
मुगु – मुगुको सदरमुकाम गमगढी बजार नजिकै अवस्थित काँजथला हरियाली पार्क पछिल्ला दिनहरूमा स्थानीय बासिन्दा, कर्मचारी, युवा–युवतीको घुमघाम र रमाउने थलोका रूपमा विकसित हुँदै गएको छ।
यस ठाउँबाट रमणीय चंखेली हिमाल, प्रसिद्ध देवता थार्प मष्टा, मालिकी, मुगु कर्णाली नदी र गमगढी खोलाको संगम स्थल त्रिवेणीधाम, हुम्ला प्रस्थानको प्रवेश बिन्दु, गमगढीस्थित प्रख्यात कालिका मालिका मन्दिर लगायत आकर्षक गाउँहरूको दृश्यावलोकन गर्न सकिन्छ।
यसै आकर्षक बाँजथलामा साउने सङ्ग्रान्तिको अवसर पारेर स्थानीय महिलाहरूले परम्परागत देउडा खेल्दै हराउँदै गएको संस्कृति जोगाउने प्रयास गरेका छन्। माझपातल सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका १ देखि १४ वडासम्मका महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो ।
कार्यक्रमको मुख्य आकर्षण पुरुष र महिलाहरूको संयुक्त रोचक देउडा रह्यो, जसले पुरानो सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा झल्काएको थियो। सहभागीहरूले परम्परागत पोसाकमा सजिएर देउडा गाएर रमाइलो माने।
गमगढी बजारभन्दा केही अग्लो ठाउँमा रहेको बाँजथला चारैतिरको प्राकृतिक सौन्दर्यले भरिपूर्ण दृश्यावलोकन स्थल हो। पछिल्ला समयमा यस थलोको महत्व झन् बढ्दै गएको छ। पर्यटकका लागि दृश्यावलोकन, विश्राम र सांस्कृतिक अनुभवको उत्कृष्ट गन्तव्य बन्दै गएको वडा नं। २ का वडा अध्यक्ष परेकराज चौलागाईंले बताए।
उनका अनुसार, “रमणीय बाँजथलाको विकासका लागि सबै तहका सरकारको सहयोग प्राप्त भइरहेको छ। यसलाई पर्यटनस्थलका रूपमा विकसित गरी स्थानीयको रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।”
बाँजथलाको विकास र प्रचारप्रसारमा समाजसेवी ऐनबहादुर हमाल, माझपातल सामुदायिक वनका अध्यक्ष नवराज चौलागाईं र वडा अध्यक्ष परेकराज चौलागाईंको विशेष योगदान रहेको स्थानीयहरूले बताएका छन्।
स्थानीय बासिन्दा सुमित्रा रावल भन्छिन्, “देउडा जस्ता सांस्कृतिक कार्यक्रमले बाँजथलालाई सांस्कृतिक र पर्यटनको दृष्टिले थप महत्वपूर्ण बनाएको छ।”
आयोजक समितिले यस्ता कार्यक्रमहरूले हराउँदै गएका संस्कृति जोगाउन र बाँजथलाको पर्यटन सम्भावना उजागर गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा यस ठाउँलाई व्यवस्थित विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र स्थानीय रोजगारी बढाउने योजना रहेको समितिले जनाएको छ।