
झापा– झापामा लागुऔषधको कारोबार भयावह रूपमा बढेको पाइएको छ। मेचीनगरस्थित कालिका सिमसार क्षेत्रमा लागुऔषध खरिदबिक्री गर्नेहरूको हिजो (मंगलबार) साँझ ठूलै भीड लागेको अवस्थामा प्रहरीले ४३ जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ करिब ६ बजे मेचीनगर नगरपालिका वडा नम्बर ११ स्थित कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी चारआली, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रूपमा खटिएको ‘स्वीप अपरेशन’ टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी, प्रहरी चौकी चारआलीका प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक बिजय चौहान र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेसम्मिलित प्रहरीको टोलीले विभिन्न स्थानका ४३ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने सबै पुरुषहरू हुन् र उनीहरूको उमेर १५ देखि ४० वर्ष समूहका रहेका छन्। प्रहरीका अनुसार, लागुऔषध कारोबारीहरू बेच्न आएका बेला उनीहरू लागुऔषध किन्न भेला भएका थिए। यद्यपि, कारोबारीहरू भने भाग्न सफल भएको बताइएको छ।
पक्राउ परेका ४३ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। उनीहरूको साथबाट लागुऔषध बरामद भएको छ, तर त्यसको परिमाण भने खुलेको छैन।
प्रहरी स्रोतका अनुसार, घटनास्थलबाट १४ वटा मोटरसाइकल, एउटा अटो र एउटा मारुती भ्यानसमेत बरामद गरिएको छ। नियन्त्रणमा लिइएका अधिकांश अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिका क्षेत्रका रहेका प्रहरी स्रोतले जानकारी दिएको छ। बन क्षेत्रमा भएको यस्तो क्रियाकलापले समाज नै विकृत हुने भएकाले बन समिति तथा त्यहाँको समुदाय पनि जिम्मेवार बन्नुपर्ने प्रहरी अधिकारीहरूको भनाइ छ।