
काठमाडौँ– राजसंस्था र हिन्दुराज्यलगायतको माग राखेर आन्दोलनमा रहेका राजसंस्था पक्षधहरूमाथि आइतबार काठमाडौँको नारायणचौरमा धरपकड गर्दै लाठी चार्ज भयो।
एक दर्जनभन्दा बढीमाथि लाठी चार्ज हुँदा कतिपय रगताम्य भए। आन्दोलनमा टाउकोमा प्रहार गर्न पाइँदैन। कतिपयमाथि टाउकोमा प्रहार भयो। रगत बग्यो। खुट्टा, हात र ढाडमा लाठी प्रहार भएकाको यकिन तथ्याङ्क नभए पनि दर्जन बढी घाइते भएको आन्दोलनमा सहभागी एक स्वयमसेवकले बताए।
घाइते धेरैको घटनास्थलमै प्राथमिक उपचार गरियो। तीन जनालाई भने प्राथमिक उपचारपछि थप उपचार गर्न उद्धारमा खटिएको रेडक्रसको एम्बुलेसन्समा वीर अस्पताल लगियो।
०००
आइतबार नारायणचौरमा प्रदर्शनमा उत्रिएका पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत ७ जनालाई प्रहरीले पक्राउ गर्यो। पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र राजेन्द्र झा रहेका छन्।
उनीहरूलाई काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ। साथै पक्राउ परेकालाई भेट्न गएका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बल प्रयोग हुने गरी के भएको थियो?
आइतबार दिनको २ बजेका लागि राजसंस्थापक्षधरहरूले नारायणचौरलाई प्रदर्शनस्थल तोकेका थिए। सोहीअनुसार एक बजिनसक्दै कतिपय आन्दोलनमा सहभागी हुने नारायणचौरमा जम्मा हुँदै गए।
सुरक्षाकर्मीको उपस्थिति पनि एक बजिनसक्दै भइसकेको थियो। नारायणचौरको उत्तरतर्फ नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि छ।
शनिबारको सूचनाअनुसार २ बजिसकेपछि मात्र आन्दोलनमा सहभागी हुन प्रमुख नेताहरू राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत सहभागी भए। नेताहरूले नारायणचौरमा प्रदर्शनस्थल तोकिए पनि आन्दोलन बालुवाटारतर्फ जाने भन्दै प्रहरीलाई सहयोग गर्न भने।
राजसंस्थाको पक्षमा नाराबाजी गर्दै आन्दोलनले विस्तारै बालुवाटारतिर जाने बाटो प्रयोग गर्यो। तर प्रहरीले आन्दोलनलाई नारायणचौरमा सिमित रहन र अगाडि नबढ्न भन्यो। आन्दोलन कहाँ गर्ने त्यहाँ सहभागीलाई पनि थाहा थिएन।
‘नेताहरूले जता जाने भन्छन् उतै जाने हो’, उपस्थितहरूले भनेका थिए। सूचनामा नारायणचौरमा प्रदर्शन गर्ने भनिएको थियो। प्रदर्शन बालुवाटारको निषेधित क्षेत्रसम्म जाने भन्दै नेताहरू अगाडि बढे।
सोही समयमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रहरीको घेरा तोड्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गर्यो। उनीसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। सोहीसमयमा प्रहरीले लाठीचार्ज पनि गरेको हो।
प्रहरीसँग सामान्य धकेलाधकेल भएको दृष्य सामाजिक सञ्जालतिर पनि देखिन्छ। बल प्रयोग गर्ने गरी आन्दोलन उग्र थियो? नेताहरूले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग भएको आरोप लगाएका छन्।
प्रहरीले भने बल प्रयोग नभएको बताएको छ। ‘प्रदर्शन कहाँ गर्ने भनेर स्थान तोकिएको नारायणचौर हो। त्यहाँबाट प्रहरीको घेरा तोड्न खोजेपछि ६ जना पक्राउ परेका हुन्। बल प्रयोग भएको छैन’, काठमाडौँ प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले भने।
धरपकड र बल प्रयोग भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको अभियानलाई कमजोर नसम्झन आग्रह गरे। उनले बन्दुक बोकेर जङ्गल पस्न सक्ने युवाहरू आफूहरूसँग भएको सरकारलाई चेतावनी दिए।
‘देशले थप द्वन्द्व थेग्न सक्दैन भनेर हामीले शान्तिपूर्ण प्रदर्शन गरेका हौँ। पुलिस मर्न नपरोस। एक जना पनि नागरिक मर्न नपरोस भनेर’, उनले भने, ‘आज दुई चार हजार युवाहरू विदोह्रका लागि जङ्गल पस्न तयार छैनन् होला त यो अभियानमा? हामीले तोडफोड गर्न सक्दैनौँ होला त? तर हामीले त्यो चाहेकै छैनौँ।’
दुई/चारहजार युवाहरू बन्दु बोक्न सक्ने छैनन् होला त भन्ने लिङ्देनको प्रश्नमा प्रदर्शनमा सहभागी युवाहरूले हुटिङ गरेका थिए।