
झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र षड्यन्त्र गर्नेहरूले ‘बाटो तताउन’ कडा चेतावनी दिएका छन्।
उनको यो भनाइ केही दिनअघि पार्टीका चार नेताले उनीविरुद्ध निकालेको प्रेस विज्ञप्तिप्रति लक्षित थियो। उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरि, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले बिहीबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनका कारण पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका थिए।
राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनको शनिवार उद्घाटन गर्दै लिङ्देनले विचार मिल्ने भए र पार्टीको नेतृत्व चाहने भए आगामी महाधिवेशनसम्म पर्खन नभए अर्कै बाटो लिएर जान कडा चेतावनी दिएका हुन्।
उनले भने, ‘विचार मिल्छ तर राजेन्द्र लिङ्देन मन परेन भने महाधिवेशन पर्खनुपर्छ। तर विचार नै मिलेन भने चाहिँ बाटो तताउनुपर्छ।’
उनले वर्तमान केपी ओली नेतृत्वको सरकारमा ‘कसले कति कमाउने’ भन्ने होडबाजी चलिरहेको गम्भीर आरोपसमेत लगाएका छन्।
सरकारमा रहेका मन्त्रीहरू एकपछि अर्को गर्दै भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिन थालेको घटनाप्रति सङ्केत गर्दै उनले यस्तो दाबी गरेका हुन्।
लिङ्देनले सरकारले जनतालाई विदेशमा बेचेर खाने, महँगी बढाएर खाने, शरणार्थी बनाएर विदेश पठाएर खाने र भिजिट भिसामा पठाएर पनि कमाउने प्रवृत्ति हावी भएको बताए।
उनले जहाँ र जसरी भए पनि कमाउने प्रवृत्तिले मुलुकलाई थप सङ्कटमा धकेलेको जिकिर गरे। अध्यक्ष लिङ्देनको यो भनाइ हालै चर्चामा आएको ‘भिजिट भिसा’ प्रकरणसँग जोडेर हेरिएको छ। यस प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा संलग्नताको आरोप लागेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा माग गर्दै उच्चस्तरीय छानबिन आयोग गठनको आवश्यकता औँल्याएकी थिइन्। रास्वपा र राप्रपाले यसै विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभाको बैठकसमेत बहिस्कार गर्दै आएका छन्।
उनीहरूले सरकारले सामान्य प्रशासनिक समिति बनाएर आफ्नो मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
‘राप्रपा मात्र एक यस्तो पार्टी हो, जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएर यसका विरुद्ध औँला उठाएको छ,’ लिङ्देनले भने।
उनले राप्रपाबाहेकका सबै पार्टी कुनै पनि फाइल खोल्ने कुरा आएपछि डरले काँप्ने गरेको भन्दै भ्रष्टाचार नियन्त्रणमा अन्य दलहरूको उदासीनताप्रति कटाक्ष गरे।