
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकलाले नेपालको संस्कृति र इतिहासलाई जीवन्त बनाउने बताएका छन्।
अग्रज चित्रकार हरिप्रसाद शर्माका ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष प्रदर्शनीको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
शर्माको चित्रकलाले नेपाली समाज, संस्कृति र इतिहासको महत्वपूर्ण पक्ष उजागर गरेको उल्लेख गर्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे। सिर्जनाहरूले देशको सांस्कृतिक सम्पदाप्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
८८ वर्षीय शर्माको पाँचौँ एकल प्रदर्शनी यही जेठ ९ गतेदेखि आर्ट काउन्सिल नेपालमा भइरहेको छ। चित्रमा दर्शकले उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न पाउँछन्।