
काठमाडौँ-आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौँको तीन ठाउँमा जितिया मनाउँदै छन्। थारू महिला सभा काठमाडौँ उपत्यका समितिले प्रज्ञाप्रतिष्ठान कमलादी, थारु महिला समाजले थापागाउँ र राष्टिय नाचघर जमलमा थारु सास्कितिक विकास मञ्चले एकै दिन जितिया महोत्सव मनाउन लागेका हुन।
सवमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष तारा चौधरीले नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मङ्गलबार ‘थारू राष्ट्रिय जितिया महोत्सव’ आयोजना गरिएको बताइन्।
आजदेखि १७ गते तीन दिनसम्म उक्त पर्व मनाइनेछ । मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ। हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन्। परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।
आज राति दर खाने अर्थात् लाहा खाने, अष्टमीका दिन मङ्गलबार उपवास बसी जितमहानको कथा सुन्ने, गाउँका महिला जम्मा भएर मौलिक नाच झमटा प्रदर्शन गर्ने गरिन्छ । नवमीमा जितमहान बाबा र घरको कुलदेवताको पूजाआजा गरी जितिया समाप्त हुने थारू विद्यार्थी सभाका केन्द्रीय सहसंयोजक प्रेमा चौधरीले जानकारी दिइन्।
पत्रकार सम्मेलनमा बोल्दै थारू युवा सभाका केन्द्रीय अध्यक्ष कानून चौधरीले तराईका जिल्लामा मनाइने जितिया पर्व थारू समुदायको मौलिक संस्कृति भएकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए।
थारू कल्याणकारिणी सभाका केन्द्रीय कार्यवाहक अध्यक्ष कनुलाल चौधरीले संस्कृतिको संरक्षणका लागि नै काठमाडौँमा पनि जितिया पर्व मनाउन थालिएको उल्लेख गरे। सो क्रममा थारू अगुवा डम्बरप्रसाद चौधरीले जितिया पर्वको महत्वका बारेमा जानकारी गराएका थिए।
जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन्।परिवारको स्वास्थ्य र असल पतिको कामनाका साथ गीत गाउँदै मीठो मसिनो खाएर यो चाड मनाउने परम्परा छ।