दबाब बढाउँदै प्रतिपक्षी

गृहमन्त्री लेखकमाथि ओली-देउवाको टेको कहिलेसम्म?

गृहमन्त्री लेखकमाथि ओली-देउवाको टेको कहिलेसम्म?
+
-

काठमाडौँ – ‘कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो?’, शनिबार नै हो भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने संकेत गरेको।

बरु उनले गृह मन्त्रालयका कर्मचारीमार्फत गृह मन्त्रालयका माथिल्लो तहका व्यक्तिहरू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको भन्न लगाए।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार विज्ञप्तिमार्फत भनेका थिए, ‘कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ।’

मन्त्रालयका कर्मचारी र आफैले पनि भिजिट भिसा प्रकरणमा संलग्न नरहेको लेखक दाबी गर्दै आइरहेका छन्। उनलाई आफ्नै दलका माथिल्लो तहका नेताहरूदेखि प्रतिपक्षी दलसम्मले राजीनामा दिन दबाब दिँदा उनी अझै पनि राजीनामा नदिने मुडमा छन्।

भिजिट भिसाका नाममा भएको मानव बेचबिखनजस्तो संवेदनशीलल विषयमा जोडिएका लेखकले राजीनामा नदिएर किन छानबिनलाई सहयोग गरेका छैनन्? कारण कांग्रेसकै सभापति शेरबहादुर देउवाले राजीनामा दिनु पर्दैन भनिसकेका छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि लेखकलाई साथ छ।

सत्तारुढ दुई ठूला दलका प्रमुख नेताको टेकोमा लेखक चौतर्फी विरोध हुँदा पनि अझै राजीनामा नदिने अडानमा छन्। उनले आफूमाथि उठेका प्रश्नको जवाफ संसद्‌मा दिने भन्दै राजीनामा दिएर सहयोग गर्न चाहिरहेका छैनन्।

प्रतिपक्षीको एउटै स्वर


राजीनामा नदिने मुडमा रहेका लेखकमाथि प्रतिपक्षी दलहरूले भने एकै स्वरमा उनको राजीनामा मागेका छन्। लेखक भिजिट भिसा प्रकरणमा मुछिएको चार दिनसम्म चुपचाप रहेका दलहरू अहिले भने कुनै पनि हालतमा उनको राजीनामा हुनुपर्ने अडानमा छन्।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार संसद्‌ बैठक गृहमन्त्रीको राजीनामा माग गर्दै चल्न दिएनन्।

प्रतिपक्षी दलको तर्फबाट बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरणमा छानबिनको बाटो खुलाउनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरे।

‘उहाँ (लेखक) प्रतिपक्षमा हुँदा धेरै गम्भीर विषय उठाउनुभयो। भिजिट भिसा प्रकरणमा उहाँको सचिवालय जोडिएको छ। अख्तियारले छापा मारेको छ। ठूलो माछा छ भनी अख्तियारले भनेको छ,’ पुनले भने, ‘राजीनामा दिई अनुसन्धानका लागि मार्ग प्रष्ट गर्नुपर्छ।’

रास्वपाका सांसद शिशिर खनालले लेखकले राजीनामा दिनुपर्ने माग गरे। रास्वपाले गृहमन्त्रीको राजीनामा मात्र माग गरेको छैन, उसले भिजिट भिसा प्रकरण संगठित अपराध रहेको भन्दै यस विषयमा छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको समेत माग गरेको छ।

‘यो प्रकरण कुनै एक नागरिक नागरिकता बनाउन गएको बेलामा घुस मागेकोजस्तो होइन। यो त म्यानपावरदेखि एयरलायन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ’, उनले भने, ‘यसमा अनुसन्धान हुनुपर्छ। राजीनामा आउनुपर्छ। तर हामी राजीनामा मात्र माग्दै छैनौँ। संगठित रुपमा गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग हेर्ने गरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन।’

के भन्छ कांग्रेस?


गृहमन्त्रीले राजीनामा दिनुपर्ने वा दिननहुने भन्नेमा कांग्रेसमा दुई धार देखिएको छ। सांसद शेखर कोइराला, डा. सुनिल शर्मा, राजेन्द्र बजागाईं लेखकले राजीनामा दिनुपर्ने पक्षमा छन्।

बाँकी सभापति देउवादेखि अन्य नेताहरू भने राजीनामा दिननहुने पक्षमा देखिन्छन्। सोमबार कांग्रस पदाधिकारी बैठक बसेर लेखकले राजीनामा दिननहुने पक्षमा कांग्रेस पुगेको थियो।

‘उहाँ (रमेश लेखक)ले सविस्तार आफ्नो कुरा राख्नु भयो। संलग्नता छैन। गल्ती कमजोरी छैन भन्ने कुरा राख्नु भो। यो कुरा राखेपछि उहाँको कुरामा पूर्ण विश्वास गर्‍यौँ,’ बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भनेका थिए,’उहाँको संलग्नता छैन। जो संलग्न छन्, उनीहरूमाथि कारबाही हुनुपर्छ। यस विषयमा हामी सबै विश्वस्त भएका छौँ।’

राजीनामाको विषयलाई लिएर संसद् बैठक स्थगित भएपछि दलहरू छलफलमा छन्। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद् खुलाउने विषयमा कुरा भए पनि कांग्रेस लेखकको राजीनामा दिने पक्षमा नरहेको बताए।

‘उहाँ (लेखक)को भिजिट भिसा प्रकरणमा संलग्नता छैन। नभएपछि किन राजीनामा दिनुपर्‍यो? दिनुपर्दैन’, उनले भने।

यो पनि:

भिजिट भिसा प्रकरण: दलहरू मौन रहँदा गृहमन्त्रीलाई ‘हाइसन्चो’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?