बटारिँदै बटारिँदै बटारिएको बाटोमा ‘राजावादी आन्दोलन’

बटारिँदै बटारिँदै बटारिएको बाटोमा ‘राजावादी आन्दोलन’
+
-

काठमाडौँ– ‘राप्रपा ढाडमा टेकेर टाउकोमा हान्न सिकेको छ’, महिना दिनअघि २७ चैत्रमा केशरबहादुर विष्टले बोलीको गोली प्रहार गरेका थिए, राजेन्द्र लिङ्देनलाई। भलै विष्टको यो बोलीको गोली लिङ्देनले प्रत्यक्ष सुन्न पाएनन्।

विष्ट र लिङ्देन राजसंस्थाप्रति आस्थावान छुट्टा–छुट्टै समूह लिएर हिँडेका व्यक्ति हुन्। राष्ट्रिय शक्ति नेपाललाई नेतृत्व गरेर विष्ट हिँडेका छन्। लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व गरेर हिँडेका छन्।

२७ चैत्र राजसंस्थाप्रति आस्थावान ३४ बढी समूहले नेपालमा राजसंस्था पुन:स्थापनाका लागि आन्दोलन गर्ने प्रतिज्ञा गरेको दिन हो। प्रतिज्ञा गर्ने दिन नै विष्टले राप्रपा यो व्यवस्थाको विरुद्धमा रहेको तर यही व्यवस्थामा सांसद भएर बसेको भन्दै दोहोरो प्रवृत्तिको विरोध गरेका थिए।

प्रतिज्ञा गर्ने कार्यक्रममा लिङ्देन थिएनन्।

लिङ्देन कार्यक्रममा नजानु, विष्टलगायतले राप्रपाको विरोध गर्नु बटारिँदै बटारिँदै कम्युनिस्टजसरी टुक्रिएका राजवादीहरू एक ठाउँ गोलबद्ध हुने सम्भावना छैन भन्ने प्रष्ट सन्देश दिन्थ्यो।

कुनै एक संगठन वा पार्टीमा गोलबद्ध हुन नसक्ने राजावादीहरूलाई समितिमा गोलबद्ध बनाएर अघि बढ्ने नवराज सुवेदीको सपना थियो। त्यही सपना लिएर विष्टले चैत्र ४ गते राजसंस्था पुन:स्थापनाका लागि जनआन्दोलन समिति गठन गरेका थिए।

गोलबद्ध गर्ने उनको सपनामाथि अहिले ग्रहण लाग्न लागेको छ।

२७ चैत्रमा राजसंस्था स्थापनाका लागि काठमाडौँको स्मार्ट दरबारमा सभा गरेर प्रतिबद्धता व्यक्त गरेका राजावादीहरूले जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गरेका थिए। निर्णायक भनिएको आन्दोलन पाँच दिन चलेर जेठ २० पछि हुन सकेको छैन।

राजसंस्था तथा हिन्दुराष्ट्र स्थापनाका लागि सरकारलाई नयाँ सम्झौता गर्ने गरी धक्का दिने योजनाकासाथ अघि बढेको आन्दोलन पाँच दिन बढी टिक्न सकेन। जेठ १८ गते काठमाडौँको नारायणचौरमा प्रदर्शनका क्रममा प्रहरीको धरपकड र लाठीचार्जपछि राजावादीहरूबीचमै मतभिन्नता देखियो।

आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे। थापा पक्राउपछि काठमाडौँ प्रहरी परिसरमा भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले पक्राउ गर्‍यो। आन्दोलनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भए।

त्यसपछि संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले अर्को दिन १९ गते नेपाल बन्दको घोषणा गरे। तर, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले नेपाल बन्दको विरुद्धमा रहेको भन्दै बन्दमा सहभागी नहुने भन्यो।

यसले राजावादीहरूबीच थप मनमुटाब सिर्जना गर्‍यो। अर्को दिन २० गते सरकारले आन्दोलनका लागि तोकेको स्थल सिफलमा प्रदर्शन भयो। तर अपेक्षित सहभागिता नदेखिएपछि निर्णायक भनिएको आन्दोलन त्यसयता काठमाडौँमा देखिएको छैन।

बटारिएको बाटोमा ‘राजावादी आन्दोलन’


निर्णायक भनि जेठ १५ गतेदेखि सुरु भएको राजावादी आन्दोलन हप्ता दिन पनि हुन सकेन। आन्दोलन त हुन सकेन नै अब कसरी अगाडि बढ्ने भन्नेमै नेताहरूबीच मतैक्यता हुन सकेको छैन।

राजधानीकेन्द्रित आन्दोलनलाई धक्का लागेपछि राप्रपालाई आन्दोलनमा सहभागी नबनाउने गरी राजसंस्था पुन:स्थापना समितिले अब जिल्ला तहबाट आन्दोलनको गर्ने बताएको छ।

