
झापा- नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले महंगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको बताएका छन्।
सोमबार उनी निर्वाचित भएको क्षेत्र झापा १ अन्तर्गत बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण कार्यक्रममा बोल्दै आफूलगायतले गरेको आग्रहलाई सरकारले उक्त राजस्वमा आधा घटाएको उनले बताए।
उनले यस अघिका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर सोही कुराको आग्रह गरेको बताए।
शर्माले भने, ‘मैले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग पनि आग्रह गरेपछि धनीपुर्जाका लागि लिइने शुल्कमा सरकारले आधा घटाएको हो।’
भूमिहीनहरूको ढाड नभाँचिने गरी करको व्यवस्थापन गरेकोमा उनले सरकार तथा सुकुम्बासी आयोगका पदाधिकारीलाई उनले धन्यवाद दिए। उनले भने, ‘सानो आकारमा करको व्यवस्थापन गरिदिएकोमा उहाँहरू सबैलाई म सम्मान व्यक्त गर्न चाहन्छु।’
गाउँ समाजलाई के गर्न सकिन्छ भन्ने कुरामा सबैको ध्यान पुग्न जरुरी रहेको उनको भनाइ थियो।
अहिले देश बन्दैन भन्ने मनोविज्ञानले जनतालाई आक्रान्ति बनाएको शर्माले बताए।
गाउँमा बाटा बनिरहेका, अस्पताल निर्माण भएका, खानेपानीका आयोजना बनिरहेका, विद्युत विस्तारलगायतका काम भइरहेका भए पनि देश चाहिँ नबन्ने भो भन्ने मानसिकता त्याग्न उनले आग्रह गरे।
शर्माले भने, ‘गाउँमा बाटो आयो? भन्दा आयो भन्छन्। देश के हुन्छ? भन्दा बन्दैन भन्छन्। पानीको समस्या समाधान भयो? धमाधम काम हुँदैछ भन्छन्। देश चाहिँ के हुन्छ? भन्दा बन्दैन भन्छन्। यो मानसिकता त्याग्न जरुरी छ।’
उनले सबैले सकेको काम गरेर जनतालाई राहत दिने काम गर्नेपर्ने बताए।
उनले भने, ‘हो, काम गर्ने कुरामा ढिलासुस्ती छ। समयमा काम बनिरहेको छैन। त्यस्का लागि खबरदारी गरौं। तर केही भएको छैन भन्ने कुरा भने होइन।’ बुद्धशान्ति ४ का १९५ जनाले सोमबार जग्गा धनीपुर्जा पाएका छन्। गत शनिवार कनकाई नगरपालिकाका १५७ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनीपुर्जा वितरण गरेका थिए।