व्‍यायाम मन्दिरका लोभ लाग्दो सफलताहरु

‘जाउँ कि क्या हो म पनि जिमखाना..’

+
-

काठमाडौँ-एक समय थियो शरीर आकर्षक र सुन्दर बनाउन चाहनेहरु टाढा टाढाबाट हरेक दिन आइपुग्थे, ठमेलको एक कुनामा रहेको नेपाल ब्यायाम मन्दिर। साँच्ची यो जिमखाना मन्दिरजस्तै थियो जसको दिनहुँजसो दर्शन गरेर कोही खेलाडी बने त कोही कलाकार।

राजेश हमालदेखि भुवन केसीसम्म शरीर आकर्षक बनाउन यही जिमखाना धाउँथे। नेता प्रकाशमान सिंह, प्रकाशचन्द्र लोहनी लगायत यही जिमखाना आउँथे। पहिलो मिस्टर नेपाल शिवलाल श्रेष्ठ पनि व्‍यायाम मन्दिरकै प्रडक्ट हुन्।

‘२०४२ सालसम्म राजधानीमा जिमखानाको नाममा ब्यायाम मन्दिर मात्र थियो भने पनि हुन्छ। सानातिना थिए तर ती जिमखानाजस्ता थिएनन्।    त्यसपछि अरु धेरै खुले। अहिले त राजधानीमा मात्र एक सयभन्दा बढी जिमखाना रहेको हाम्रो अनुमान छ’,नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान भन्छन्।

२०४२ सालमा व्‍यायाम मन्दिरले शहीद धर्मभक्त माथेमाको नाममा धर्म श्री शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्न थालेपछि शरीर राम्रो बनाउन चाहनेका लागि यो क्षेत्रले अझ आकर्षित गर्‍यो खेलाडी बन्ने, पदक जित्ने र नाम कमाउन चाहनेहरुका लागि। प्रधान भन्छन्, ‘ अहिले जिमखानामा जति पनि सिनियर प्रशिक्षक र खेलाडी छन् ती सबै ब्यायाम मन्दिरका प्रडक्ट हुन्।’

ब्यायाम मन्दिरको अर्को आकर्षण थियो, सस्तो। अझै पनि मासिक एक हजार रुपैयाँ तिर्दा यहाँ नियमित व्‍यायाम गर्न पाइन्छ। पछिल्लो समय जीम धाउनेहरुको संख्या बढ्दो छ। प्रधान यसलाई जीम स‌ंस्कृति भन्‍ा रुचाउँछन्।

‘जीमका दुईवटा पाटा छन्। पहिलो स्वस्थ र आकर्षक शरिर बनाउने। दोस्रो चाँहि पहिलो पूरा भएपछि प्रतिस्पर्धा गर्ने अर्थात खेलाडी बन्‍ाे। पछिल्लो समय यी दुवै पाटामा उत्तिकै आकर्षण देखिन्छ। अझ युवा पुस्तामा शरीर बनाउने लहर नै देखिन्छ। फिट र फिटनेस अहिलेको पुस्ताको मुल मन्त्र जस्तो देखिन्छ ‘,प्रधान भन्छन्।

पछिल्लो समय जिम जाने युवती तथा महिलाको संख्या पनि उल्लेख्य छ। अन्तर्राष्ट्रिय बडि बिल्डिङ प्रतियोगितामा समेत नेपाली महिला खेलाडीले विश्वस्तरको सफलता हात पारिसकेका छन्। ननिता महर्जनले विश्‍व च्याम्पियनसिपमा एकपटक रजत र एकपटक कास्य जितेकी छन्। प्रधान भन्छन्, ‘युवती तथा महिलाहरुको जिम आकर्षण देखेर हामी छक्क पर्छौँ।’

२०१० सालमा स्थापना भएको नेपाल ब्यायाम मन्दिरले २०२५ सालको सेरोफेरोबाट जीमखाना खोलेको थियो। सुरुवाती दिनमा उसले कुस्ती प्रतियोगिताहरु आयोजना गर्थ्यो। नेपालमा पहिलोपटक बडी बिल्डिङ सिकाउने व्यक्ति घनश्याम मुखिया हुन्। बनारसमा आयोजित शारीरिक सुगठन प्रतियोगिता समेत जितेका मुखियाले पछि नेपाल आएर जीम सिकाएका थिए।

त्यसो त शहीद धर्मभक्तले पनि बनारसमै आयोजित प्रतियोगितामा आफ्नो आकर्षक शरीर प्रदर्शन गरेर उपाधि जितेका थिए। उनको गठिलो शरीर देखेर लोभिने नेपालमा पनि धेरै थिए। अझै पनि धर्मभक्तको शरीरिक सुन्दरताको चर्चा हुने गर्दछ। तत्कालिन राजा त्रिभुवनलाई खुशी बनाउन धर्मभक्तले टुँडिखेलमा आफ्नो शरीरको प्रदर्शन समेत गरेको पुराना बडी बिल्डरहरु बताउँछन्। पछि उनै धर्मभक्तको नाममा ब्यायाम मन्दिरले शारीरिक सुगठन प्रतियोगिता आयोजना सुरु गरेको हो,धर्म श्रीका रुपमा। 

बडी बिल्डिङ एउटा सुन्दर कला मान्छन् प्रधान। ‘ जीमबाटै तयार हुने हो बडी बिल्डर। यो एउटा कला अर्थात आर्ट हो। जसरी एउटा पेन्टरले निकै सावधानी पूर्वक र कलात्मक पाराले कुनै पेन्टिङ तयार गर्छ,बडि बिल्डिङ पनि त्यस्तै फिनिसिङ आर्ट हो’, प्रधान थप्छन्।

