
सहरीया प्रेमकथालाई पर्दामा मन छुने शैलीमा उतार्न माहिर निर्देशक दिनेश राउत पछिल्ला केही वर्षदेखि ‘कन्टेन्ट’लाई महत्त्व दिन थालेका छन्। ‘लव स्टोरी’बाट ‘सोसन कन्टेन्ट’मा छलाङ मारेका राउत चलचित्र निर्माणमा प्राविधिक पक्षलाई पनि उत्तिकै ध्यानमा राख्छन्। दृष्य भाषामार्फत् सामाजिक मुद्दा उठाइरहेका राउत जातीय छुवाछुतविरुद्ध ‘प्रसाद’ र ‘पुजार सार्की’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन्। कर्णालीबासीको जनजीवन, माओवादी द्वन्द्वको प्रभाव र आरक्षणमाथि गतिलो प्रहार चलचित्र ‘प्रकाश’बाट गरे। उनै राउतले यही जेठ १५ गतेदेखि प्रदर्शनमा आउन थालेको चलचित्र ‘महाभोज’मार्फत् सहकारी पीडितको कथा ल्याउँदैछन्। प्रस्तुत छ फिल्म महाभोजले उठाएको विषय र निर्देशन पक्षलाई समेटेर निर्माता तथा निर्देशक राउतसँग देशसञ्चारले गरेको संवादको सम्पादित अंश:
महाभोज कस्तो फिल्म हो ?
महाभोज अहिलेकाे जल्दाेबल्दाे मुद्दामा केन्द्रित छ। अघिल्ला फिल्ममा हामीले अन्तरजातीय विवाहपछि हुने सामाजिक जटिलता र त्यसको संघर्षलाई पुजार सार्कीमार्फत बोल्यौँ। यसपाली सहकारी पीडितको पक्षमा सिनेमामार्फत् बोल्न खोजिरहेका छौँ। ७० देखि ८० लाख मानिसहरू सहकारी पीडित छन्। समाजको एउटा माथिल्लोस्तरको जुन वर्ग छ, त्यो वर्गले तल्लो स्तरको वर्गलाई कसरी शोषण गरिरहेको हुन्छ? राजनीतिकाे नाममा कस्ता झुटा आश्वान बाँडिन्छ। एउटा साधारण मान्छेले दिनरात मेहेनत गरेर सहकारीमा जम्मा गरेको पैसालाई दुरुपयोग गर्ने मान्छेहरूले कति मोज गरेका छन्। कति भोज गरेका छन्। दैनिक एक सय रुपैयाँ जम्मा गर्ने मान्छेलाई थाहा नहुन पनि सक्छ कि पैसा कहाँ लगानी गरेका छन् तर लगानीकाे नाममा भ्रष्टचार गरिरहेका छन्। त्यस्तो मान्छेबाट तपाईँहरू शोषणमा परिरहनु भएको छ है, के हामी सचेत नहुने त? भन्ने जागरुत गर्ने प्रभावकारी माध्यम फिल्म हो। यस विषयलाई कलात्मक शैलीमा हामीले भन्ने कोसिस गरेका छौँ। को परिचालित छ र कसले सञ्चालन गरेको हो यो समस्या भन्ने मुल जडमा जान खोजेका छौँ।
सिनेमामार्फत् ती पीडितको पक्षमा वकालत हुन सक्छ?
सिनेमा मनोरञ्जन मात्रै होइन, मनोरञ्जन भन्दा पर पनि सिनेमाले काम गर्न सक्छ भनेर सोचेर हामी महाभोजमा सहकारी पीडितको कथा भन्ने कोसिस गरेका छौँ। हामी सडकमा सहकारी पीडितका लागि ‘प्ले कार्ड’ बोकेर नारा लगाउन नसकौँला तर सिनेमा क्षेत्रमा काम गर्ने हामीहरूले सिनेमामार्फत् नै यस्ता मुद्दामा बोल्नु पर्छ भनेर महाभोज तयार गरेका हौँ। उहाँको आन्दोलनमा हाम्रो पनि ऐक्यबद्धता छ भन्न चाहन्छौँ।
यसलाई दर्शकले कसरी लिन्छन् भन्ने लाग्छ?
समसामायिक विषय भएकाले यो फिल्मले दर्शकको मन पक्कै छुनेछ। अर्को कुरा हामीले देखेको भोगेको विषयबस्तुमाथि नै फिल्म बनाउँदा कहीँ-कहीँ दर्शकलाई नहोछाला भन्न सकिन्न। समस्यालाई उजागर गर्ने फिल्म भएकाले दर्शकलाई जागरुक बनाउने माध्यम हो। म एकदम सकारात्मक छु। मैले जुन विषय उठान गरेको त्यो विषयमा मैले पनि मेहनत गरेको छु। र दर्शकले पनि हेरेर मन पराइदिनु हुन्छ। र हामी किन ठगिन्छौँ। कसरी ठगिन्छौँ हाम्रो मेहनतलाई कसरी माथिल्लो तहकाले दुरुपयोग गरिरहेका छन्। यस विषयमा दर्शक सचेत हुनुपर्छ भन्ने लाग्छ।
सहकारी पीडितले न्याय नपाइरहेको अवस्थामा सहकारी डुबाउनेहरूलाई राज्यले नै संरक्षण गरिरहेको भन्ने आरोपहरू पनि छन्, यसलाई कसरी हेर्नुहुन्छ?
राज्य संयन्त्रले नै सहकारी ठगीलाई संरक्षण गर्दै आएको साँचो हो र केही नेताहरू त्यसैका कारण थुनामा छन्। तर सबैलाई समान व्यवहार सरकारले गर्नुपथ्र्यो भन्ने हो। र पीडितलाई छिटो भन्दा छिटो न्याय दिनु पर्ने थियो। तर न्याय पाउन यो देशमा गाह्रो भइसक्यो।
सहकारी पीडितको मुद्दालाई चलचित्रमार्फत् उठाउँदा राजनीतिक र सम्बन्धित पक्षबाट केही दबाब आउने डर/त्रास पनि छ कि?
हामीले गलत विषयलाई उठाएको भए अलिकति डर त्रास या दबाब आउँथ्यो होला पनि। र हामी ढुक्क के छौँ भने, यो विषयमाथि बनेको फिल्मको प्रभाव उच्च निकायसम्म पुगिदियाेस् भन्ने हो। हामीले सबै तहका मानिसलाई सचेत गराउनु छ। झकझकाउनु छ। राजनीतिक तलका नेताहरुलाई त बारम्बार घचघच्याउनु छ। फिल्मको टिमले यति गम्भीरताका साथ काम गरेको छ कि ती सम्बन्धित सरोकारवालालाई पनि गम्भीर बनाओस् भन्ने हो।