
काठमाडौँ– उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८१ को उत्तम शान्ति पुरस्कार ‘अक्षत अन्टार्कटिका’का लेखक जीवा लामिछानेलाई एक समारोहबीच हस्तान्तरण गरेको छ।
एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार निबन्धकार उत्तम कुँवर र उनकी पत्नी शान्ति कुँवरको स्मृतिमा २०४४ सालदेखि गैरआख्यान विधातर्फका पुस्तकलाई हस्तान्तरण गर्दै आएको छ।
लेखक नयनराज पाण्डेले सञ्चालन गरेको कार्यक्रममा समालोचक ज्ञानु पाण्डेले भनिन्, ‘पुस्तक अक्षत अन्टार्कटिकाले कल्पनाको उडान पनि यथार्थको नजिक छ। डरको बाबजुद पनि जोखिम मोल्न तयार हुने निडरहरुको कथा हो। केवल एक यात्रा संस्मरण नभएर, नेपाली साहित्यमा ज्ञान, विज्ञान पर्यावरणको कथा हो। मानवीय संवेदना र प्रकृितसँग नजिक हुन खोज्नेको कथा हो र जीवन्त लेखनशैलीले पाठकलाई पनि त्यो आकर्षक गराउँछ।’
त्यसैगरी लेखक पद्यमावती सिंहले ‘स्रष्टा र साहित्य’ नामक अन्तर्वार्ता कृतिका लागि २०२३ सालमा मदन पुरस्कार प्राप्त गरेका ‘रुपरेखा’का सम्पादक तथा निबन्धकार उत्तम कुँवर र शान्ति कुँवरको बारेमा चर्चा गरिन्।
अर्का लेखक एवं समालोचक वासुदेव त्रिपाठीले पनि लेखक उत्तम कुँवरबारे खुलेर प्रशंसा गरे। गुठीका अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमान्चक यात्रावृतान्त मार्फत् पर्यावरणजस्तो अहिलेको विश्वको सबैभन्दा सरोकारको विषयलाई सशक्तताका साथ बहसको विषय बनाउन सफल भएको’ भन्दै लामिछानेलाई पुरस्कृत गरेको बताए।
वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तमशान्ति पुरस्कार’ समर्पित गर्दै आएको छ।