
काठमाडौं – सवारीसाधन खरिद गर्ने सोचमा हुनुहुन्छ भने इन्धनबाट चल्ने गाडी राम्रो कि विद्युतीय (ईभी) सवारीसाधन राम्रो भन्ने प्रश्नले धेरैलाई द्विविधामा पार्न सक्छ। मानव स्वास्थ्य र वातावरणका दृष्टिकोणबाट ईभी गाडी नै स्वस्थकर र किफायती मानिन्छ। तर, गाडीको क्षमता, सडकको अवस्था, र समग्र आम्दानी-खर्चको हिसाबकिताब गर्दा कुन गाडी उत्तम र लगानी कति वर्षमा उठ्न सम्भव छ भन्नेबारे यहाँ विस्तृत विश्लेषण गरिएको छ।
इन्धनबाट चल्ने माइक्रोबसको हिसाब: नेपाली बजारमा १६-१७ सिटको डिजेल माइक्रोबसको मूल्य औसतमा ९० देखि ९५ लाख रुपैयाँ पर्छ। यसमा लगभग २८० प्रतिशत कर लाग्छ। काठमाडौं-चितवन-काठमाडौं (दैनिक ३०० कि.मी.) यात्रा गर्ने एउटा माइक्रोबसले दैनिक ५ हजार २५० रुपैयाँको इन्धन खपत गर्छ। मासिक २६ दिन गुड्दा इन्धनमा मात्रै १ लाख ३६ हजार ५०० रुपैयाँ खर्च हुन्छ। वार्षिक रूपमा हेर्दा इन्धनमा १६ लाख ३८ हजार रुपैयाँ खर्च हुन्छ।
मर्मत खर्चमा पनि इन्धन गाडीमा मासिक औसत १६ हजार रुपैयाँ (वार्षिक २ लाख १० हजार रुपैयाँ) खर्च हुन्छ। यसरी इन्धन र मर्मतमा वार्षिक कुल १८ लाख ४८ हजार रुपैयाँ खर्च हुन्छ।
आम्दानीको हिसाब गर्दा, काठमाडौं-चितवनको एकतर्फी भाडा ६०० रुपैयाँ (यातायात मजदुरलाई ५० रुपैयाँ कटाएर ५५० रुपैयाँ) मान्दा, १६ सिटको माइक्रोले दैनिक १७ हजार ६०० रुपैयाँ कमाउँछ। इन्धन खर्च र चालक भत्ता ८०० रुपैयाँ कटाउँदा दैनिक ११ हजार ४०० रुपैयाँ गाडी धनीको हातमा पर्छ। मासिक २६ दिनको हिसाब गर्दा २ लाख ९६ हजार ४०० रुपैयाँ आम्दानी हुन्छ। चालकको मासिक तलब ३० हजार रुपैयाँ घटाउँदा २ लाख ६६ हजार ४०० रुपैयाँ बचत हुन्छ। वार्षिक रूपमा हेर्दा, सबै खर्च कटाएर एउटा इन्धन माइक्रोबसले वार्षिक २७ लाख रुपैयाँसम्म कमाउन सक्छ, जसमध्ये १५ लाख रुपैयाँ बचत हुन सक्छ (घर खर्च १२ लाख कटाएर)। यसरी इन्धन माइक्रोबसमा गरेको लगानी उठाउन कम्तीमा १३ वर्ष लाग्ने देखिन्छ।
विद्युतीय (ईभी) माइक्रोबसको हिसाब: अहिले नेपाली बजारमा १४ सिट क्षमताको ईभी माइक्रोबसको मूल्य करिब ५४ लाख रुपैयाँ रहेको छ। इन्धन माइक्रोको तुलनामा यसको खरिद मूल्य निकै कम छ।
काठमाडौं-चितवन-काठमाडौं यात्रा गर्दा ईभी माइक्रोले अधिकतम १ हजार १०० रुपैयाँमा दुईतर्फी विद्युत् खर्च पूरा गर्छ। मासिक २६ दिन गुड्दा विद्युत् खर्च मात्रै २८ हजार ६०० रुपैयाँ हुन्छ।
ईभी गाडीमा गियर, क्लच जस्ता उपकरण नहुने भएकाले मर्मत खर्च अत्यन्तै न्यून हुन्छ। प्रत्येक दुई महिनामा एक पटक सर्भिसिङ गर्दा करिब २ हजार ५०० रुपैयाँ लाग्छ। वार्षिक रूपमा औसत १ लाख ५० हजार रुपैयाँ सर्भिसिङमा खर्च हुन्छ।
आम्दानीको हिसाब गर्दा, १४ सिटको ईभी माइक्रोले दैनिक १५ हजार ४०० रुपैयाँ कमाउँछ। विद्युत् खर्च र चालक भत्ता ८०० रुपैयाँ कटाउँदा दैनिक १३ हजार ५०० रुपैयाँ गाडी धनीको हातमा पर्छ। मासिक २६ दिनको हिसाब गर्दा ३ लाख ५१ हजार रुपैयाँ आम्दानी सम्भव छ। चालकको तलब ३० हजार रुपैयाँ घटाउँदा मासिक ३ लाख २१ हजार रुपैयाँ कमाउन सकिन्छ। वार्षिक रूपमा हेर्दा, सबै खर्च कटाएर ईभी माइक्रोबसले वार्षिक ३४ लाख रुपैयाँसम्म कमाउन सक्छ, जसमध्ये २२ लाख रुपैयाँ बचत हुन सक्छ (घर खर्च १२ लाख कटाएर)।
लगानी फिर्ताको तुलना: यदि ९० लाख रुपैयाँको इन्धन गाडी ४० प्रतिशत डाउन पेमेन्ट (३६ लाख) मा किन्नुभयो र बाँकी ५४ लाख ऋण लिनुभयो भने मासिक ७१ हजार ५०० रुपैयाँ किस्ता तिरेर १० वर्षमा गाडी आफ्नो बनाउन सकिन्छ।
यता, ५४ लाख रुपैयाँको ईभी गाडी ४० प्रतिशत डाउन पेमेन्ट (२१ लाख ६० हजार) मा किन्नुभयो र बाँकी ३२ लाख ४० हजार रुपैयाँ ऋण लिनुभयो भने, यदि तपाईंले इन्धन गाडीको जत्ति नै मासिक किस्ता (७१ हजार ५०० रुपैयाँ) तिर्नुभयो भने ४ वर्ष ९ महिनामै ऋण चुक्ता हुन्छ। यदि मासिक १ लाख रुपैयाँ किस्ता तिर्नुभयो भने ३ वर्ष २ महिनामै गाडी आफ्नो नाममा आउन सक्छ।
तथ्याङ्कले देखाउँछ कि ईभी गाडीमा गरिएको कुल लगानी कम्तीमा ५ वर्षमा उठाउन सकिन्छ, जबकि इन्धन गाडीमा गरेको लगानी उठाउन कम्तीमा १३ वर्ष लाग्छ। यसले दीर्घकालीन रूपमा विद्युतीय सवारीसाधन बढी किफायती र लाभदायक रहेको पुष्टि गर्छ।