पर्सामा एसईई नतिजा समीक्षा: सामुदायिक विद्यालयको कमजोर प्रदर्शन, शैक्षिक गुणस्तर सुधारमा सामूहिक पहलको माग

पर्सामा एसईई नतिजा समीक्षा: सामुदायिक विद्यालयको कमजोर प्रदर्शन, शैक्षिक गुणस्तर सुधारमा सामूहिक पहलको माग
+
-

वीरगन्ज – पर्सा जिल्लाका १४ वटै पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा पहिलो पटक एसईईको परीक्षाफल र विद्यालयको अवस्थाबारे समीक्षा गरिएको छ।

यस क्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्सा जिल्लाका सामुदायिक विद्यालयको नतिजा खस्कँदो रहेकोमा चिन्ता व्यक्त गर्दै जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरूसँग विमर्श गरिएको छ।

२०८१ सालको एसईईमा पर्सा जिल्लाबाट एक तिहाइ मात्र विद्यार्थी उत्तीर्ण भएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। शिक्षा विकास समन्वय इकाई पर्साका अनुसार, २०८१ को एसईईमा पर्सा जिल्लाबाट कुल ११ हजार १४३ विद्यार्थी सहभागी भएकोमा ३२.१५ प्रतिशतमात्रै उत्तीर्ण भएका छन्। यसमध्ये सामुदायिक विद्यालयका २२.०७ प्रतिशत र संस्थागत विद्यालयका ६५.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।

जिल्ला शिक्षा समितिको आयोजनामा भएको समीक्षा कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरूले जिल्लाका सबै सामुदायिक विद्यालयमा मावि तहका विषयगत शिक्षकको अभाव एसईईको नतिजा खस्किनुको प्रमुख कारण रहेको बताएका छन्। वीरगन्जको नृसिंह माविका प्रधानाध्यापक हरिन्द्र प्रसाद कुर्मीले अधिकांश सामुदायिक विद्यालयमा विषयगत शिक्षकको पूर्ण अभाव रहेको र प्रावि तहका शिक्षकहरूले समेत माविमा अध्यापन गराइरहेकोले नतिजामा नकारात्मक असर देखिएको बताए। नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले पनि यस भनाइलाई समर्थन गरे।

सरोकारवालाहरूले विद्यालय व्यवस्थापन समितिमा राजनीतिक स्वार्थ हावी हुनु, सम्बन्धित सरोकारवालाहरूमा दीर्घकालीन योजना र कार्ययोजनाको अभाव, स्थानीय तहले विद्यालयमा पर्याप्त लगानी नगर्नु, योग्य शिक्षकलाई स्थायित्व नदिई मनोबल गिराउनु, अभिभावकले बालबालिकाको अध्ययनप्रति खासै चासो नदिनु, र विद्यार्थी, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकको भूमिका प्रभावकारी नदेखिनु जस्ता कारणले शैक्षिक अवस्था खस्किँदै गएको गुनासो गरेका छन्। नेपाल प्रधानाध्यापक संघ पर्साका अध्यक्ष एवम् वीरगन्जको सिद्धार्थ माविका प्रधानाध्यापक विनोद मेहताले जनप्रतिनिधिको प्रत्यक्ष नकारात्मक हस्तक्षेप, विद्यालयको समस्याप्रति वास्ता नगर्ने तर अनावश्यक हस्तक्षेप गर्ने परिपाटी, विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुनु, शिक्षकले विद्यालयमा कम समय दिनु, र आर्थिक अभाव जस्ता समस्या औँल्याए।

शिक्षकहरूले सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षकहरूको आवश्यक दरबन्दी परिपूर्ति गर्न सके एसईईको नतिजामा स्वतः सुधार आउने दाबी गरेका छन्। मेहताले एसईईको नतिजामा सुधार ल्याउनका लागि सम्बन्धित सबैका लागि आचारसंहिता निर्माण हुनुपर्ने र स्थानीय तहको शैक्षिक रणनीति तथा कार्ययोजनामा कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि विनियोजन गर्नुपर्ने सुझाव दिए। उनले अभिभावक र औद्योगिक घरानाहरूले पनि आर्थिक रूपमा आफ्नो दायित्व बुझेर सहयोग सहकार्य गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरूको प्रतिक्रियापछि बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि बहानामा शिक्षकहरूले विद्यालय र विद्यार्थीहरूको शैक्षिक अवस्थामा खेलवाड गर्ने छुट नभएको बताए। उनले पर्सामा पहिलो पटक सबै सम्बन्धित सरोकारवालाहरूलाई दायित्वबोध गराउन र अध्ययन अध्यापनको अवस्थामा सुधार ल्याउन जिम्मेवार बनाउने प्रयास सफल भएको बताए। “सात सात महिनासम्म विद्यालयमै नगएर तलब खाने शिक्षक पनि यहि पर्सा जिल्लामा छन्,” प्रजिअ अर्यालले भने, “शिक्षकहरूले पनि आफूमा भएको कमजोरी सुधार्नुपर्ने आवश्यकता छ।”

उनले पदमा बसेर खुट्टा हल्लाएर दायित्व पूरा नहुने भन्दै एक सय जनामा दुई जनामात्रै विद्यार्थी पास गराएर राज्यको तलब सुविधा खान लाज लाग्नुपर्ने बताए। अर्यालले आजको आधुनिक युगमा रटेर पढ्ने वा चिट चोरेर पढ्ने जस्ता शैक्षिक स्तरले कसैलाई सफल नबनाउने भन्दै जीवनलाई सार्थक बनाउने खालका अध्ययन अध्यापनमा जोड दिए।

उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित: जिल्ला प्रशासन कार्यालय पर्साको सहआयोजनामा भएको कार्यक्रममा एसईईमा पर्सा जिल्लाबाट ४ जीपीए ल्याउन सफल ८ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित सम्मानित गरिएको थियो। सम्मानित हुनेहरूमा सामुदायिक विद्यालय त्रिजुद्ध माविका छात्र सचिन मेहता, संस्थागत विद्यालय कादम्बरी एकेडेमीका छात्रा सिद्धी शर्मा, साक्षी यादव, छात्र यश जयसवालसौरभ पाण्डे तथा गौतम माविका छात्रा जोया हवारी, दिपीशा रौनियार र छात्र आरभ चौरसिया रहेका छन्। उनीहरूलाई जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख हरि राउतले सम्मान गरेका थिए। ४ जीपीए ल्याउन सफल विद्यार्थीका अभिभावकहरूलाई पनि दोसल्ला ओढाएर सम्मानित गरिएको थियो।

यस्तै, एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरू त्रिजुद्ध मावि, कादम्बरी एकेडेमी, गौतम मावि, सिद्धार्थ मावि र जीएचपी माविलाई पनि कदरपत्रसहित सम्मानित गरिएको थियो। जिल्लामै उत्कृष्ट केन्द्राध्यक्षका रूपमा श्री माध्यमिक विद्यालय विजयबस्ती ठोरीका प्रधानाध्यापक नारायण लामालाई पनि नगद १० हजार र कदरपत्र प्रदान गरी सम्मानित गरिएको थियो।

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, जिल्लाका १४ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक लगायतको पनि सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?