
काठमाडौँ- लोकप्रिय ब्यान्ड नेपथ्यले नर्थ क्यारोलाइनाको ग्रिन्सबोरो सहरमा अविस्मरणीय प्रस्तुति दिँदै यस वर्षको महिनादिन लामो अमेरिका यात्रा सम्पन्न गरेको छ। शनिबारको कन्सर्टमा दर्शकहरूको अभूतपूर्व उत्साह र हार्दिकताका साथ गायक अमृत गुरुङ तथा अन्य ब्यान्ड सदस्यहरूले बिदा लिए।
फ्लोरिडाबाट सपरिवार कन्सर्ट हेर्न आएका पंकजनाथ शर्माले नेपथ्यको प्रस्तुति अमेरिकामा विरलै अनुभव गर्न पाइएको भन्दै प्रशंसा गरे। सामाजिक सञ्जालमा पनि यस्तै सकारात्मक प्रतिक्रियाहरू आएका थिए। दर्शक चन्द्र गिरीले अमृत गुरुङको बहुआयामिक व्यक्तित्व र नेपथ्यको संगीतले शान्ति, न्याय र प्रकृतिप्रति उनको आस्था झल्काएको बताए।
पंकजका अनुसार कन्सर्टले स्वदेशको माया र सम्झना ताजा गराउनुका साथै सुव्यवस्थित प्रस्तुतिले दर्शकहरूलाई सन्तुष्ट बनाएको थियो। श्यामश्वेत तस्बिरसहित पुराना गीत र तीव्र गतिका गीतमा सुहाउँदो झिलिमिली इफेक्ट्सले सांगीतिक माहोललाई अझ प्रभावशाली बनाएको उनको भनाइ थियो।
गायक अमृत गुरुङले गीतका बीच-बीचमा दिएका छोटा मन्तव्यहरूले पनि दर्शकलाई आकर्षित गरेको थियो। शिक्षाको महत्व र मातृभाषाको संरक्षणका लागि गरिएका उनका आह्वानमा दर्शकहरूले उत्साहपूर्ण प्रतिक्रिया दिएका थिए। प्रवासी नेपालीका अनुभव सुनाउँदै उनले मातृभाषाले नै राष्ट्रलाई एकताबद्ध र बलियो राख्नेमा जोड दिए।
ग्रिन्सबोरोका इन्जिनियर दिलिप अर्याल र गायक मोहन भुसालले नेपथ्यको कन्सर्टलाई मनोरञ्जनका साथै ज्ञान र सन्देशको उत्कृष्ट समिश्रण भएको बताए। मोहन भुसालले कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएको र नेपाली कार्यक्रमको स्तरलाई नयाँ उचाइमा पुर्याएको प्रतिक्रिया दिए।
कन्सर्टको भव्यता देखेर पिडमोन्ट हलका व्यवस्थापक कारा टायरी पनि प्रभावित भइन्। समयमै सुरु भएर समयमै सकिने यस्तो व्यवस्थित कार्यक्रम कमै देख्न पाइने उनले बताइन्।
आयोजक टोलीका विक्रम श्रेष्ठले पनि यस पटकको अनलाइन बुकिङमार्फत भएको ठूलो नेपाली कार्यक्रम उत्कृष्ट रहेको र नेपालयको व्यवस्थापकीय टिमसँगको सहकार्य कार्यक्रम व्यवस्थापनको पाठशाला जस्तै भएको अनुभव सुनाए।
यो प्रस्तुतिसँगै नेपथ्यको सातौं अमेरिका यात्रा सम्पन्न भएको छ। यस वर्ष ब्यान्डले अस्टिन, सियाटल, लस एन्जलस, पिट्सबर्ग, सिकागो, बोस्टन हुँदै ग्रिन्सबोरोसम्मको यात्रा गरेको थियो। १४ सदस्यीय टोली यसै साता स्वदेश फर्किनेछ।