
मुगु – मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाले भूमि बैंक स्थापना गर्ने नीति ल्याएको छ। मंगलबार नगरसभाहलमा सम्पन्न १७ औं नगरसभामा नगरप्रमुख विष्णु कुमार भामले ०८२/८३ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमि बैंक स्थापनाको योजना सार्वजनिक गरेका छन् ।
नगर प्रमुख भामका अनुसार, नगर भित्रका धेरै खेतयोग्य जमिन बाँझो रहेका कारण, ती जमिनलाई खेतीयोग्य बनाउँदै इच्छुक, उद्योगी तथा व्यवसायी बन्न चाहने व्यक्तिहरूलाई वितरण गरिनेछ। यसबाट कृषिमा युवाको आकर्षण बढाउने र वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिमा नियन्त्रण ल्याउने दीर्घकालीन लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।
सभामा प्रस्तुत नीति तथा कार्यक्रममा सुधारिएको सडक सञ्जाल, कृषि यान्त्रीकरण र व्यवसायीकरण, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, सूचना प्रविधिको विकास, उद्यम तथा रोजगारी सिर्जना, विपद् व्यवस्थापन, पर्यटकीय प्रवर्द्धन, खानेपानी तथा सरसफाइ, लैङ्गिक तथा सामाजिक समावेशिकरण र खेलकुद प्रवर्द्धन जस्ता क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ।
यसैगरी, विगतका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम पनि समावेश गरिएको छ। नयाँ कार्यक्रमहरूमध्ये भुमी बैंक स्थापना, सुनौलो शुक्रबार, उपप्रमुख एकल महिला कार्यक्रम, ‘एक रात गमगढी बास’, ‘महिनाको एक दिन शैक्षिक बहस’, खुला मञ्च रंगशाला निर्माण, १० शैयाको नगर अस्पताल सञ्चालन, स्थानीय सञ्चारमाध्यमलाई अनुदान, र आगलागी नियन्त्रणका लागि दमकल खरिद रहेका छन्।
नगर प्रमुख विष्णु कुमार भामको अध्यक्षतामा सम्पन्न नगरसभामा कर्णाली प्रदेशसभा सदस्य जितबहादुर मल्ल प्रमुख अतिथि रहनु भएको थियो। साथै, जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर कार्की विशिष्ट अतिथि, उपप्रमुख नैली कार्की विशेष अतिथि र नगर उपप्रमुख ऐश्वर्य मल्लको उपस्थिति रहेको थियो ।
छायानाथ रारा नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय विकास र नागरिक सेवाको गुणस्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।