
काठमाडौँ – आफ्नाे चरित्रमा सधैँ नयाँपन ल्याउन रुचाउने कलाकार हुन् अभिनेता साैगात मल्ल। आफूले निर्वाह गर्ने चरित्रमा पात्रको हाउभाउ, लवज र मनोविज्ञान उतार्न सक्ने अभिनेता साैगातकाे अब्बल अभिनयका कारण चलचित्र हेर्नलायक हुन्छ।
सकारात्मक र नकारात्मक दुवै खालका भूमिका सशक्त रूपमा निर्वाह गरेका साैगातले लुटमा ‘हाकु काले’ र ‘कथा’ चलचित्रमा भक्भकाएर बोल्ने निर्दोष प्रेमीका रूपमा दर्शक तथा समीक्षकको मन जितेका छन्। समय सान्दर्भिक कथादेखि लेखक इन्द्रबहादुर राईले लेखेकाे २ सय वर्ष पुरानाे कथा ‘जार’सम्म हेर्दा उनकाे अभिनयमा विविधता पाइन्छ। आफ्नाे चरित्रलाई न्याय दिन सक्न कलाकार साैगात कागबेनी, कथा, फिटकिरी, बधशाला, जस्ता चलचित्रमा उनलाई सम्झिनेहरु छन्।
जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन्। उनकाे नयाँ चलचित्र ‘जन्ते बाख्रो’ मा पनि फरक देखिने काेशिस गरेका छन्। ‘एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाइयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु। किनकि एउटामा काम गरिरहँदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन। ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ। लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ र म अझै क्यारेक्टरमा काम गर्न चाहन्छ,’ अभिनेता साैगात भने।
उनले लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले आफूलाई तयार गर्ने गरेका छन्। यद्यपि, कुनै पात्र तयार गर्दैगर्दा उनको व्यतिगत भोगाइ पनि त्यहाँ मिसिन्छ। निर्देशकले देख्ने र अभिनेता मल्लले बुझ्ने पात्र मिलेपछि त्यो पर्दामार्फत दर्शकसम्म पुग्ने गरेको छ। उनलाई निर्देशकको पछिल्लो कामले पनि खासै फरक पार्दैन, किनकि हरेक नयाँ कामको छुट्टै प्रतिफल आउने उनले बुझेका छन्।
‘मलाई निर्देशकको पछिल्लो कामभन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ। पछिल्लो काम बिग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘विश्वभर आश नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन्। र, मकहाँ प्रस्ताव आएका फिल्मबाट नै मैले छनौट गर्ने हो। कहिलेकाहीँ फलानो फिल्म किन नगरेको भन्ने पनि सुन्छु। तर, मकहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका फिल्ममै मैले काम गर्ने हो।’
उनले सिनेमा ‘जन्ते बाख्रो’ ले आफ्नो ग्रामिण जीवनलाई स्मरण गराएको बताए। विशेषत गाउँमा हुँदा उनले भोज भतेरमा सहभागी जनाएको किस्सा सुनाए।
‘गाउँमा हुँदा यस्ता भोज भतेरमा काम गर्न पुगिन्थ्यो। किनकि त्यहाँ सबै गाउँले मिलेर नै विवाहलगायतका गतिविधिमा सघाउने प्रचलन छ। मसहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौँ। यो प्रक्रियामा गाउँमा रहेका सबै सहभागी हुनुभएको छ,’ उनले भने।
अभिनेता मल्लले को–स्टारद्वय आशिफ शाह र गरिमा शर्मासँग पहिलो पटक काम गरेका हुन्। यद्यपि, आशिफसँग भने ‘कागवेनी’ मा अभिनय गर्ने समयमै सौगात परिचित थिए। उनीहरूले सँगै सहकार्य गर्ने छलफल पनि भएको थियो, तर त्यो छलफलले पूर्णता पाएन।
‘मैले पहिलादेखि नै चिनेकाले पनि काम गर्न सहज भयो। साथै, छायांकन अगाडि हामीले पटकथामा छलफल गर्दा पनि एकअर्कासँग जानकार भयौँ। सोही कारण तपाइँले सार्वजनिक प्रचार सामाग्रीमा हाम्रो ‘कम्फर्ट’ लाई देख्नुभएको होला। यो फिल्म रमाइलो बनेको छ, हामीले छायांकनमा पनि रमाइलो गरेका थियौँ। सोही कुरा फिल्मका दृश्यमा विम्बित भएको छ,’ साैगातले भने।
सिनेमाले परम्पराका विषयमा जानकारी दिँदै मनोरञ्जन दिने बुझाइ उनको छ। ‘हाम्रो परम्परा र संस्कृतिले एकआपसमा जोड्ने र सामीप्यता बढाउने गरेको पाइन्छ। पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ले बदलेको छ। त्यही कारण फिल्मले हाम्रो परम्परा र संस्कृतिलाई प्रस्तुत गरेको छ, जहाँ रमाइलो र आत्मियता पाइन्छ,’ साैगातले भने।
उनले आफ्नो विवाहबारे सोधिएको प्रश्नमा भव्यताभन्दा पनि सरलता मन पर्ने बताए। उनी आफ्नो स्वभावअनुसार नै जीवनयापन गर्न चाहेकाे पनि बताए। फिल्ममा अभिनेता मल्लसँगै आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ।
अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ। फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन्।
फिल्मको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या,’ ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’लाई दर्शकले रुचाइसकेका छन्। फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।