
पठन संस्कृति अभिवृद्धि गर्ने र साहित्य तथा कलामाथि छलफल गर्ने उद्देश्यले सांग्रिला लिटरिचर फेस्टिबलले मासिक रुपमा सांग्रिला संवाद जुलाई २६ अर्थात आउँदाे शनिवारदेखि आयोजना गर्ने घोषणा गरेको छ।
सुरुवाती संवाद मोक्ष बार एण्ड रेस्टुरेन्ट, झम्सिखेलमा जुलाई २६ का दिन दिउँसो २ बजेपछि सुरु हुनेछ।
फेस्टिबलका निर्देशक केन सुवेदीले जारी गरेको प्रेस वक्तव्य अनुसार, प्रथम संवाद कविताप्रति समर्पित हुनेछ। वक्तव्यमा लेखिएको छ, ‘संवाद कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवससँग कवि रमेश क्षितिजबीच वार्तालाप रहेको छ,’ उक्त वार्तालापमा दिवसको साहित्यिक जीवन र त्यसमा गरेका समर्पण साथै संस्कृति विकासमा कविताको भूमिकामाथि छलफल गरिने जानकारी समावेश छ।
अन्तरक्रियापश्चात, कविता वाचन सत्र सुचारु हुनेछ जसमा वरिष्ठ र युवा कविहरूले आफ्ना उत्कृष्ट कविता वाचनगर्नेछन्। कविहरू अविनाश श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, गीता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शाकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती, सबिता गौतम दाहाल र दीपक सापकोटाले आफ्ना कविताहरू सुनाउने छन्।
कार्यक्रमको उद्घाटन तुलसी दिवसले गर्ने छन्। प्रेस रिलिजमा लेखिएको छ, ‘छलफल, अन्तरक्रिया, किताब विमोचन, पठनका लागि साथै समग्र लेखन पठन संस्कृतिको वृद्धिविकासको लागि कार्यक्रम मासिक रुपमा आयोजना गरिने छ।’