
दाङ – कर्तव्य ज्यान र डकैती अभियोगमा अदालतबाट २० वर्ष १ महिना १५ दिन कैद सजाय सुनाइएका फरार प्रतिवादी राजाबाबु बुढा मगर पक्राउ परेका छन्।
उच्च अदालत पाटनले २०७६ साल माघ २४ गते सुनाएको फैसलाअनुसार दाङको गढवा गाउँपालिका–३ खैरेनी निवासी राजाबाबु बुढा मगर (उर्फ चुनु भन्ने अर्जुन बुढा मगर) लाई कैद सजाय सुनाइएको थियो।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख डबलबहादुर वमका अनुसार फरार प्रतिवादीको घर आसपासमा खोजतलास गर्ने क्रममा सोधपुछबाट अर्जुन बुढा मगरको वास्तविक नाम राजाबाबु बुढा मगर रहेको पुष्टि भएको थियो।
त्यसपछि असार ३० गते साँझ ७ बजे खैरेनीस्थित निजकै घरबाट राजाबाबु बुढा मगरलाई पक्राउ गरिएको थियाे। पक्राउपश्चात उनलाई अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।