प्रशिक्षकहरुका अनुसार एउटा बडि बिल्डर तयार हुन पाँचदेखि १० लाख रुपैयाँ खर्च लाग्छ। दैनिक कम्तिमा पाँच सय रुपैयाँ खर्च हुन्छ। ‘एकपटक  शरीरको सेप आइसकेपछि त्यसलाई मेन्टेन मात्र गर्ने हो। तर हाम्रोमा चाँही जिम गएर पछि छाड्यो भने शरीर नै बिग्रन्छ भन्‍ने गलत मानसिकता छ’, प्रधान भन्छन्।

बडी बिल्डिङमा लोभलाग्दो सफलता 


पछिल्लो समय बडि बिल्डिङ प्रतियोगिताको संख्या ह्वात्तै बढेको छ। यसको कारण हो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलता । सन् २०१० मा आयोजित दोस्रो विश्व बडि बिल्डिङ च्याम्पियनसिपमा नेपालका श्याम श्रेष्ठले कास्य पदक जितेका थिए।

तेस्रो विश्व च्याम्पियनसिपमा विमल श्रेष्ठले फिटनेश फिजिक्समा तेस्रो स्थान हात पारेका थिए। रुजेश शाही सातौँ विश्व च्याम्पियनसिपमा दोस्रो भएका थिए। ५० औँ एसियाली च्याम्पियनसिपमा महेश्वर महर्जनले स्वर्ण पदक जितेका थिए। यसरी हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बडि बिल्डर प्राय रित्तो हात फर्कनु परेको छैन।

‘पछिल्लो समय एउटै तौल समूहमा ४०/५० जनासम्म प्रतिस्पर्धीहरुले नाम दर्ता गरेको रेकर्ड छ। यो हाम्रा लागि निकै राम्रो कुरा हो’, प्रधान भन्छन्। महिला स्पर्धामा पनि प्रतियोगिहरुको संख्या बढ्दो छ। केही समय अघि पोखरामा आयोजित बडि बिल्डिङ प्रतियोगितामा करिब दुई दर्जन महिला खेलाडीको सहभागिता रहेको थियो।

२०५८ सालमा आयोजित बडि बिल्डिङ प्रतियोगितामा पहिलोपटक नेपाली महिला खेलाडीले प्रस्तुती देखाएका थिए। त्यतिबेला नायिका प्रसिद्धिका रायमाझीले प्रदर्शन खेल देखाएकी थिइन्। त्यसयता महिलाले पनि बडि बिल्डिङ आफ्नो खेल भएको बुझे। जिम जाने महिलाको संख्या बढ्दै गयो। पछिल्लो समय ननिता महर्जनले विश्वस्तरमा हात पारेको सफलताले महिला खेलाडीको संख्या बढेको छ।

पुरस्कार- १० हजारदेखि पाँच लाखसम्म 


बडी बिल्डिङको क्षेत्रमा सबैभन्दा चर्चित प्रतियोगिता धर्म श्रीमा पुरस्कार राशी १० हजार रुपैयाँबाट सुरु भएको हो। २०५२ सालमा आयोजित तेस्रो संस्करणमा सबै तौल समूह विजेताबीच भएको प्रतिस्पर्धामा बाजी मारेका शाक्यले नगदसहितको पुरस्कार जितेर इतिहाँस बनाएका थिए। त्यसअघिका संस्करणमा भने पुरस्कार राशीको व्यवस्था थिएन।

यसैगरी पहिलोपटक सबै तौल समूहका विजेताबीच प्रतिस्पर्धा गराएर धर्म श्री जित्ने एक खेलाडी छनोट गरिएको थियो। अर्को कुरा  त्यतिबेला धर्म श्रीमा पहिलोपटक नेपाल ब्यायाम मन्दिरभन्दा बाहिर सिकेका खेलाडीलाई पनि प्रतिस्पर्धा गर्न दिईएको थियो। विस्तारै जिमखानाहरु बीच नै तीव्र प्रतिस्पर्धा भयो धर्म श्रीका लागि।

पछिल्लो समय बडि बिल्डिङ प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था हुने गरेको छ। केही महिनाअघि पोखरामा सम्पन्न  तेस्रो बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगितामा ओभरअल विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिईएको थियो। नेपाल ब्यायाम मन्दिरले शुक्रबार र शनिबार आयोजना गर्न लागेको धर्म श्रीमा ओभरअल विजेतालाई पाँच लाख रुपैयाँ दिँदैछ। नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धामा यो निकै आकर्षक पुरस्कार राशी हो। ‘खेलाडीको मिहेनत अनुसार यो पुरस्कार पनि कम भयो। हामीले सक्यौँ भने अर्कोपटक पुरस्कार राशी १० लाख रुपैयाँ पुर्‍याउने छौँ’, नेपाल शारिरिक सुगठन स‌ंघका पूर्व उपाध्यक्षसमेत रहेका प्रधान भन्छन्।  

 पदक जितिरहँदा पनि प्रायोजक पाइएन 


शुक्रबार र शनिबार राजधानीको प्रज्ञा भवनमा आयोजना हुने धर्म श्रीका लागि आयोजकले अझै मुख्य प्रायोजक पाएको छैन।

‘हाम्रो खेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता दिलाईरहेको छ। हामी आफै भने सरकारी निकायबाट समेत उपेक्षित छौं। राज्यले आम मानिसलाई प्रेरित गर्नु पर्ने यस खेलमा हामी भने भिख मागेजसरी प्रायोजक खोजिरहेका छौं।  हामी नीजि क्षेत्रदेखि पनि दुखित छौं। ‘,प्रधानको गुनासो छ।

करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यस प्रतियोगितामा विभिन्‍न सात वटा स्पर्धामा ४० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?