
नेपालगन्ज – भारतबाट लुटपाट गरी आएका ६ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय कोहलुरका अनुसार, कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेजबहादुर शाही, सान्नी त्रिबेणी गाउँपालिका वडा नम्बर ८ बस्ने १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीया सरिता शाही पक्राउ परेका हुन् ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित होटल न्यू कालिकोटेमा कोठा भाडा लिई बसेको अवस्थामा पक्राउ गरिएको कोहलपुरका डिएसपी लक्ष्मी खनालले जानकारी दिइन् । भारतबाट सुनका गहना र नगद चोरी गरी कोहलपुरमा लुकेर बसेको भन्ने बिशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएकाे थियाे ।
होटलको कोठा नम्वर ८ मा बसेका उनीहरुबाट १५ तोला सुनका गरगहना, नेपाली रू.७ लाख ८७ हजार रकमसमेत बरामद गरिएको डिएसपी खनालले बताइन् । उनीहरु रोजगारीको बाहनामा भारत जाने र त्यहाँ चोरी धन्दा गर्दै नेपाल आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।