
काठमाडौँ– काठमाडौंको प्युखा कृष्णचोकस्थित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ बाट २ करोड १ लाख ७८ हजार ३ सय ६० रुपैयाँ बराबरको बिल भरपाई नभएका सुन, हिरा तथा पत्थरका गरगहनासहित ४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ।
गत जेठ २६ गते साँझ करिब ६:३० बजे प्राप्त सूचनाका आधारमा प्रहरीले यो कारबाही गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा अवैध गरगहना फेला पारेको थियो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा भारत, कलकत्ता घर भई काठमाडौं महानगरपालिका २२ बस्ने ४३ वर्षीय हाविबोर सेख (ज्वेलर्सका सञ्चालक), ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख रहेका छन्।
बरामद भएका प्रमुख दसीका सामानहरू:
विभिन्न तौलका नेक्लेस, औँठी, लकेट, कानको टप, बाली, चुरा लगायतका सुनका गरगहना।
मिक्स डाइमण्ड (IJVSSI, SI2, IS1, मार्किस चौकी, JColor vssi, Jvssi, K Color Vssi, IJvssi, IJCoLoR Vssi)
नवरत्न लकेट चेन (२२ क्यारेट)।
बैंकका नगद दाखिला रसिद, डिपोजिट स्लिप, नगद भौचर र विभिन्न बैंकका चेकहरू।
मुन्ना जेम्स एण्ड ज्वेलरीका बिल, अर्डर स्लिप र नोटबुकहरू।
आइफोन १५ प्रो म्याक्स मोबाइल थान-१।
खुकुरी ट्याग सहितको एक थान।
बरामद गरिएका सम्पूर्ण सामानसहित नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।