२१ जेठमा समीक्षा बैठक बसेर समितिले काठमाडौँ केन्द्रीय आन्दोलन जिल्ला तहमा केन्द्रीय गर्ने निर्णय गरेको थियो। तर त्यसको विरुद्धमा राजावादी अन्य समूह देखिएका छन्।

यो पनि– कमल थापादेखि गंगा चौधरी राजसंस्था फर्काउन प्रतिवद्ध, लिङ्देनले पत्याएनन्

आन्दोलन समितिका प्रवक्तासमेत रहेका स्वागत नेपाल फेरि काठमाडौँ केन्द्रीय कार्यक्रम हुने बताउँछन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले त शनिबार भनिसकेका छन्, अब बर्खा लाग्यो, पछि मात्र आन्दोलन हुन्छ।

राजसंस्था फर्काउने समूहबीच देखिएको यस विवादका विषयमा नेपाल भन्छन्, ‘बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर बनाएको हो।’

उनले नेतृत्वकर्तामाथि प्रश्न उठाउँदै अब फेरि नयाँ ढङ्गबाट आन्दोलन अगाडि बढाइने बताए। ‘पहिले आन्दोलन जिल्लाबाट समिति बनाएर थाल्नुपर्छ भन्ने मेरै कुरा थियो। तर त्यो भएन’, उनले भने, ‘अब जिल्लामा समिति बनाएर आन्दोलन यही बर्खामा नै काठमाडौँ केन्द्रित गरिन्छ।’

उनले वर्षा, झरी केही नभनेर सबै समूहलाई एक बनाएर आन्दोलन गरिने पनि बताए। ‘कांग्रेस, एमालेलगायत अन्य दलका नेताहरूलाई पनि आन्दोलनमा सहभागी गराएर आन्दोलन हुन्छ’, नेपालले भने।

आन्दोलन युवाहरूले भनेजसरी अगाडि नबढेको भन्दै जेठ २१ गतेको समीक्षा बैठकमा कमल थापा बोल्दै गर्दा युवाहरूले होहल्ला गरेका थिए। समीक्षा बैठकमा राप्रपाको सहभागिता नभएर संसद्‌मा मात्र नेताहरू गएपछि राप्रपाको पनि विरोध भएको थियो।

पूर्वराजा शाह हेरेको हेर्‍यै


राजसंस्थाप्रति आस्थावान समूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारयणहिटी दरबारमा बसाउने गरी आन्दोलन गर्ने भएपछि उनी पनि उत्साहित हुँदै आएका छन्।

उनले गोर्खादेखि नारायणहिटीभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरिसकेका छन्। देशका अन्य धार्मिकस्थलहरूमा पनि शाहले पुजाअर्चना गरेका छन्।

आफैले पनि अब देशमा पृथ्वीपथ हुनुपर्ने, राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिनुपर्ने सन्देश प्रवाह गरिरहेका छन्। यी गतिविधिबाट पनि उनी फेरि शक्तिमा फर्कन चाहेको भन्न सकिन्छ। पूर्वराजा शाहसँग भेटघाटमै रहेका नेताहरू पनि उनी फेरि सत्तामा फर्किन चाहेको बताउने गर्छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थक ।

तर राजसंस्था स्थापनाका लागि गरिएको पहिलो आन्दोलनमै धक्का पुगेको थियो। चैत्र १५ गते तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक भएपछि राजसंस्था पुन:स्थापनाका लागि गरिएको आन्दोलनले धक्का व्यहोरेको थियो।

उक्त आन्दोलनको जनकमाण्डरसमेत शाहले दुर्गा प्रसाईंलाई तोकेकोसमेत बाहिरिएको थियो। हिंसात्मक प्रदर्शनपछि प्रसाईं हिरासतमा रहेका छन्।

पहिलो पटकको आन्दोलन बिथोलिएपछि फेरि राप्रपासहित अर्को आन्दोलन बनाउन पूर्वराजा शाह सक्रिए देखिए। उनले नेताहरूलाई लन्च मिटिङसमेत दिए। जेठ ८ गते शाहले राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, आन्दोलन समितिका संयोजक सुवेदी र राष्ट्रिय शक्ति नेपालका संयोजक विष्टसँग सोल्टी होटलमा लन्च मिटिङ गरेका थिए।

यता लन्च मिटिङ गरेर जेठ ११ गते शाह पूर्वको भ्रमणमा निस्किएका थिए। १५ गतेदेखि आन्दोलन हुने त्यसले केही सन्देश पक्कै दिनेछ भन्ने आशमा रहेका शाहलाई दुई साता पूर्व झापा बसेर आज (जेठ २५ गते) काठमाडौँ फर्किँदा नेताहरूले आन्दोलन अन्त्य गरिदिएर हेरेको हेर्‍यै  बनाइदिएका छन्।

यो पनि तीनकुने घटना: उक्साउन सफल नेतृत्व सम्हाल्न चुक्यो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?