालयका प्रमुखहरूलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन उनले आग्रह गरे।
उनले भने, ‘यसपाली सरदर भन्दा बढी बर्षा हुने संभावना मौसमविद्हरूले बताइरहेका बेला तथ्याङ्क प्रस्तुत गरेर वस्तुस्थिति यो छ भनेर देखाउन खोजिएको हो। यसै अनुरुप हामीले तयारी अवस्थामा रहनुपर्ने अवस्था छ।’
कार्यक्रममा विपद्का बेला झापाको पहिलाको अवस्था र यसपालीको संभावित जोखिमका बारेमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रस्तुती दिएका थिए।
उनले विपद्को सामना गर्नका लागि गृह मन्त्रालयले सबै जिल्लामा औजार तथा सामाग्रीहरू राख्नुपर्ने सूची पठाए पनि सोको कार्यान्वयन कुनै वडा कार्यालयले नगरेको बताए।
उनले भने, ‘थोरै पैसा लाग्छ यी सामान किन्नका लागि। तर अहिलेसम्म हामीले भनेको कार्यान्वयन हुन सकेको छैन। गृह मन्त्रालयले लेखेर पठाएको कुरा पनि कार्यान्वयन भएन।’
गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०७८ असार १५ गते सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई वडामा चाहिने सामाग्रीहरूको सूचीसहितको पत्र पठाएको थियो। सोही पत्र अनुसार सबै पालिकाहरूलाई सामाग्री उपलब्धताका लागि परिपत्र गरिएको थियो। तर त्यही पत्र पालिकाहरूले हालसम्म कार्यान्वयन गरेका छैनन्।
हेर्नुहोस् पत्रः
झापामा ९ हजार घर परिवार बाढी तथा डुबानका कारण विस्थापित हुने संभावना रहेको ढकालले बताए। झापाका १५ वटै पालिका बाढी तथा डुबानबाट प्रभावित भए पनि राजमार्ग दक्षिणका पालिका बढी प्रभावित हुने गरेका र यसपाली त्यही संभावना कायम रहेको उनले जानकारी दिए। उनले जिल्लाका ९ स्थानमा वर्षा मापन केन्द्र रहेको जानकारी दिए। बढी बर्षा भएर जोखिम हुने वितिक्कै सर्वसाधारणका मोबाइल फोनमा सतर्कताका लागि म्यासेज जाने गरेको उनले बताए।
मौसम विज्ञान फिल्ड कार्यालय, झापाका मौसम विज्ञान सहायक सुमनराज भट्टराईले विपद् र जलवायु सम्बन्धी प्रस्तुतीमा पहिलेभन्दा बढी नै पानी पर्ने सम्भावना रहेकोले सोही अनुसार तयारीमा बस्नुपर्ने बताए।