प्राइड मन्थमा एलजिबिटीक्यू समुदायको मानसिक तथा सामाजिक समस्यासाथै उनीहरूका कथाव्यथाहरू बाहिर ल्याउने उद्देश्यले एक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जुन महिनालाई यो समुदायको उत्सव र भावना समेट्ने गरी प्राइड मन्थका रूपमा मनाउने गरिएको छ।
विद्यालय तथा अन्य संघसंस्थाहरूमा समूहगत तथा व्यक्तिगत मानसिक समस्यामा काम गरिरहेको संस्था माइन्डवेल सोल्युसन्स्ले ललितपुरको इमाडोलमा एलजिबिटीक्यु समुदायले समाजमा भोगिरहेका समस्यालाई सम्बोधन गर्नसाथै उनीहरूको फरक यौनिक विशेषतालाई सेलिब्रेट गर्न एक उत्सव आयोजना गरेको हो।

कार्यक्रममा विभिन्न रमाइला खेलहरू, प्रश्नोत्तर र संगीतसम्बन्धी कार्यक्रम गरिएका थिए।
मनोविद् एञ्जिना सापकोटाले फरक यौनिकता कुनै रहर वा फेसनको विषय नभएर प्राकृतिक विशेषता भएको प्रस्ट्याएकी थिइन्। माइन्डवेल सोल्युसन्स्की अर्की मनोविद् नम्रतासिंह क्षेत्रीले मानसिक स्वास्थ्यलाई टेवा पुग्ने श्वासप्रश्वाससम्बन्धी अभ्यास गराउनुका साथै विभिन्न रोचक खेल खेलाएकी थिइन्। अर्की मनोविद् रूशु कटेलले संस्थाले एलजिबिटीक्यु समुदायलाई समाजमा घुलमिल गराउनुका साथै उनीहरूको मानसिक र सामाजिक समस्या कम गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको जानकारी दिएकी थिइन्।

कार्यक्रममा सिर्जना शेरचन, अपेक्षा गुरुङ र स्वस्तिका नेपालले कविता प्रस्तुत गरेका थिए भने सन्देश हुमागाईँ, प्रज्ज्वल महर्जन र सिर्जना सुवेदीले गीत गाएका थिए। कार्यक्रमका लागि इमाडोलमा रहेको चियास्तानले ठाउँ उपलब्ध गराएको थियो। कार्यक्रममा सहभागीहरूले फरक यौनिकता भएका यो अल्पसंख्यक समुदायको भावना प्रतिविम्वित गर्ने दृष्टिले ‘प्राइड फ्ल्याग’ पनि बनाएका थिए।



                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































