
काठमाडौँ- नेकपा एमालेमा फर्किने स्पष्ट पारिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेकी छन्।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीलाई लक्षित गर्दै उनले आफूले एमालेका कार्यकर्तासँग भेट्न कसैको अनुमति नचाहिने बताइन्।
‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र?,’ उनले भनिन् ‘मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ। चिनजान पनि ठूलै छ। पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो।’
केही दिनअघि पार्टीमा गुटगत राजनीति गर्नेविरुद्ध उत्रिन ओलीले कार्यकर्तालाई निर्देश गरेका थिए।
पार्टीभित्र गुटगत राजनीति गर्न लागेको भन्नेबारेमा उनले आफू कहिल्यै गुट बनाउने मान्ने नभएको बताइन्। ‘म कहिल्यै गुट बनाउने मान्छे होइन। अध्यक्ष ओलीजीले मलाई ताकेर भनेको जस्तो मलाई लाग्दैन।’
केहीदिन अघि अध्यक्ष ओलीले पार्टीमा कोही मान्छे पुन: आउँदैछ भन्ने भ्रम फैल्याइँदै छ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति विद्या लक्षित भएको भन्दै धेरैले टिप्पणी गरेका थिए।
पछिल्लो समय भण्डारी सक्रिय राजनीतिमा फर्कने कुराले यी दुईबीचको सम्बन्ध चिस्सिएको चर्चा छ।
यो पनि:
विद्या भण्डारीले त्यस्तो के गरिन् जसले एमालेमा ओलीको विकल्प देखाइदियो?