
हुम्ला – हिमाली जिल्ला हुम्लामा शतप्रतिशत मार्सी धान रोपाइँ सम्पन्न भएको छ। पछिल्लो समय जिल्लामा मनसुन भित्रिएसँगै वर्षा भइरहेको र अधिकांश धानखेतमा सिँचाइ सुविधा पुगेका कारण समयमै रोपाइँ सकियाे ।
सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका किसान काली महताराले आफ्नो वडामा धान रोपाइँ सकिएको बताए। वर्षा, परम्परागत कुलो र सिँचाइ नहर निर्माण भएका कारण रोपाइँ गर्न सहज भएको हो। सबैभन्दा मार्सी धान बढी फल्ने चंखेली गाउँपालिका– २ को दार्म जिउलामा पनि शतप्रतिशित रोपाइँ सकिएको किसान रामभक्त जैसीले जानकारी दिए।
गत वर्षभन्दा केही ढिलो भए पनि असार तेस्रो हप्तामै रोपाइँ सम्पन्न भएको होे। खार्पुनाथ गाउँपलिकामा पनि रोपाइँ सकिएको किसान रामजंग हमालले बताए।
पानी नपरेका कारण पालो कुरेर पानीको ब्यवस्था गर्नुपरेकाले रोपाइँ गर्न ढिलो भएको उनले बताए। जिल्लाका सबै ठाउँमा रोपाइँ सकिएको कृषि बिकास कार्यालयका प्रमुख चूडामणि पन्तले जानकारी दिए।
हुम्लामा ५८५ हेक्टर जमिनमा धान रोपाइँ भएको र प्रति हेक्टर एक दशमलव १३० मेट्रिकटन उत्पादन हुने अनुमान कार्यालयले गरेको छ।
हुम्लामा प्रतिहेक्टर एक दशमलव ९१ प्रतिशत उत्पादन हुन्छ। हुम्लाका सात वटा गाउँपालिकामध्ये नाम्खा गाउँपालिकाबाहेक सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा मार्सी धान पाक्ने गर्छ।
जिल्लामा चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकामा बढी धान उत्पादन हुने गर्छ। यी गाउँपालिकामा धान खेती मुख्य बालीमा पर्छ।